भक्तपुर, भदौ ३० । “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने नारा सहित ६० औ बालदिवसको अवसरमा सल्लाघारी नपली स्थित सन्तति आधारभूत विद्यायलले अतिरिक्त क्रियाकलाप सहित आइतबार बालदिवश मनाइयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले विद्यालयलाई स्तर उन्नति गर्न लागिपरेको उल्लेख गर्दै विद्यार्थीको शारीरिक स्वस्थताको लागि खेलकुद जस्ता अतिरिक्त क्रियाकलाप आवश्यक भएको बताउनुभयो । उहाँले विद्यालयको विविध कार्यक्रम र खेलकुद संचालनको लागि आवश्यक प्रांगण उपलब्ध गराउन भक्तपुर नगरपालिकासँग ताकेता गरिरहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य भोजराज बस्नेतले बालबालिकाको चौतर्फि विकासको लागि पाठ्यपुस्तकको ज्ञानसँगसँगै व्यवहारिक तथा सामाजिक र अनुशासित बनाउन यस्ता गतिविधिले सहयोग मिल्ने बताउनुभयो ।

विद्यालयका प्रअ तथा कार्यक्रम सभापति दीपक माकले विद्यार्थीहरूले सिकाई र चरित्र निर्माणमा जोड दिनुपर्ने उल्लेख गर्दै सरकारले नारामा उल्लेख गरिए अनुसार विद्यालय र विद्यार्थीको भविष्य सुनिश्चित गर्न लगानीमा वृद्धि गर्न जोड दिनुभयो ।
तातो आलु, म्युजिकल चियर, घ्याम्पो फुटाउने, चकलेट खाने, बालअधिकार विषयको निबन्ध लेखन, सम्झना खेल तथा बेलुन फुटाउने खेलका विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको उक्त कार्यक्रमा विद्यार्थीहरुले आआफ्नो प्रतिभा समेत प्रफुस्टन गरेका थिए ।


















