काठमाडौं, चैत १७ । नेपाल प्रहरीले राजसंस्था पुन:स्थापनाको माग गर्दै काठमाडौंमा भएको प्रदर्शनका क्रममा अराजक गतिविधि र लुटपाटमा सलंग्न व्यक्तिहरूबारे सूचना दिन दिन आग्रह गरेको छ ।
नेपाल प्रहरीले गत मिति २०८१ चैत १५ गते काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटी लगायतका विभिन्न क्षेत्रहरुमा भएको अपराधिक गतिविधिहरुको सूचना माग गरेको हाे ।
उक्त दिन भएको निजी सम्पत्ति, प्रहरी कार्यालय, संचार गृह, राजनैतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत नीजि तथा सरकारी सवारी साधनहरुमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुका सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि भन्दै तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) उपलब्ध गरी अनुसन्धानमा सहयोग गर्न अनुरोध गरेको छ ।
सूचना र सूचनाकर्ताको गोपनियता कायम रहने समेत नेपाल प्रहरीले जनाएको छ ।


















