नेपालको संविधान, २०७२ जारी भएपछि स्थानीय तहको दुईवटा निर्वाचनहरु सम्पन्न भए । बि.सं. २०७४ र २०७९ सालमा सम्पन्न भएका दुईवटै निर्वाचनमा भक्तपुर नगरपालिकाका जनताले नेपाल मजदुर किसान पार्टीका सम्पूर्ण उम्मेद्वारहरुलाई अत्यधिक मतले विजयी गराउनुभयो । देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने भावनाले काम गरिरहेका नेमकिपाका उम्मेद्वारहरुलाई मत दिएर विजयी गराउनुहुने तमाम भक्तपुरबासी दाजुभाइ तथा दिदी बहिनीहरुमा आजको दिन हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।
स्थानीय तहको दोस्रो निर्वाचनपछिको यो चौंथो नगरसभा र २०७४ सालपछिको पन्ध्रौं नगरसभा हो । गाउँ÷नगर÷जिल्ला सभा सञ्चालन कार्यविधि २०७५ को दफा ३ अनुसार वर्षको दुईपटक नगरसभा बस्नुपर्ने प्रावधानबमोजिम यो नगरसभाको बैठक बस्दैछौं । २०८० साल असार महिनामा सम्पन्न नगर सभाले आ.व. २०८०।८१ को नीति तथा कार्यक्रम र रु. २ अर्ब २६ करोड ८५ लाख को बजेट पारित गरेको थियो । नगरसभाले पारित गरेको नीति तथा कार्यक्रम र बजेटअनुसार हामीले विकास निर्माणका कार्यहरु गर्दै भक्तपुर बासीहरुको सेवा गर्दै छौं ।
नगरसभासद्हरु,
नाचगानको राजधानी, सांस्कृतिक नगर र खुल्ला संग्रहालयको रुपमा परिचित भक्तपुर नगरको विकास र समृद्धिका लागि यहाँका धेरै जनप्रतिनिधि, राजनैतिक कार्यकर्ता र सचेत जनताले धेरै योगदान गर्नुभयो । निःस्वार्थ रुपले देश र जनताको सेवा गर्ने भावनाले काम गर्ने हाम्रा अग्रजहरुको मार्गनिर्देशनअनुसार हामीले काम गरिरहेका छौं ।
हामी स्थानीय तहको स्वायत्तताकोबारे अत्यन्त सचेत छौं । स्थानीय तहको स्वायत्ततामाथि कर्हींकतैबाट हुने हस्तक्षेप हामीलाई स्वीकार्य छैन । स्थानीय जनताको लागि छिटो छरितो सेवासुविधा दिन अधिकार सम्पन्न स्थानीय तहबाट मात्र सम्भव हुन्छ । स्थानीय तह बलियो हुनु भनेको प्रजातन्त्रको जग बलियो हुनु हो । त्यसैले हामी स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्छ भन्ने पक्षमा छौं । तर संघ र प्रदेश सरकारहरु संविधानले स्थानीय तहलाई प्रदान गरिराखेका अधिकारहरु समेत विभिन्न बहानामा फिर्ता गर्ने कोसिस गर्दैछन् । संविधानले स्थानीय तहलाई मावि तहसम्मको सम्पूर्ण अधिकार प्रदान गरेकोमा संघीय शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय पुनःस्थापनाको प्रस्ताव गर्नु यसको ज्वलन्त उदाहरण हो । साझा सूचीमा उल्लेखित विषयहरुमा हालसम्म कानुनहरु निर्माण नगर्नु, संघ र प्रदेशले स्थानीय तहलाई प्रदान गर्ने अनुदानमा विशेष अनुदान घटाएर सशर्त अनुदान बढाउँदै लानु, स्थानीय तहलाई कर्मचारी नियुक्ति गर्ने अधिकारबाट बञ्चित गर्नु संघ र प्रदेशले स्थानीय तहलाई नियन्त्रण गर्न खोजेका केही दृष्टान्तहरु हुन् ।
