एक महिने सिलाई मेसिन मर्मत तथा तीन दिने ग्याँस चुल्हो मर्मत तालिम समापन तथा प्रमाणपत्र वितरण

0
231


भक्तपुर, कार्तिक २९ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिज्युको प्रमुख आतिथ्यतामा भक्तपुर नगरपालिकाको आयोजनामा संचालन भएको एक महिने सिलाई मेसिन मर्मत तथा तीन दिने ग्याँस चुल्हो मर्मत तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले कुनै पनि व्यक्तिमा सीप भएपछि आत्मनिर्भर र आत्मबल हुने बताउनुहुदैं तालिममा सिकेका सीप तथा ज्ञान व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । उहाँले आत्मबल भएपछि रोजगारीका मार्ग प्रशस्त हुने र जुनसुकै काम पनि सजिलैसँग गर्न सक्ने क्षमता तथा खुबी हुने बताउनुभयो
साथै उहाँले भक्तपुर नगरपालिकाले हरेक व्यक्तिमा कुनै न कुनै सीप दिलाउने उद्देश्यले नगरपालिकाले विभिन्न तालिमहरु विभिन्न समयमा दिदै आइरहेको पनि चर्चा गर्नुभयो ।
नगरपालिकाले सम्पदा संरक्षणमा कुनै पनि विदेशीहरुसँग ऋण नलिएको बताउनुहँदै भक्तपुरका सम्पदाहरु जनश्रमदानमार्फत भइरहेकोले भक्तपुर नमूना नगरको रुपमा चिर परिचित रहेको बताउनुभयो ।
व्यक्तिले सिकेका सीप तथा ज्ञान सिङ्गो समाजको हितको निम्ति उपयोग गर्नुपर्ने कुरामा जोड दिनुहुदैं उहाँले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन र सम्पदा संरक्षणका कार्यहरु गरिदै आएको बताउनुभयो ।
कार्यक्रममा अतिथि भक्तपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष कृष्णप्रसाद कोजूले तालिमबाट सिकेका कुराहरु अन्य व्यक्तिहरुलाई पनि सिकाउनुपर्ने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले यही मंसिर २८ गतेदेखि पुष २ गतेसम्म भक्तपुर महोत्सव गर्ने भएकोले नगरमा पार्किङ व्यवस्थापनका लागि नगरवासीले पनि सहयोग गर्नुपर्ने बताउनुहुदैं सडक, चोक तथा गल्लीमा थुप्रिएका निर्माण सामग्रीहरु हटाइदिनुहुन समेत आग्रह गर्नुभयो ।
कार्यक्रमका सभापति महिला बालबालिका तथा समान कल्याण समितिका संयोजक एवं कार्यपालिका सदस्य रोशनमैया सुवालले कुनै पनि व्यक्तिमा सीप छ भने भोको भएर बस्नुनपर्ने बताउनुभयो । अहिलेको समयमा म्यानपावर कम्पनीको संख्या दिनानुदिन बढिरहेकोले वैदेशिक रोजगारमा जानेको संख्या पनि बढिरहेको बताउनुभयो । प्रतिस्पर्धात्मक समयमा हातमा सीप अत्यावश्यक भइसकेकोले भक्तपुर नगरपालिको विविध तालिम दिदै आइरहेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा सिलाइ मेसिन मर्मत तालिमका प्रशिक्षक रुपेन्द्र नकर्मीले भक्तपुर नगरपालिकाले नगरवासीहरुको माग बमोजिम तालिम संचालन गरिदै आएको प्रशंसा गर्नुहुदैं तालिममा सिकेका कुराहरु सदुपयोग गर्दै प्रशिक्षार्थीहरुले दैनिक जीवनमा लागु गर्नुपर्ने र निरन्तरता दिनुपर्ने बताउनुभयो ।
समितिका सदस्य एवं ७ नं वडा सदस्य हेरा ख्याजुले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा समितिका सदस्य एवं ८ नं वडा सदस्य सुमित्रा बोहजू, प्रशिक्षार्थीको तर्फबाट शोभा कवांले पनि बोल्नुभएको थियो ।
तालिममा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रमाणपत्र तथा प्रशंसापत्र वितरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here