वागीश्वरी कलेज क्यूएए पाउने भक्तपुरमै पहिलो सामुदायिक कलेज

0
329

भक्तपुर, पुष २१ । विश्वविद्यालय अनुदान आयोग, भक्तपुरले भक्तपुरको वागीश्वरी कलेज र काठमाडौँको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए – क्वालिटी एस्युरेन्स एन्ड एक्रेडिएसन) एक समारोहका बिच आइतबार प्रदान गरेको छ ।
आयोगको सभा कक्षमा आयोजित उक्त समारोहमा आयोगका अध्यक्ष देवराज अधिकारीले क्यूएए पाउन विगत दस वर्षदेखि निरन्तर धैर्यपूर्वक गरिएको प्रयास आफैमा ठुलो विषय हो भन्दै क्यूएए पाउनु क्षणिक आनन्दको विषय नभई यो उज्ज्वल भविष्यको सङ्केत भएको बताउनुभयो ।
दुवै कलेज आयोगबाट नजिकैको हुनाले नियमित अनुगमन गर्न सजिलो भएको चर्चा गर्दै उहाँले यसलाई निरन्तर कायम राख्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “देशमा १४७५ वटा कलेजहरूमध्ये १०० वटाले मात्र क्यूएए पाएका छन्† अरू केही प्रक्रियामा छन् । वागीश्वरी कलेज क्यूएए पाउने भक्तपुरमै पहिलो सामुदायिक कलेज भएको छ । क्यूएए प्रत्येक पाँच वर्षमा पुनः प्रत्यायन लिनुपर्छ र लगातार तीन पटक प्रत्यायन लिए त्यो कलेजलाई डिन विश्वविद्यालयको मान्यता प्रदान गरिन्छ ।”
उहाँले देशका केही कलेजहरू डिन युनिभर्सिटीतिर उन्मुख रहेको जानकारी दिँदै यसतर्फ पनि दुवै कलेजले विशेष ध्यान दिनुहुनेछ भनी विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको सुरुमा आयोगका सचिव प्रा. शङ्करप्रसाद भण्डारीले स्वागत मन्तव्य राख्दै क्यूएए एउटा चरणमात्र हो, गुणस्तरको कुनै मापन हुँदैन† यसले निरन्तरता पाउनुपर्छ भन्नुभयो ।
कार्यक्रममा वागीश्वरी कलेज समकक्षी परीक्षण टोलीका संयोजक प्रा.डा. प्रेमराज पन्तले क्यूएए प्राप्त दुवै कलेजलाई बधाई दिँदै वागीश्वरी कलेज समुदायसँग अत्यन्त घनिष्ठ सम्बन्धका साथ अघि बढिरहेको नमुना सामुदायिक कलेज भएको बताउनुभयो ।
समुदायको संरक्षणमा कुनै पनि बन्द हडतालले यहाँको पढाइ प्रभावित नहुने चर्चा गर्दै उहाँले विगत तीन वर्षमा बनाएको भवन निर्माणले आफूलाई प्रभावित गरेको बताउनुभयो ।
वागीश्वरी कलेज भक्तपुरमा रहे पनि यहाँ देशका धेरै जिल्लाबाट विद्यार्थीहरू अध्ययन गर्न आएका छन् भन्ने कुरा मैले विद्यार्थीसँग अन्तरक्रियाबाट जानकारी पाएको पनि उहाँले बताउनुभयो ।
दुवै कलेजले आफ्नो सबल र दुर्बल पक्ष थाहा पाएको हुँदा आफ्नो सबल पक्षलाई कायम गरी दुर्बल पक्षलाई सकेसम्म न्यूनीकरण गर्दै लान निरन्तर प्रयास गर्न सुझाव दिँदै क्यूएए प्राप्त कलेजको अर्थ यसको गुणस्तरले अन्तर्राष्ट्रिय मान्यता पाउनु पनि हो, उहाँले भन्नुभयो ।
मनमोहन कलेजको समकक्षी परीक्षण टोलीका संयोजक प्रा.डा. गणेश गुरुङले क्यूएएले कलेजलाई दस्ताबेजीकरण गर्न सघाउने चर्चा गर्दै त्यसमा कन्जुस्याइँ नगर्न सुझाव दिनुभयो ।
उहाँले दुवै कलेजहरूलाई अन्तर्राष्ट्रिय सम्बन्ध बढाउन र अनुसन्धानमा विशेष जोड दिन सुझाव दिँदै शिक्षकमा अनुसन्धान संस्कृति भएमात्र विद्यार्थीले त्यो संस्कृति सिक्छन् भन्नुभयो ।
कार्यक्रममा चिकित्साशास्त्र अध्ययन संस्थानका डिन मोहनराज शर्मा, प्रा.डा. रेजिना मास्के, वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, मनमोहन कलेजका सहायक प्राचार्य जीवनप्रकाश शर्माले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here