स्थानीय तहहरु संघ र प्रदेशका इकाइहरु होइनन् । संविधानले कल्पना गरेका तीन तहका सरकारमध्ये स्थानीय तह पनि एक हो । सबै तहका सरकारहरु आआफ्नो क्षेत्रमा स्वायत्त छन् । अझ संघ र प्रदेशभन्दा फरक स्थानीय तहले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकारसमेत अधिकार प्रयोग गर्छ । संविधानले संघीय राज्य घोषणा गरे पनि स्थानीय तहहरुले संघीयता कार्यान्वयनमा निकै चुनौतीहरु भोग्दैछन् । संघ र प्रदेश सरकार सञ्चालन गर्नेहरुले एकात्मक र केन्द्रीकृत सोच नत्यागेसम्म संघीयताको उचित कार्यान्वयन हुन सक्दैन ।
चालू आ.व. २०८०।८१ मा बागमती प्रदेशले कानुनबमोजिम प्रदान गर्नुपर्ने विशेष र समपूरक अनुदान भक्तपुर नगरपालिकालाई नदिनु पक्षपात र पूर्वाग्राही भावनाको हद हो । प्रदेश सरकारको पक्षपातपूर्ण र गैरजिम्मेवार कार्यप्रति हामी घोर आपत्ति व्यक्त गर्छौं । विकास निर्माणमासमेत फरक विचार र आस्थाका आधारमा यस्ता गैरजिम्मेवार कार्य गर्ने कुनै पदाधिकारीलाई छुट नभएकोतर्फ पनि सम्बन्धित सबैको ध्यानाकर्षण गर्छौ ।
सभासद्हरु,
भक्तपुर नगरपालिकाले आत्मनिर्भरताको कठिन बाटो रोजेको छ । त्यसैमा भक्तपुरबासीहरु गौरव अनुभव गर्छन् । यही हाम्रा अग्रजहरुले सिकाउनुभएको स्वाभिमानको मार्ग हो । निर्वाचनको बेला जनताबीच गरेका प्रतिबद्धताअनुसार शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, विकास निर्माणलगायतका कार्यहरु गरी जनताको सेवा गरिरहेका छौं । २०८० साउन १ गतेपछि भक्तपुर नगरपालिकाले गरेका विभिन्न कार्य तथा गतिविधिहरुबारे यहाँ संक्षिप्तमा प्रस्तुत गर्न अनुमति चाहन्छौं :–
आयतर्फ :
यस नगरपालिकाको आन्तरिक श्रोततर्फ चालु आ.व. २०८०।८१ को अनुमानित रु. ६० करोडमा २०८० मंसिर मसान्तसम्म २० करोड २४ लाख ५५ हजार (करिब ३४ प्रतिशत) संकलन भयो भने वाह्य श्रोत तर्फ १ अर्ब ५३ करोड २३ लाख ४० हजारमध्ये ४३ करोड ७८ लाख ८४ हजारमात्र (करिब २९ प्रतिशत) संकलन भएको छ । आन्तरिक र बाह्य श्रोत गरी यस आ.ब. को ५ महिनामा कूल ६४ करोेड ३ लाख ३९ हजार राजश्व प्राप्त भएको छ ।
व्ययतर्फ ः
चालु खर्च शीर्षकमा रु. १ अर्ब ३६ करोड ९४ लाख ९४ हजार रुपैया विनियोजन गरिएकोमा २०८० मंसिर मसान्तसम्म ३९ करोड ९४ लाख ६४ हजार खर्च भयो भने पुंजिगत खर्च तर्फ ८० करोड ४१ लाख रुपैंया विनियोजन भएकोमा सोही अवधिमा रु. १० करोड १६ लाख ७ हजार खर्च भएको छ । चालु र पू“जीगत खर्च गरी यस अवधिमा जम्मा २३.१० प्रतिशत प्रगति भएको छ । धेरैजसो विकासका योजनाहरु प्रकृया पुरा गरी हाल कार्यान्वयनको चरणमा रहेको हँुदा पूजीगत खर्चतर्फ कम देखिएको हो ।
