भक्तपुर, फागुन १६। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँं (रोहित) ले प्रजातन्त्रको जग स्थानीय निकाय रहेको चर्चा गर्नुभयो । उहाँले देशमा स्थानीय निकाय बलियो भएमा मात्र प्रजातन्त्र बलियो हुने बताउनुभयो ।
नेमकिपाबाहेक अहिलेसम्म सरकारमा गएका सबै पार्टीहरू देशको याे अवस्था आउनुमा दोषी भएको बताएका झन् । उनले अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरू अपराधी भएको बताउँदै टुँडिखेलमा ल्याएर जनताले कारबाही गर्नुपर्ने भनाइ राखे। ‘अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरू अपराधी हुन्,’ उनले भने, ‘यिनीहरूलाई काठमाडौँको टुँडिखेलमा ल्याएर जनताले कारबाही गर्नुपर्छ।’
पार्टीको आठौँ महाधिवेशनको शुक्रबार भक्तपुरमा उद्घाटन गर्दै उनले देश र जनताको सेवाबाहेक आफ्नो र आफ्नो पार्टीको अर्काे दोश्रो कुनै उद्देश्य नरहेको बताउँदै पार्टीलाई साथ दिन सबैसँग आग्रह गरे।
देशमा राजतन्त्र र प्रजातन्त्र वा लोकतन्त्रिक व्यवस्था दशकौं देखेको तर यो व्यवस्थाले जनताको कुनै हित नभएको भन्दै अब समाजवादी व्यवस्थाको अर्काे विकल्प नभएको बताए। उनले ऐन कानुनमार्फत् देशद्रोही काम गर्ने सबैलाई कारबाही गर्नुपर्नेमा पनि जोड दिए।
आजदेखि सुरु भएको महाधिवेशन फागुन १९ गतेसम्म चल्ने छ। महाधिवेशनका लागि सातै प्रदेशबाट प्रतिनिधि, पर्यवेक्षक तथा कार्यकर्ताहरू सहभागी रहेका पार्टीले जनाएको छ। उद्घाटनअघि काठमाडौँ कोटेश्वर, भक्तपुरका विभिन्न पाँच ठाउँहरूबाट छुटाछुटै जुलुस भएको थियो। बिहान १० बजे भेला भई बाजागाजाका साथ र्यालीसहित उद्घाटन स्थल सल्लाघारी भक्तपुरमा दिउँसो १ बजे पुगेकाे थियो।


















