Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home भक्तपुर भक्तपुर नगरपालिकाको अन्तरनगर जिम्नास्टिक प्रतियोगिताबारे प्रेस विज्ञप्ति

भक्तपुर नगरपालिकाको अन्तरनगर जिम्नास्टिक प्रतियोगिताबारे प्रेस विज्ञप्ति



पत्रकार मित्रहरु,
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणसँगै खेलकुद क्षेत्रमा पनि विशिष्ट स्थान हासिल गर्दै आइरहेको छ । विद्यालयका विद्यार्थी र युवाहरूलाई शारीरिक रुपमा स्वस्थ र तन्दुरुष्त बनाउन कुनै न कुनै खेलमा सहभागी बनाउनुपर्छ भन्ने मान्यताअनुरुप भक्तपुर नगरपालिकाले भलिबल, फुटबल, कराँते, बक्सिङ्ग, टेबुलटेनिस, जिम्नास्टिकलगायत ६ वटा खेलकुदको नियमित प्रशिक्षण चलाउँदै आएको छ । भक्तपुरबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्ने र खेलकुद क्षेत्रबाट पनि भक्तपुरको नाउँ उच्च बनाउने प्रशिक्षणको उद्देश्य हो ।
ज्येष्ठ नागरिक, युवा, विद्यार्थीलगायत सम्पूर्ण नागरिकले सजिलैसँग अभ्यास गर्न मिल्ने श्वासप्रश्वाससँग सम्बन्धित छिकोङ्ग शारीरिक अभ्यासको पनि वडा–वडामा प्रशिक्षण चलाइरहेका छौं । प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुबाटै प्रशिक्षक बनाउने उद्देश्यले २७ जना छिकोङ्गका प्रशिक्षार्थीहरुलाई माघ ९ गतेदखि १७ गतेसम्म प्रशिक्षक तालिम सम्पन्न ग¥यौ । विद्यालयहरुमा खेलकुदको विकास गर्ने उद्देश्यले विगत ४ वर्षदेखि पूर्णकालीन खेलकुद प्रशिक्षकहरु नियुक्ति गरी खेलकुद प्रशिक्षणलाई निरन्तरता दिंदैछौं । विद्यालयका छात्राहरुलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण पनि सञ्चालन गर्दै आएका छौं । २०८० कार्तिक १७ गतेदेखि २४ गतेसम्म नगर भित्रका ४९ वटा विद्यालयका खेलकुद शिक्षकहरुलाई एकहप्ते प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन ग¥यौं ।
नेपाल मजदुर किसान पार्टीले स्थानीय तहको चुनावमा घोषणापत्रमार्फत व्यक्त प्रतिबद्धताहरुमध्ये प्रत्येक वर्ष एउटा खेलको अन्तर नगर खेलकुद प्रतियोगिता आयोजना पनि एक हो । निर्वाचनको बेला जनताबीच गरेको प्रतिबद्धताअनुसार भक्तपुर नगरपालिकाले हरेक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको पनि यस अवसरमा यहाँहरुलाई जानकारी गराउन चाहन्छौं । पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथलेटिक्स, चौथो वर्ष बुद्धिचाल, पाँचांै वर्ष खो खो र गत वर्ष महिला कबड्डी खेलको प्रतियोगिता सफलताका साथ सम्पन्न ग¥यौं । शहिद दिवसको अवसरमा आयोजित एक कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले यो वर्ष उपयुक्त समयमा अन्तर नगर खेलकुद प्रतियोगिताको आयोजना गर्ने घोषणा गर्नुभयो । तत्पश्चात भक्तपुरमा क्रियाशील जिम्मेवार खेल प्रशिक्षकहरु र खेलाडीहरुसँग व्यापक छलफल ग¥यौं र उहाँहरुको सल्लाह र सुझावअनुसार भक्तपुर नगरपालिकाको कार्यपालिका बैठकले २०८१ साल चैत्र २३, २४ र २५ गते अन्तर—नगर जिम्नास्टिक खेल प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न नगर प्रमुखको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति र १३ वटा बिषयगत उपसमितिहरु गठन ग¥यौं । ती सबै समितिहरुले आ—आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छन् । हरेक वर्षको प्रतियोगिताले हामीलाई थप हौसला र उत्साह प्रदान गरिरहेको छ । हामी हाम्रा हरेक प्रतिबद्धताहरु दृढताका साथ पूरा गर्दैछौं ।
