नेपालभाषा साहित्य तमुंज्याको तयारी स्वरुप चिः मुंज्या सम्पन्न

0
588

भक्तपुर, भदौ २९ । यही आउँदो असोज २८ र २९ गते हुने २ दिने चवालीसाैं नेपालभाषा साहित्य सम्मेलनको तयारी स्वरुप शनिबार चि:मुंज्या साहित्य सम्मेलन सम्पन्न भयो ।

बागमती प्रदेश सांसद तथा नेमकिपा जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईले त:मुंज्यालाई राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमाथि साहित्य सिर्जना प्रस्तुत गर्ने दबुको प्रयोग गर्नुपर्ने बताउँदै अमेरिकाको एक ध्रुवीय रणनीतिको सिकार भएका क्युवा, युक्रेन, प्यालेस्टाइन तथा एसियाली देश बंगलादेश माथि गरेको अन्याय अत्याचारको वास्तविकता केलाउनुपर्ने बताउनुभयो ।

उहाँले कम्युनिस्टहरू अन्तर्राष्ट्रियवादी भई एक देशमा भएको दमन थिचोमिचो सहन नहुने विचार व्यक्त गर्दै पीडा र वर्गसंघर्षको सांस्कृतिक आन्दोलनको रुपमा साहित्य सम्मेलन प्रयोग गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा जनकवि चन्द्रबहादुर उलकले बहुमत जनताको हितकर साहित्यबाट भाषाको उत्थान सहित समाजवादी विचारको प्रचार हुने बताउँदै साहित्य रचनामा नाराबाजी भन्दा पनि शब्द र विषयवस्तुमा विचार पुर्याउन जोड दिनुभयो ।

सल्लाहकार ज्ञानसागर प्रजापतिले ऐतिहासिक चि: मुंज्याबाट नयाँ पुस्तालाई साहित्य क्षेत्रमा प्रेरित गर्नु आवश्यक कदम चाल्नुपर्ने बताउँदै कथा तथा निबन्धमा माैलिक विषयवस्तु र भाषाको प्रयोग गर्न उत्साहित गर्नुभयो ।

युवाकवि दामोदर सुवालले बहुमत जनताको विचार प्रतिनिधित्व हुने विषयवस्तुलाई प्राथमिकता राखी उपमा र प्रतीकको प्रयोगलाई ध्यान दिनुपर्ने बताउँदै देशकाल परिस्थिति अनुसार साहित्यिक अनुप्रास, रस र अलंकारसहित यथार्थपरक कल्पनामा पाठकको भावलाई साैन्दर्यको चित्रण गरेर कविता रचना गर्न सुझाव दिनुभयो ।

नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशकुमार चिकंबञ्जारले कथा लेखनमा पात्र चयन र विषयवस्तु केन्द्रित गर्न सुझाव दिँदै साहित्य अध्ययन गरेका नयाँ पुस्ताले व्यवहारमा प्रयोग नगरेको गुनासो गर्नुभयो ।

चवालीसाैं नेपालभाषा तःमुंज्याका अध्यक्ष तथा चिःमुज्याका सभापति कृष्णभक्त लवजूले जनताको भावना जनताले बुझ्ने गरी स्तरीय साहित्य सिर्जनाको लागि कार्यक्रम भएको बताउँदै दुई दिने तःमुंज्यालाई सफल बनाउन विभिन्न समिति तथा उपसमितिबाट भएको गतिविधिको बारेमा जानकारी दिनुभयो ।

उक्त सम्मेलनमा भक्तपुर, टोखा, किर्तिपुर तथा भोते बनेपाका साहित्यकारहरुले कथा र कविता वाचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
1
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here