आज वसन्तपञ्चमी, बालबालिकालाई अक्षरारम्भ गर्ने चलन

0
130

फागुन २, भक्तपुर । आज माघशुक्ल पञ्चमी तिथि अर्थात ‘वसन्त पञ्चमी’ वा ‘श्रीपञ्चमी’ । विद्याकी देवी सरस्वतीको पूजा, उपासना गरि सरस्वती पुजा मनाइन्छ ।
आजको दिनबाट विद्यारम्भ गर्ने उमेर पुगेका ५-६ वर्षका बालबालिकालाई सरस्वतीको पूजासहित अक्षरारम्भ गराउने चलन छ ।
आजको दिनबाट चीसो क्रमशः समाप्त भई सुवास र सिर्जनालाई फैलाउने वसन्त ऋतुको आगमन हुने सङ्केत देखिन्छ।

वसन्त ऋतुहरूको राजा हो। अतः सबै धार्मिक, सामाजिक र शैक्षिक कर्महरूको प्रारम्भ मात्र होइन, सृष्टिको शुभारम्भ पनि वसन्त ऋतुमा नै भएको कुरा ब्रह्मपुराणमा पाइन्छ- “चैत्रे मासे जगद्ब्रह्म ससर्ज प्रथमे हनि।”
यसरी ऋतुराज वसन्तको आगमनको खुसीमा माघ शुक्ल पञ्चमीमा ‘वसन्तपञ्चमी’ पर्व मनाइन्छ ।

माघ पञ्चमीमा वसन्तपञ्चमी मनाउने कारण
प्राकृतिक रूपमा वर्षका १२ महिनाहरूलाई ६ वटा ऋतुहरूमा बाँडिएको छ । जसअनुसार जेठ-असारमा ग्रीष्म, साउन-भदौमा वर्षा, असोज-कार्तिकमा शरद्, मङ्सिर-पुसमा हेमन्त, माघ-फागुनमा शिशिर र चैत-वैशाखमा वसन्त ऋतुहरू पर्छन्। यसरी ऋतुहरूको क्रमिक विभाजन गरिएअनुसार वसन्तपञ्चमी चैत महिनामा पर्नुपर्ने हो, किन माघ शुक्ल पञ्चमीमा पर्छ त भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो। यस सन्दर्भमा पुराणकर्ताहरूले रोचक कथाको परिकल्पना गरेको पाइन्छ जसअनुसार एक पटक पाँचवटा ऋतुहरू मिलेर स्वेच्छाले आफ्ना राजा ‘वसन्त’ को अभिनन्दन गरे। उक्त अभिनन्दनमा आ-आफ्नो अवधिबाट आठ दिनहरू उपहारस्वरूप ऋतुराज वसन्तलाई अर्पण गरे। यसरी पाँचवटा ऋतुहरूबाट अर्पित आठ-आठ दिनहरूलाई जोड्दा चालीस दिन हुन जान्छन् । अतः चैत कृष्ण प्रतिपदाभन्दा चालीस दिनपूर्व अर्थात् माघ शुक्ल पञ्चमीमा वसन्तपञ्चमी मनाइन्छ। यसलाई ‘मघिया पञ्चमी’ वा श्रीपञ्चमी पनि भन्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here