यस वर्ष अन्तर विद्यालय खेलकुद प्रतियोगिता पनि सम्पन्न ग¥यौं । त्यस प्रतियोगितामा नगरमा रहेका ९२ वटा विद्यालयहरुमध्ये ८५ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । जिम्नास्टिक खेलमा उत्साहजनक सहभागिता थियो । २१ वटा विद्यालयहरुले जिम्नास्टिक खेलमा भाग लिएका थिए । यस वर्षदेखि स्थानीय पाठ्यक्रम अन्तर्गतको बाघचाल खेललाई पनि प्रतियोगितामा समावेश गरिएको थियो । प्रतियोगितामा समावेश गरिएका १५ वटा खेलहरुमध्ये बाघचाल प्रतियोगितामा भाग लिने विद्यार्थीहरु अत्यन्त उत्साहित देखिएका थिए । यस किसिमका खेलकुद प्रतियोगिताहरुमा आगामी वर्षहरुमा अझ बढी विद्यालय र विद्यार्थीहरुले भाग लिने हामीले आशा गरेका छौं ।
भक्तपुर नगरपालिकाद्वारा आयोजित यस प्रतियोगिता नेपाल जिम्नास्टिक संघबाट मान्यता प्राप्त प्रतियोगिता हो । यस प्रतियोगितामा काठमाण्डौ र ललितपुर महानगरसहित देशका विभिन्न १८ वटा नगरपालिकाहरुले भाग लिन नाम दर्ता गराइ सकेका छन् । सहभागी नगरपालिकाहरु ः १. काठमाण्डौ महानगरपालिका २) ललितपुर महानगरपालिका ३) पोखरा महानगरपालिका ४) हेटौडा उपमहानगरपालिका ५) भक्तपुर नगरपालिका ६) चाँगु नगरपालिका ७) सूर्यविनायक नगरपालिका ८) मध्यपुर थिमी नगरपालिका ९) बाग्लुङ नगरपालिका १०) रामग्राम नगरपालिका ११) बनेपा नगरपालिका १२) गोकर्णेश्वर नगरपालिका १३) शंखरापुर नगरपालिका १४) चन्द्रागिरी नगरपालिका १५) वालिङ्ग नगरपालिका १६) किर्तिपुर नगरपालिका १७) बुढानिलकण्ठ नगरपालिका १८) नागार्जुन नगरपालिका रहेका छन् । अन्तर नगर जिम्नास्टिक प्रतियोगिता नेपालकै पहिलो प्रतियोगिताको रुपमा भक्तपुर नगरपालिकाले आयोजना गर्दैछ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ५० हजार, दोस्रोलाई रु. ३० हजार, तेस्रोलाई रु. २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । सहभागी खेलाडी र अफिसियलहरुलाई खाने र बस्ने व्यवस्था गरेका छौं ।
प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ज्युबाट हुनेछ । चैत्र २३ गतेदेखि २५ गतेसम्म हुने जिम्नास्टिक प्रतियोगिताको उद्घाटन ¥याली भक्तपुर न.पा. वडा नं. ९ दत्तात्रय परिसरबाट बिहान ८ः०० बजे शुरु भई तचपाल, इनाचो, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दुधपाटी हुँदै नगरको मुख्य बजार परिक्रमा गरी शहिद स्मृति खेल मैदानमा पुगी उद्घाटन हुनेछ । यस प्रतियोगिताबारे आ–आफ्नो सञ्चार माध्यमबाट व्यापक प्रचार प्रसार गरी सहयोग गर्नु हुन सम्पूर्ण सञ्चारकर्मी मित्रहरुमा भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक अनुरोध गर्दछौं ।
भक्तपुर नगरपालिका
मिति २०८१ चैत्र २१ गते
(भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ चैत्र २३ गतेदेखि २५ सम्म सञ्चालन हुने अन्तर नगर जिम्नाष्टिक प्रतियोगिताबारे भएको पत्रकार भेटघाट कार्यक्रममा युवा तथा खेलकुद समितिका संयोजक एवम् भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीद्वारा प्रस्तुत प्रेस विज्ञप्ति)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments