भक्तपुर, असोज १४ । बागमती प्रदेश सभाको सर्वदलीय बैठकले २०८१ साल असोज १० गते देखि अविरल वर्षाका कारण बागमती प्रदेश भित्रका विभिन्न स्थानहरुमा भएको विपद्जन्य घटनामा पीडितहरुलाई सहयोग गर्ने निर्णय गरेको छ ।
प्रदेश सुशासन केन्द्र, बागमती प्रदेश, जावलाखेल, ललितपुरमा बागमती प्रदेश सरकार, माननीय मुख्यमन्त्री श्री बहादुर सिंह लामा तामाङको अध्यक्षतामा बसेको बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरुको सर्वदलीय बैठकमा उक्त निर्णय गरेको हो ।
बैठकले बागमती प्रदेश भित्र स्थायी बसोबास गर्ने मृतक प्रति व्यक्ति क्षतिपुर्ति स्वरुप राहत रु. २ लाख रुपैयाँ तत्काल दिने निर्णय गरेको छ ।
विभिन्न स्थानहरुमा भएको विपद्जन्य घटनामा उद्दार, राहत र पुर्निर्माणमा जुट्ने, घाईतेहरुको निशुल्क उपचार गर्ने, भौतिक रुपमा क्षति भएका सडक, पुल, विद्युत, खानेपानी लगायतको व्यवस्थापन गर्न जिल्ला स्थित प्रदेश मातहतका कार्यालयहरु मार्फत वजेट व्यवस्थापन गर्ने लगायत निर्णयहरु गरेको छ ।




















