ऐतिहासिक भक्तपुर नगरको प्रसिद्ध जीवितरूपमा पुजिने नवदुर्गा देवगण जात्राको देवाली पूजा (स्वं छा) अर्थात् देवगणको कुल देवता पूजा परम्पराअनुसार हुँदै आएको हो । यो देवाली पूजा आज बिहीबारको दिन नवदुर्गा मन्दिर गर्छौंस्थित सम्पूर्ण देवगणहरूका साथ गरिन्छ । विभिन्न फूलको तोलन (स्वं खचा) बनाएर रङ्गीचङ्गी फूलको माला र पूजाका सामग्रीहरू तयार गरी देवाली पूजा हुन्छ । देवालीको दिन परम्पराअनुसार आफ्नो घर परिवारबाट घरमा सफा शुद्ध गरी मूल पूजा तयार गरी प्रत्येक देवगणले बलिको रूपमा भाले चढाउने चलन छ । आफ्नो क्षमताअनुसारको नित्य कर्मको साधना गर्दै पूजा शुभारम्भ हुने गर्छ । यस दिन बिहानदेखि देवताका मुकुन्डोहरू चोकमा विराजमान गरिन्छ । मन्दिरभित्र खिं बाजा, तं बाजा, कंस बाजा, भैरव, महाकाली, बाराही, कुमारी, धोम्हा पोमी, दातिम्हा पोमी, झिम्हा पोमी, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली आदिको मन्दिरका पूजारी नकिंबाट मूल पूजा हुन्छ । यस पूजामा भेडा बलि दिइने चलन छ । पूजा गर्ने क्रममा भैरव, काली र बाराही तीन जना देवगणले सेतो जामा (घाजीनं) पहिरण गरी मन्दिरको चोकमा देवताहरूलाई पूजा गर्छन् । किंवदन्तीअनुसार नवदुर्गाको देवाली पूजाकोदिनदेखि मनसुन वर्षा हुने जनविश्वास छ। देवाली पूजा गर्ने परम्परा मातृ समाप्ति कालदेखि सुरु भएको देखिन्छ । सोही दिन देवगणका सम्पूर्ण परिवारले प्रसाद ग्रहण गर्छन् । पूजामा विभिन्न परिकारमध्ये अण्डा, बारा, चतामारी, जाँड, रक्सी, सम्हेबजी, मासुको परिकार, गोजा, अछेता, फूलका माला, फलफूल, सतुङ चढाउनुपर्ने मान्यता छ । आठ दिनपश्चात यस वर्षको नवदुर्गा देवगणको माछा मार्ने जात्रा दरबार क्षेत्रको इछु टोलमा गरिन्छ । त्यसको आठ दिनपछि तलेजु मूलचोकमा सिंजा नकेगु (अन्तिम भोज) असार ११ गते कालरात्रिको दिन नाच सम्पन्न गरिन्छ । सोही लगत्तै असार १५ गते शनिबार भलभल अष्टमीको दिन भक्तपुर नगर परिक्रमा गरी वडा नं. ९ ब्रह्मायणी पीठमा नाय्खिं बाजाको साथमा मकुन्डो जलाउने (जले बिज्याकेगु) गरी यस वर्षको नवदुर्गाको जात्रा सम्पन्न गरिन्छ ।
लेखक नारायणमान वनमाला नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका प्रमुख सल्लाहकार हुनुहुन्छ ।
आज नवदुर्गा देवगणको देवाली पूजा (स्वं छा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
2
+1
+1


















