समयमै कर तिरेर जरिवानाबाट बच्न व्यवसायीहरुलाई आग्रह

0
301

भक्तपुर, मंसिर ४ ।
आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत दिलिपकुमार गौतमले कर राज्यलाई तिर्नुपर्ने करदाताको अनिवार्य दायित्व भएकाले समयमै कर तिरेर जरिवानाबाट बच्न व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
१३ औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय भक्तपुरको आयोजना तथा भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा संघको सभाहलमा बुधबार सञ्चालन भएको करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख कर अधिकृत गौतमले करदाताबाट जरिवानासहित बढी राजश्व अशुल्ने कुनै उद्देश्य नरहेको बताए । उनले करसँग सम्बन्धित शिक्षाको अभावले गर्दा अधिकांश उद्योगी व्यवसायीहरुले अन्जानमा जरिवाना तिर्नुपर्ने अवस्था रहेको भन्दै दुःख व्यक्त गरे । उनले आर्थिक ऐनमा उपलब्ध छुट सुविधाहरुको बारेमा जानकारी दिने उद्देश्यका साथ कर कार्यालयले विभिन्न समयमा कर शिक्षा तथा सचेतना कार्यक्रम गर्दै आएको बताए ।
राज्यको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ठूलो रहेको भन्दै राज्यलाई तिर्नुपर्ने कर नियमानुसार तिरेर असल नागरिकको पहिचान कायम गर्नुपर्नेमा जोड दिए । उनले कर भुक्तानी गर्ने प्रक्रिया प्रविधिमैत्री भएकाले प्रविधिको प्रयोग गरी बिना झन्झट सहज रुपमा करका सेवाहरु उपयोग गर्न आग्रह गरे । उनले उद्योगी व्यवसायीहरुलाई आर्थिक ऐनले उपलब्ध गराएका सेवा सुविधाहरुको भरपूर सदुपयोग गर्न समेत आग्रह गरे ।
संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले नेपालको कर प्रणालीलाई लगानीसँग जोड्नुपर्नेमा जोड दिइन् । कर प्रशासन र कर नीति सहज एवं सरल बनाएपछि मात्र लगानीमैत्री वातावरण बन्ने भन्दै उनले निजी क्षेत्रको तर्फबाट जति लगानी वृद्धि गर्न सकियो त्यति नै देशको प्रमुख आयस्रोत राजश्व पनि वृद्धि हुने बताइन् ।
उनले राज्यलाई कर तिर्नु नागरिकको दायित्व र जिम्मेवारी भए पनि नागरिकलाई कर तिर्नुपर्छ भन्ने महसुस गराउने दायित्व राज्यको हुने बताइन् । ‘कर करले होइन, रहरले तिर्ने वा कर तिर्दा गौरव लाग्ने वातावरण राज्यले बनाउनुपर्छ’, उनले भनिन् । भक्तपुर उद्योग वाणिज्य संघले जिल्लाका करदाताहरुलाई करसँग सम्बन्धित विविध सूचनाहरु दिँदै आएको भन्दै उनले जिल्लाका उद्योगी व्यवसायीहरुले कर भुक्तानी गर्ने बेलामा भोगिरहेका समस्यालाई सहज गरिदिन आन्तरिक राजश्व कार्यालय भक्तपुरलाई आग्रह गरिन् ।
संघका वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, उपाध्यक्ष दिनेश गोसाईंलगायतले व्यवसायीहरुले कर तिरिसकेको भए पनि कर प्रणालीमा अझै कयौं व्यवसायीहरुको बक्यौता देखाएको लगायतका समस्या समाधान गर्न कर कार्यालयले पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत गौतमले कर सम्बन्धी विविध विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुले उठाएको प्रश्न तथा गुनासोको प्रमुख कर अधिकृत गौतमले प्रष्ट पारेका थिए ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरू, जिल्लास्थित विभिन्न वस्तुगत संघका पदाधिकारीहरु लगायत ९५ जना उद्योगी व्यवसायीहरु उपस्थित रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here