भक्तपुरका नेवा: समुदायले आज च:था पर्व मनाउदै

0
612


भक्तपुर, भदौ १९ ।
भक्तपुरमा आज भाद्र २१ गते शुक्रबारका दिन नवदुर्गा भवानी र तलेजु भवानीले च:था पुजा मनाउने भएको छ ।
भक्तपुरवासीले नवदुर्गा र तलेजु भवानीले जुन दिन चथा पर्व मान्छन् त्यही दिन नै च:था मान्ने गर्दछन ।
पञ्चाङ्ग अनुसार २१ गते दिउँसो १ बजे देखि २२ गते दिउँसो २ बजे सम्म मात्र चतुर्थी पर्न गएकोले भाद्र २१ गते नै चथा पुजा मान्ने निर्णय गरिएको श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

च:था पर्व कसरी मनाइन्छ ?

नेवा: समुदायले चन्द्रमास पात्रो अनुसार हरेक वर्ष ञँला/ यँलाथ्व चतुर्थीको दिन अर्थात् भदौ शुक्ल चतुर्थी/मंगल चतुर्थीका दिन “चथा: चख” मनाउने गर्दछ । यसै तिथिमा श्री गणेशको जन्म भएकोले सबै समुदायमा यो दिन “गणेश चतुर्थी” को रुपमा मनाउने परम्परा रहेको छ । नेवा: समुदायले यो पर्वलाई चथा: चख: अर्थात् सानो दशैंको रुपमा पनि मान्दछन् । चथा: लाई दशैंको श्रीगणेश पनि भनिन्छ । चथा: चख: को दिन जति राम्रो भयो दशैं पनि उति नै राम्रो हुन्छ भन्ने जनविश्वास पनि छ । यसैले नेवाः संस्कृतिका अनुयायीहरु यस दिन दशैँमा जस्तै विभिन्न परिकार बनाएर खाने गर्दछन् । यस दिन जसरी मिठो खाइन्छ, त्यसरी नै दशैँमा पनि मिठो खान पाइन्छ भन्ने कहावत रहेको छ । यस दिन वर्षा भए दशैँमा पनि वर्षा हुने विश्वास रहेको छ।
यस दिन सांझ परेपछि गणेश रुपी सुकुन्दाका अगाडि हेरम्ब गणेश तथा चन्द्रमाको पूजा गरिनु नै यस पर्वको विशेषता रहेको छ । चथा: पुजा गर्दा पुजा सामाग्रीको अलावा विरुवामा अदुवाको बोट, उखुको बोट, फलफूलमा नास्पाती, स्याऊ, मौसम, अम्बा, अमला, काँक्रा, मुला तथा गेडागुडीमा मकै, भट्मास, गहुं, केराऊ, बकुला, आरुको बियाँ, फर्सीको बियां लगायतका विभिन्न प्रकारका गेडागुडीहरु राखिन्छ ।
यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन पनि रहेको छ ।
चथा द्यः भनेर इन्द्र देवतालाई मानिन्छ । चोर देवता चथा द्योः लाई पुजा गर्दा मिठो मसिनो खुवाउँदा चोर पल्किन्छ कि भनेर टर्रो आरुको बियाँ (बस्पति पु), मकै भट्मास अमिला चिजबिजहरु चढाएर चोर भगाउन खोजिएको हो भन्ने मान्यता छ । आजको पुजा सामग्रीमा नभइ नहुने आरुको बियाँ हो ।
सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता अनुसार यस दिन उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी स्थित श्वेत विनायक लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here