भक्तपुरका पूर्ववडाध्यक्ष एवं समाजसेवी चवालको निधन

0
265

भक्तपुर, पुष १३ । भक्तपुर नगरपालिका वडा नं. ४ का पूर्ववडाध्यक्ष कुमार चवालको पुस १२ गते साँझ निधन भयो । उहाँको अन्त्येष्टि शनिबार गरिएको थियो । दाहसंस्कार गर्नुअघि उहाँको शरीरमा नेमकिपाका सचिव प्रेम सुवाल, भनपाका प्रमुख सुनिल प्रजापतिलगायत विभिन्न सङ्घसंस्थामा आबद्ध व्यक्ति, समाजसेवी, कार्यकर्ता, शुभेच्छुक व्यक्ति तथा टोलका गण्यमान्यहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । त्यस्तै नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष गोविन्द दुवाल र अग्रज किसान कार्यकर्ता रणबहादुर छुस्याकीले संयुक्तरूपमा सङ्घको झण्डा ओढाउनुभएको थियो ।
पिता तुल्सी चवाल र माता हीरामाया चवालका छोरा कुमार चवालको जन्म २०२० कार्तिक १४ गते भएको थियो । उहाँका एक छोरा र चार छोरी छन् ।
सानै उमेरदेखि दाफा भजन तथा स्थानीय सामाजिक सेवामा क्रियाशील उहाँ वि.सं २०३४ सालमा नेपाल मजदुर किसान पार्टीको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घमा आबद्ध भई नेपाल मजदुर किसान पार्टीको साङ्गठनिक गतिविधिमा क्रियाशील हुनुहुन्थ्यो । पार्टीको निर्देशनअनुसार २०४२÷४३ सालको वाम आन्दोलनमा भाग लिँदा उहाँ पक्राउ परी जेल पर्नुभएको थियो । २०४६ सालमा भएको निरङ्कुश पञ्चायत व्यवस्थाविरुद्धको आन्दोलन र २०६२÷६३ को प्रतिगमनविरुद्धको आन्दोलनमा पनि उहाँ सक्रियरूपमा लाग्नुभएको थियो । जन अधिकारलाई कुण्ठित गर्न तत्कालीन सरकारले ल्याएको आतङ्ककारी तथा विध्वंसात्मक गतिविधि नियन्त्रण गर्न बनेको विधेयकको विरुद्धमा पार्टीको निर्देशानुसार आन्दोलनमा सहभागी हुँदा उहाँ पक्राउ पर्नुभएको थियो । उहाँ वर्गशत्रुको अगाडि नझुक्ने, न्यायको पक्षमा वकालत गर्ने सक्रिय र स्पष्ट वक्ता हुनुहुन्थ्यो ।
बाली काट्ने आन्दोलनमा पनि उहाँ जेल पर्नुभएको थियो । उहाँले नेपाल मजदुर किसान पार्टी १२ वडा पार्टी एकाइ समितिको अध्यक्ष तथा नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको सचिव भई काम गर्नुभएको थियो ।
२०५४ सालको स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट उहाँ भक्तपुर नगरपालिका वडा नं १२ को वडा अध्यक्षमा निर्वाचित हुनुभयो । त्यसैगरी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उहाँले वडाध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभयो । स्वास्थ्यमा समस्या आएपछि वि.सं. २०७१ सालमा मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्यलाभ गर्नुभएका चवाल त्यसपछि पनि निरन्तर जनताको सेवामा खटिनुभयो ।
उहाँले भक्तपुर नगरपालिका वडा नं ११ हाल ५ मा अवस्थित मुःदीप पुनःनिर्माण कार्यको उपभोक्ता समितिमा पदाधिकारी र गय्भिंद्य (परदेशी भीमसेन) र सरस्वती मन्दिर क्षेत्र सुधार समितिको अध्यक्ष भई सेवा गर्नुभयो ।
बिस्का जात्रा, सापारुको भैरवजात्रा (परालको भैरव) र पुलुकिसी जात्रालाई व्यवस्थितरूपमा सञ्चालन गर्न २०७२ सालदेखि भैरवनाथ जात्रा सहयोग समितिको अध्यक्ष भई उहाँले निरन्तर सेवा गर्नुभयो । २०८० सालदेखि भक्तपुर नगरपालिकाको आर्थिक लगानीमा निर्माण भइरहेको ऐतिहासिक लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण उपभोक्ता समितिको अध्यक्ष भई कार्य गर्नुभयो । उक्त मन्दिर हाल निर्माणको अन्तिम चरणमा पुगेको छ । अरनिको राजमार्ग विस्तारको क्रममा परम्परादेखि आवतजागत गर्दै आएको आदर्शचोक मासिने अवस्था आएपछि चवालकै अध्यक्षतामा गठित समितिको सक्रियतामा चौबाटो कायम गराउन उहाँको सक्रिय भूमिका थियो ।
वडाका ज्येष्ठ नागरिकलाई भत्ता वितरणको लागि घरघरमा पुगेर सेवा गर्ने चवाल वडाका विभिन्न विद्यालयहरू शान्ति निकेतन माध्यमिक विद्यालय, जनसेवा आधारभूत विद्यालय र सुस्त मनस्थिति विद्यालय, शारदा आधारभूत विद्यालयलगायतको व्यवस्थापन समितिको अध्यक्ष भई शिक्षा क्षेत्रमा सुधारको लागि सेवा गर्नुभयो ।
२०६४ सालमा स्थापित सङ्गम बचत तथा ऋण सहकारी संस्था लि. को स्थापनाकालदेखि नै सल्लाहकारको जिम्मेवारीमा रही उहाँले संस्थालाई अगाडि बढाउन विभिन्न सुझाव दिँदै आउनुभएको थियो ।
पछिल्लो समयमा केही दिनदेखि टाउको दुख्नेलगायतका स्वास्थ्य समस्या देखिएपछि उपचारको लागि अस्पतालमा भर्ना भएका उहाँ उपचारको क्रममा पुस १२ गते साँझ दुःखद निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here