विभेद र कलंक बिरुद्ध नारा अंगाल्दै विगत दुई महिनादेखि विविध प्रतियोगितात्मक कार्यक्रम गरी सन् २०२४ अक्टोवर १९ को बायो–इथिक्स दिवस मनाइएको छ । मानव जीवन, समाज र चिकित्सा सेवा, शिक्षा, शोध लगायतका क्षेत्रमा ब्याप्त भेदभाव र धब्बा बारे सजग र सचेत भएर असंगत कुराहरु कम गर्न र हटाउन सकिन्छ भन्ने आशा सहित् यो वर्षको बायोइथिक्स दिवस मनाइएको हो ।
बायो–इथिक्स नेपाल एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा नेपालका विभिन्न मेडिकल कलेजहरुबाट सहभागिता भएको हो । यस वर्षका विभिन्न चेतनामूलक कार्यक्रमहरुका माझ अक्टोवर २५ का दिन वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समापन भएको हो ।
नेपाल एकाईका प्रमुख तथा नेपालका लागि यस कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी संकायका सदस्यद्वय मानश्वी आचार्य र रजनी नेउपानेले सञ्चालन गरेका हुन् ।

मूल टिप्पणीमा नेपाल एकाईका प्रमुख प्रा.डा. धनरत्न शाक्यले एकाई र यस सिद्धान्तबारे ब्याख्या गर्नुहुदै बायोइथिक्सको महत्वपूर्ण सिद्धान्तको नाराले विभेद र असमान व्यवहार व्याप्त समाजमा विशेष अर्थ राख्ने तथा समाज र राज्यस्तरमै नितिगत र ब्यावहारिक परिवर्तनका लागि आधार हुने धारणा राख्नुभयो ।
उहाँले यस वर्षको नाराले समाज र हाम्रो ब्यवहारमा ब्याप्त विभेद, हेय र कलंक सजगतापुर्वक हटाउँदै मर्यादा र मानव मूल्यको प्रवद्र्धन गर्नको लागि आवश्यक मनन्, चिन्तन, मन्थन गर्न र अभ्यासहरु अबलम्बन गर्न घच्घच्याएको बिचार राख्नुभयो । विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३मा संलग्न भएको चर्चा गर्नुहुदै सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएको बताउनुभयो ।
नेपाल एकाईका सदस्य डा. अशोक ऐर्कोले विविध नीतिगत सिद्धान्त सहित यस वर्षको नाराबारे प्रस्तूतिकरण थियो भने विद्यार्थी संकायकी अक्षता वस्तीले यस वर्षको नाराबारे सेमिनार प्रस्तूत गरिएको थियो ।
कार्यक्रममा निर्णायक मण्डलबाट प्रा.डा. रिता खड्का तथा विद्यार्थी संकायका हेड प्रशान्त सापकोटाको पनि मन्तब्य रहेको थियो ।
यस वर्ष सम्पन्न वैज्ञानिक लेखमा वि.पि.को.स्वा.वि.प्र.की रिचा कोइराला, फोटोग्राफी प्रतियोगितामा पाटन एकेडेमीकी काजल यादव; कवितामा जानकी मेडिकल कलेजकी उजमा हुस्सेन, आर्ट पोस्टरमा पुपिल डेन्टल कलेजकी सची पोखरेल र छोटो मूभिमा बिराट मेडिकल कलेजकी लक्ष्मी रौनियारको समूह राष्ट्रिय छनौटबाट यस वर्षको अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाइएको हो ।



















