विदेशीको हितमा काम गर्नेहरु नेपाली हुन नसक्ने

0
200

२०८० । वैशाख २६ गते, मंगलबार

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ‘ख्वप कलेज अफ ल’ को आयोजनामा कानुन दिवसको अवसर पारेर बी.ए.एल.एल.बी पहिलो ब्याचमा भर्ना भएका विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम मंगलबार कलेज सभाहलमा सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सर्वसाधारण जनतालाई न्यायमा पहुँच पु¥याउन कानुनी शिक्षाबाट साक्षर गराउन आवश्यक भएको बताउनुभयो ।

कानुनको अज्ञानताले धेरै निर्देष व्यक्तिहरुले दुःख पाइरहेको घटना समाजमा यथावत रहेको बताउँदै उहाँले शोषक वर्गले आफूअनुकूल आफ्नो हितमा संविधान बनाउने हुँदा कामदार वर्गले आफ्नो हक अधिकारको निम्ति आफै संघर्ष गर्नुपर्छ ।

उहाँले कानुन विषय अध्ययन गर्नु पैसा कमाउने उद्देश्यले नभई व्यापक जनताको हित र देशको सार्वभौमिकता रक्षाको निम्ति हो भन्ने उद्देश्यले विद्यार्थीहरुले अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।

शासक दलका नेता र कार्यकर्ताहरुले राजनीतिलाई कमाइखाने भाँडोको रुपमा लिइरहेको बताउँदै उहाँले कानुनमा लेखिएको कुरा भन्दा पनि नैतिकता महत्वपूर्ण विषय भएको बताउनुभयो ।

संसदमा राजनीतिशास्त्रका विद्यार्थीहरुको प्रतिनिधित्व नभएको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष बिजुक्छेँले विदेशीको हितको निम्ति काम गर्ने नागरिक नेपाली हुन नसक्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख एवम् ‘ख्वप कलेज अफ ल’ सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले कानुन सबै नागरिकको लागि अपरिहार्य विषय भएको बताउँदै राज्य, समाज र कुनै पनि संस्था सञ्चालन गर्न कानुन महत्वपूर्ण हुने बताउनुभयो ।

आधुनिक समाजको विकास हुनु अगाडि नै नेपाली समाजमा कानुन विविध रुपमा प्रचलनमा रहेको बताउँदै उहाँले नेपालको सार्वभौमिकतामा आँच आउनेगरी बनेका देशघाती सन्धि सम्झौताको विरोध गर्न देशभक्त कानुनविद्हरुको आवश्यकता रहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले उत्कृष्टता हासिल गर्दै आएको बताउँदै उहाँले विदेशीको हितमा काम गर्ने बुद्धिजीवीहरु विदेशी दलाल सावित हुने बताउनुभयो ।

संविधानविद् एवम् वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यले नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई प्रत्येक वर्ष कानुन दिवसको रुपमा मनाउँदै आइरहेको बताउँदै नेपालको कानुनको इतिहास गर्व गर्नलायक भएको बताउनुभयो ।

उहाँले कानुन र राजनीतिबीच धेरै ठूलो अन्तरसम्बन्ध रहेको बताउँदै यी दुई विषय सँगसँगै अगाडि बढाउन आवश्यक भएको बताउँदै ख्वप कलेजले यहाँ अध्ययरत विद्यार्थीहरुलाई सिकाएको इमानदारिता र अनुशासनको पाठले देश र समाज विकासको लागि फाइदा पुग्ने बताउनुभयो ।

उहाँले सबै क्षेत्रमा कानुनलाई अनुशासित बनाउन सके मात्र विकास र समृद्धि सम्भव हुने बताउँदै समाज परिवर्तन तथा राष्ट्रलाई सही दिशामा ल्याउन कानुन विषयको अझ धेरै महत्व भएको बताउनुभयो । शासक दलले न्यायालयलाई भ्रष्ट बनाउने काम गर्दै आएको उहाँले बताउनुभयो ।

कानुन अध्ययन समाजका अध्यक्ष रामप्रसाद प्रजापतिले नेपालमा अहिले स्वतन्त्र न्यायालय अप्ठ्यारो स्थितिमा रहेको औंल्याउँदै स्वतन्त्र न्यायपालिकाले सरकारको दबाब र प्रभावमा काम गर्न नहुने बताउनुभयो ।

ख्वप कलेज अफ ल का प्राचार्य अनिता जधारीले कलेज स्थापनाको उद्देश्यमाथि प्रष्ट पार्दै ‘ख्वप कलेज अफ ल’ बी.ए.एल.एल.बी पहिलो ब्याचमा २५ जिल्लाका ६० जना विद्यार्थीहरु अध्ययनरत रहेको बताउनुभयो । उहाँले सस्तोमा गुणस्तरीय कानुनी शिक्षा प्रदान गर्ने उद्देश्यले कलेज स्थापना भएको र शिक्षामा व्यापारीकरणलाई निरुत्साहित गर्ने उद्देश्यले भक्तपुर नपाले शैक्षिक संस्थाहरु स्थापना गरेको बताउनुभयो ।

कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य र शिक्षक मनज ज्याख्वले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here