काठमाडौं- काठमाडौँको वसन्तपुर अगाडि विधिवत् रूपमा आज बिहान चीर ठड्याइएको छ । फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि राजधानी लगायत मुलुकभर औपचारिक रूपमा फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।

आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।
यस वर्षको होली पर्वको मुख्य दिन चैत ११ र १२ गते परेको छ । ११ गते हिमाली तथा पहाडी जिल्लामा र १२ गते तराई/मधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।
भक्तपुरमा मनाइने हाेली
काठमाडौ र पाटनको भन्दा फरक प्रसङ्ग रहेको भक्तपुरमा भने तचपाल स्थित भिमसेन मन्दिरमा भिमसेनको लिंगको रुपमा काठको लिंग र द्रौपदीको योनीको रुपमा रातो कपडा राखी समागम गरेपश्चात् फागु सुरु भएको मानिन्छ। भिमसेनको लिङ्गको प्रतिकको रुपमा रहेको लिङ्गलाई भिमसेन मन्दिरबाट निकाली विभिन्न स्थानमा लागि पूजाआजा गरेपछी साँझ पाटीमा झुन्ड्याइन्छ र १ हप्ता राख्ने गरिन्छ। यसरी राखिएको भिमसेनको लिङ्गलाई द्रौपदीको योनीको प्रतिकको रुपमा रहेको कपडामा धकेलेर छिराएमा सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको पाइन्छ। यसरी पुरानो समयमा यौनको शिक्षा दिँदै भक्तपुरमा फरक किसिमले फागुको सुरुवात हुने गर्दछ।

काठमाडौ, पाटन र भक्तपुरमा राखिएको यी चीरहरु फागु पूर्णिमाको भोलिपल्ट चीर दहन गर्ने गरिन्छ। काठमाडौको चीर टुँडिखेलमा लगेर दहन गर्ने गरिन्छ भने भक्तपुरको चीरलाई ब्रम्हायणी पीठ नजिकै खोलामा लगेर पखालेपछी समापन हुने गर्दछ।


