१) शिक्षा :
भक्तपुर नगरपालिकाले जनताका छोराछोरीहरुलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले विभिन्न बिषयमा उच्च शिक्षा प्रदान गर्न शिक्षण संस्थाहरु संचालन गर्दै आएको छ । शिशुस्याहार केन्द्रदेखि विभिन्न बिषयका कलेजहरु संचालन गर्ने भक्तपुर देशको एक मात्र नगरपालिका हो । नगरपालिकाद्वारा संचालित शैक्षिक संस्थाहरुमा हाल ७७ वटै जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई वार्षिक रु. ४ करोडभन्दा बढी रकम बराबरको छात्रवृत्तिको व्यवस्था र रु. ५ लाखसम्मको शैक्षिक ऋणको व्यवस्था पनि नगरपालिकाले गर्दै आएको छ । चालु आ.व.२०८०।८१ को लागि १०१ जना विद्यार्थीहरुको शैक्षिक ऋण स्वीकृत गरेका छौं । यस अघि ४९४ जनाले नगरपालिकाको शैक्षिक ऋणमा अध्ययन गरिरहेकासमेत गरी हाल झण्डै ६ सय जना विद्यार्थीहरुले नपाको शैक्षिक ऋणमा उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।
यस नगरपालिकाद्वारा संचालित कलेजहरुले नियमित रुपमा विभिन्न बिषयहरुमा राष्ट्रिय सम्मेलनहरु आयोजना गर्दै आएकोमा यस वर्ष ख्वप ई. कलेज र ख्वप कलेज अफ ईन्जिनियरिड्डको संयुक्त आयोजनामा कम्प्युटर, विद्युत, संचार प्रविधि सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन २०२३ र भुकम्प ईन्जिनियरिड्ड तथा विपद्पछिको पुनः निर्माण विषयक तेश्रो अन्तराष्ट्रिय सम्मेलन २०२३ गरी दुइ वटा अन्तराष्ट्रिय सम्मेलनहरु सम्पन्न भए । यस्ता कार्यक्रमहरुले हाम्रा शैक्षिक संस्थाहरुको सम्बन्ध अन्तराष्ट्रिय क्षेत्रमा समेत विस्तार हुंदै जाने विश्वास छ ।
शैक्षिक गुणस्तरमा एकरुपता ल्याउन र शैक्षिक विकास गर्न विद्यालय अनुगमन तथा प्राविधिक समिति गठन र त्यसको परिचालन, विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण गर्न आर्थिक अनुदान प्रदान, वडा वडामा संचालित शिशुस्याहार केन्द्रहरुको भौतिक पूर्वाधार तथा गुणस्तर विकास गर्न शिशुहरुको स्वास्थ्य परीक्षण तथा शैक्षिक सामाग्रीहरुको बन्दोबस्त, जनज्योति पुस्तकालयमा ई—लाइब्रेरी संचालन, नगरस्तरीय अन्तरविद्यालय चित्रकला, वक्तृत्वकला र निबन्ध प्रतियोगिता, फोटो तथा भिडियो प्रतियोगितालगायत चालू आर्थिक वर्षमा भएका केही महत्वपूर्ण शैक्षिक विकासका कार्य तथा गतिविधिहरु हुन् । उच्च शिक्षा हासिल गरिरहेका यस नगरपालिकाका विभिन्न विषयहरुमा अध्ययन अनुसन्धान गर्ने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप आर्थिक अनुदान कार्यक्रमलाई पनि निरन्तरता दिंदै छौं । शैक्षिक सत्र २०८०।८१ को लागि नपाले छुट्टै व्यवस्था गरेको बाहेक भक्तपुर नपाअन्तर्गतका सामुदायिक विद्यालयहरुमा कक्षा ११ र १२ मा १२२ जना विद्यार्थीहरुलाई छात्रवृत्तिको लागि सिफारिस गरेका छौं ।
