भक्तपुर, मंसिर २८ ।
भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रवार भक्तपुर महोत्सवको समुद्घाटन कार्यक्रममा करिव ११:४५ तिर नगरा बज्यो । नगराको आवाज सिद्धिलक्ष्मी मन्दिर अगाडीको ताहा सत्तल (तबा सत्तल) को माथिल्लो तल्लाबाट आएको थियो । एक जोडा नगरा बजाउनेमा भक्तपुर नगरपालिका तेखाचो ३ निवासी ५४ वर्षिय हरेराम ठिमी र ५३ वर्षीय पुण्यराम ठिमी थिए । उहाँहरु दुबैले करिव ३३३ वर्ष पुरानो नगरा बजाएको यो पहिलोपटक थिएन । उहाँहरुले वि स २०५० सालमा भक्तपुर नगरपालिकाबाट नियुक्ति पाएर पनि नगरा बजाइसकेक थिए । त्यस लगतै वि स २०६० सालसम्म पनि उहाँहरु दुवैले विहान ६:३० बजे नगरा बजाउदै आएका थिए । उहाँहरुका अनुसार तलेजुको पुजा गर्ने बेलामा भक्तपुरको तगो गाङ ठूलो घण्टा बजाउने क्रममा एकजोडी नगरा पनि बजाउने प्रचलन रहेको कुराकानीको सिलसिलामा बताए ।
नगरा बजाउने सीप दुबैले एक जर्मन नागरिक Gert Matthias Wegner बाट सिकेका रहेछन् ।
कुनै बेला नगरा तलेजुमा घोप्टो अवस्थामा राखिएका थिए पछि भक्तपुरमा लिटिल बुद्धको फिल्म सुटिङ भएको बेला पुरानो नगराको छाला नयाँ फेरिएको समेत उनले बताए ।
लामो समयदेखी थन्किएको मल्लकालीन नगरा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा पुनःस्थापना गरिएको थियो । उक्त नगराको व्यास करिव ५ फिट रहेको छ ।
राजा जितामित्र मल्लले तलेजु भवानीका लागि चढाइएको यो नगरालाई २०१८ सालसम्म नियमित रूपमा बिहान–बेलुका बज्ने गरेको संस्कृतिविदहरुको भनाइ रहेको छ ।
नगरा बादकहरुले नगरा बजाउदा छुट्टै बोल रहेको समेत बताएका छन् । दुबैले नगरा बजाउने सीप अहिलेको समयमा पुस्तान्तरण गर्न आवश्यक रहेको र सीप हस्तान्तरण गर्न तत्पर रहेको पनि बताए । नगरा बजाउदा छुट्टै आनन्द आउने गरेको तर निरन्तर रुपमा लामो समयसम्म बजाउन अलि गाह्रो हुने गरेको अनुभव सुनाए ।


















