माघ १३, भक्तपुर । “पुँजीवाद र साम्राज्यवादबाट विश्वमा शान्ति कायम नहुने र विश्वका जनताले सुख नपाउने भएकोले समाजवादी व्यवस्था हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य नेमकिपाको रहेको छ” उक्त कुरा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले १० नं वडा कार्यालयको आयोजनामा नेपाल मजदुर किसान पार्टीको ५० औं स्थापना दिवस र छिकोन व्यायामको बनभोज कार्यक्रममा बताउनुभएको थियो ।
प्रमुख अतिथि रजनी जोशीले १५ बर्ष जनप्रतिनिधि विहिन नगरबासीहरुको लागि स्वास्थ्य शिक्षाको लागि ख्वप अस्पताल र विरामी हुन नदिन व्यायामशालाहरु र छिकोन सुरु गरेको साथै शिक्षाको लागि ख्वप कलेज संचालन गरेको र २०७२ सालको महाभुकम्पबाट भत्केको सम्पदाहरु पुनःनिर्माण गरेको बताउनुभयो । उहाँले जनताको सेवाको निम्ति नेमकिपाको घोषणापत्र अनुसार काम गरेको बताउँँदै देशलाई अप्ठ्यारो परेको बेला जहिले पनि नेमकिपाले संघर्षको मोर्चामा आगाडि रहेको बताउँदै कम्युनिष्ट आन्दोलनको प्रकाशस्तम्भ सावित भएको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाई लगायत जन्मेदेखि मृत्युसम्म राज्यको दायित्व लिने समाजवादी व्यवस्था अनुसार कार्य गरिरहेको बताउनुभयो । उहाँले संस्कृतिक सम्पदा हाम्रो पहिचान भएको र नयाँ पुस्तालाई हस्तातरण गर्दै गरेको चिनियाँ उपविदेश मन्त्रीलाई समेत पार्टी अध्यक्ष का.नारायणमान विजुक्छेले अवगत गराएको बताउनुभयो । उहाँले खानेपानी समस्या बारे केयुकेएलले बेवास्ता गर्दा समस्या भएकोले अभिभावकीय भुमिकामा नगरपालिकाले काम गरिरहेको साथै दीर्घ रोग क्यान्सर, मृगौला, मुटु रोगलाई नगरपालिकाले पन्ध्र हजार रुपैंया सहयोग गरिरहेको बताउनुभयो । उहाँले स्वतन्त्र देशमाथि भारतीय अतिक्रमण बढेको बताउँदै बीस करोड रुपैंयासम्म नेपाल सरकारको स्विकृति बिना खर्च गर्न पाउने सम्झौता, दश बर्षमा दश हजार मेघावाट भारतमा विजुली निर्यात र सबै खोला जलविधुतको नाममा कब्जा गरेर देशलाई उपनिवेश बनाउन खोजेको बताउनुभयो । उहाँले एसपिपि, एमसिसि र इजरायलले प्यालेष्टाइनमाथिको आक्रमण युद्धको विरोध गर्नुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ लका इन्चार्ज अनिता जधारीले बनभोजमा रमाइलोमात्र होइन राजनीतिक सचेतनाको अभियान समेत संचालन गर्नुपर्ने बताउँदै सिद्धान्त र पहिचान नभए कसैले नपुज्ने भएकोले सिद्धान्त छोड्नु भनेको गढा बन्नु हो भन्नुभयो । उहाँले राजनीतिक सचेतताका कारण २०४५ सालको भक्तपुर काण्डमा महिलाहरु अगाडि बढेकोले छिट्टै २०४६ सालको जनआन्दोलन सफल भएको बताउनुभयो । उहाँले किसान आन्दोलन, समान्तवाद र पुजिवादी व्यवस्था विरुद्ध जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादसम्म पुग्ने बताउनुभयो । उहाँले साम्यवदी समाज वर्ग विहिन समाज र शोषण रहित समाजमा पुग्न संघर्ष, क्रान्ति आवश्यक रहेको बताउँदै त्यसकोलागि राजनीतिक सचेतना आवश्यक छ भन्नुभयो ।

कार्यक्रममा भनपा वडा नं १० का वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको सभापतित्वमा भएको कार्यक्रममा वडा नं १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, प्रशिक्षक मुना बासुकला, प्रशिक्षार्थी कमल कोजूले पनि बोल्नु भएको कार्यक्रममा स्वागत सदस्य जितेन्द्र मुनांकर्मी, संचालन सदस्य कृष्ण नारायण दुमरुले गर्नुभएको थियो ।


