२) स्वास्थ्य :
यस नगरपालिकाद्वारा १०० शैय्याको ख्वप अस्पताल संचालन गर्दै आएकोमा त्यहाँ सेवा सुविधा र गुणस्तर वृद्धिको लागि नयाँ नयाँ स्वास्थ्य उपकरणहरु जडान गर्दै आवश्यकताअनुसार चिकित्सक र जनशक्तिको व्यवस्था गर्दैछौं । वडा वडामा स्वास्थ्य सेवा केन्द्रहरु विकास गर्ने क्रममा भ.न.पा वडा नं. १ सल्लाघारी, भ.न.पा वडा नं. २ व्यासी र वडा नं. ५ भगवति स्थानका स्वास्थ्य केन्द्रहरुबाट जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएकोमा यही पुष २० गतेबाट भ.न.पा वडा नं. ९ दत्तात्रयमा पनि शहरी जनस्वास्थ्य केन्द्र संचालन गरी सेवा आरम्भ गरेका छौं । ती स्वास्थ्य केन्द्रहरुमा पनि विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरु क्रमशः व्यवस्था गर्दै सेवा विस्तार गर्दैछौं । श्रावणदेखि मंसिर मसान्तसम्म ख्वप अस्पतालले १ लाख १ हजार ३ सय भन्दा बढी विरामीहरुलाई सेवा प्रदान गरिसकेको छ । त्यसैगरी नगरपालिकाकै व्यवस्थापनमा संचालित ख्वप तिलगंगा आँखा अस्पताल, श्वास प्रश्वास पुनःस्थापना केन्द्र र नागरिक आरोग्य केन्द्रले पनि जनतालाई उल्लेख्य रुपमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।
यसरी जनताको सेवा गरिरहेको ख्वप अस्पताललाई एकातिर विमामार्फत स्वास्थ्य सेवा प्रदान गरे वापत ठूलो रकम भुक्तानी बाँकी राखेको छ भने अर्कोतिर निजी अस्पताल संचालकहरु र त्यसका पदाधिकारीहरुले ख्वप अस्पतालको बद्नाम गर्ने प्रयाश गर्दैछन् । त्यस्ता चुनौतीहरुबीच भक्तपुर नगरपालिका जनताको सेवामा निरन्तर लागिरहेको छ ।
घरदैलो नर्सिङ सेवालाई निरन्तरता दिंदै नगरपालिकाले नगरवासीहरुलाई निःशुल्क रगत र अक्सिजन वितरण पनि गर्दै आएको छ । चालु आ.व.को मंसिर मसान्तसम्म ५ महिनामा ४३४ जनालाई निःशुल्क रगत वितरण तथा ४,७०७ जना नगरवासीहरुलाई निःशुल्क अक्सिजन उपलब्ध गराइएको थियो । यस अवधिमा नगरपालिका क्षेत्रका क्यान्सर, मुटुरोगी, मृगौला र मेरुदण्ड पक्षघात भएका १४३ जना बिरामीहरुलाई प्रति व्यक्ति रु.१५,०००।– का दरले जम्मा रु. २१,४५,०००।– आर्थिक सहयोग पनि प्रदान गरिएको छ ।
३) संस्कृति तथा सम्पदा संरक्षण:
