भक्तपुर, भदौ ३० । नेपाल क्रान्तिकारी विद्यार्थी संघ, वंशगोपाल एकाई समिति भनपा – ३ को आयोजनामा पञ्चायती राज्यस्तरबाट रचिएको षडयन्त्र भक्तपुर काण्ड (भाद्र ९) को विरोध तथा भत्सर्ना कार्यक्रम सम्पन्न भयो ।

नेपाल क्रान्तिकारी विद्यार्थी संघ, केन्द्रीय समितिका सचिव दिनेश खड्गीले शाषक दल वा समूहले तिनीहरूको विरोधमा आवाज उठाउने जो कोहिलाई निश्तेज पार्न वा निर्मुल बनाउन विभिन्न षड्यन्त्र रच्ने बताउनुभयो । उहाँले इतिहासको कालखण्डमा नेपाल मजदुर किसान पार्टी र पार्टीको नेतृत्वलाई समूल नष्ट पार्न पटक पटक षड्यन्त्र भएको हुँदा यसबाट पाठ सिक्दै भविष्यमा पनि यस्तो घटना दोहरिन सक्ने तर्फ नयाँ पुस्ताका विद्यार्थीहरू सचेत हुनुपर्ने समेत बताउनुभयो ।
साथै उहाँले औपचारीक रूपमा जुनसुक्कै विषय अध्ययन गरेता पनि साहित्य अनिवार्य रहेको र पार्टीका अग्रज कार्यकताहरूले प्रविधिको विकास नभएको समयमा राज्यबाट गरिएको दमन र अत्याचार विरुद्ध संघर्ष गरेको स्मरण गराउँदै नयाँ पुस्ताका विद्यार्थीहरु प्रविधिको नाममा खुम्चिन नहुने समेत बताए ।

कार्यक्रममा नेक्राविसंघ १४ औं भक्तपुर नगर सम्मेलन तयारी समितिका अध्यक्ष मनिष गोराले समाजवादी पुस्तक, साहित्य र व्यक्तित्वहरूको पुस्तक अध्ययन गर्नुपर्ने बताउनु भयो।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टी वंशगोपाल समितिका अध्यक्ष कृष्ण गोपाल चौगुठी र नेमकिपा कोलाछे समितिका अध्यक्ष- राम कृष्ण त्वायनाले भक्तपुर काण्ड हुँदाको घटनाक्रम र अनुभवहरू विद्यार्थीलाई बताउनु भयो। आयोजक समितिका अध्यक्ष सौरभ ध्वजूको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा राजन नेपालले पनि बोल्नु भएको थियो ।



















