भक्तपुर, जेठ ३२ ।
भक्तपुर नगरपालिका वडा नं २ खौमा स्थित ऐतिहासिक एवं पुरातात्विक सम्पदा श्री इन्दायणी मन्दिरको द्योछें पुनः निर्माण सम्बन्धी आर्थिक-विवरण सार्वजनिक परिक्षण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं २ वडा वडाअध्यक्ष हरि प्रसाद बासुकलाले भक्तपुर नगरपालिकाले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार शिक्षा, स्वास्थ्य, सरसफाई लगायत सम्पदा संरक्षण र पुनः निर्माणलाई प्राथमिकता अनुसार कार्य गर्दै आइरहेको चर्चा गर्नुभयो ।

उहाँले कला संस्कृति संरक्षण लगायत नयां पुस्तालाई जानकारी दिन विभिन्न सांस्कृतिक प्रतियोगिताहरु पनि संचालन गरिरहेको बताउनुहुदैं नगर भित्रका युवाहरुलाई स्वरोजगारतिर उन्मुख गराउन युवा लक्षित युवा उद्यमशील ऋण दिने प्रक्रियामा रहेको जानकारी गारउनुभयो । साथै विकास निर्माण कार्यमा स्थानीय रोजगार बृद्धि गर्नुका साथै जनसहभागिताद्वारा विकास निर्माण गर्दा दिगो विकास हुने र उपभोक्ता समिति मार्फत काम गर्दा विश्वास बढ्नु यसको विशेषता बताउनुभयो ।

सम्पदा शाखाका प्रमुख इ. रामगोविन्द श्रेष्ठले उपभोक्ता समिति मार्फत काम गर्दा प्रभावकारी हुनुका साथै विभिन्न समस्याहरू आइपर्ने र नियम संगत काम गर्न कठिनाईहरु हुने भएकाले समितिद्वारा पुनः निर्माण कार्य छितो छरितो सम्पन्न गर्ने विश्वास व्यक्त गर्दै भक्तपुर न.पा सम्पदा शाखाबाट आवश्यक सरसल्लाह र सहयोग निरन्तर गरिरहने विचार व्यक्त गर्नुभयो
वडा सदस्य मन्जु लाखाजुले वडामा भइरहेको विविध विकास निर्माण कार्य लगायत घरदैलो नर्सिङ सेवा अन्र्तगत दिइरहेको सेवाबारे बताउनुहुदै आ.व.२०८१/८२ को लागि योजना छनोट गर्न सुझावा संकलन कार्य भइरहेको जानकारी दिनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष विनोद चरण रायको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा मन्दिर पुनः निर्माण कार्यमा नगरपालिकाको बजेटका साथै विभिन्न संघ, संस्था, गुठी लगायत स्थानीयहरुले आर्थिक सहयोग गरिरहेको जानकारी गराइएको थियो भने साथै हाल सम्मको निर्माण कार्यमा रू ५८,९४,१३३.७८ खर्च भएको विवरण सार्वजनिक गरियो ।
उक्त कार्यक्रममा समितिका पदाधिकारीहरु राधेसुन्दर सैंजु, कृष्ण प्रधानाङ्ग र कृष्णश्वरी हाडाले पनि बोल्नु भएको थियो । ।


