चालु आ.व.को श्रावण महिनादेखि पौष महिनासम्म मठ १, मन्दिर १, पाटी २ र अन्य १ गरी जम्मा ५ वटा सम्पदाहरु पुनःनिर्माण तथा जीर्णोद्धार सम्पन्न भयो भने २२ वटा सम्पदाहरु निर्माणाधीन छन् । पहिले नगरपालिका रहेको दरवार क्षेत्र स्थित थंथु दरवार पुनःनिर्माण कार्य अगाडि बढाइएको छ । नगर प्रमुखको संयोजकत्वमा निर्माण समिति गठन गरी पुरातत्व विभागसँगको समन्वयमा पुनःनिर्माण कार्य भइरहेको जानकारी गराउन चाहन्छौं ।
मूर्त र अमूर्त सम्पदा संरक्षणको क्रममा सांस्कृतिक सम्पदा संरक्षण कार्यमा योगदान गर्ने २२ जना सांस्कृतिक गुरुहरुको सम्मान, गुन्हीपुन्ही र सापारु पर्वमा प्रदर्शन गरिएका उत्कृष्ट साँस्कृतिक विधाहरु र स“स्कृतिकर्मीहरुलाई पुरस्कार वितरण तथा नगरको मौलिकतास“ग सम्बन्धित शिक्षा, संस्कृति, जीवनशैली र सामान्य परिचयस“ग सम्बन्धित लघु वृत्तचित्र र सकिमना पुन्हिमा प्रदर्शन गरिएका हलिमली ब्वज्याको फोटो प्रतियोगिता यस अवधिमा सम्पन्न गरिएको छ । मिति २०८० श्रावण २० गते ‘भक्तपुरको पोखरी चिनौं, सम्पदा संरक्षणमा अघि बढौं’ नाराका साथ साँस्कृतिक पोखरी पदयात्रा र मिति २०८० पुष १४ गते ‘वहा वही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नाराका साथ नगरका विभिन्न १९ वटा वहावहीहरुको सा“स्कृतिक पदयात्रा सम्पन्न गरियो । यस्ता गतिविधिहरुले हाम्रा सम्पदाहरुको संरक्षणमा योगदान पुग्नुका साथै पर्यटन प्रबद्र्धनमा पनि टेवा पुग्ने हाम्रो विश्वास छ ।
भक्तपुर नगरपालिकाद्वारा आयोजित भक्तपुर नगरव्यापी प्रगतिशील भजन प्रतियोगितामा प्रस्तुत गरिएका भजन गीतहरुको संग्रह ‘प्रगतिशील भजन म्येँ मुना २०८०’ पनि यस अवधिमा प्रकाशित गरिएको छ ।
४) कृषि:
किसानहरुको हितलाई ध्यानमा राखी कृषकहरुलाई यस आ.ब.मा प्रतिपरिवार आलुको वीउ ५ के.जी (५० प्रतिशत अनुदानमा) र भक्तपुर नगरपालिकाद्वारा उत्पादित प्राड्डारिक मल १ बोरा निःशुल्क वितरण गर्यौ भने नगरका सबै वडाहरुमा माटो परीक्षण शिविर, बाली स्वास्थ्य उपचार शिविर, किसानहरुलाई धानबालीमा लाग्ने रोग, काउली तथा बन्दाकोभीमा लाग्ने गा“ठे रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रमहरु सम्पन्न गर्याैं । यस्ता कार्यक्रमहरुबाट कृषि उत्पादनमा वृद्धि हुने हाम्रो अपेक्षा रहेको छ । त्यसैगरी नगरका किसानहरुको सूचिकरण गर्नुका साथै नेपाल सरकारबाट अनुदान प्राप्त रासायनिक मलको नियमानुसार वितरण गर्दै आएका छौं ।
५) पर्यटन :
पर्यटन भक्तपुर नगरको आयको आन्तरिक श्रोत मध्ये एक हो । भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थल बनाउन हामी निरन्तर लागिरहेका छौं । यसै आ.व.को श्रावण १ गतेदेखि पौष २२ गतेसम्ममा गैर सार्क पर्यटकहरु ५९,६०३ जना र सार्क तथा चिनिया“ पर्यटकहरु ५४,७६३ जना गरी जम्मा १,१४,३६६ जना पर्यटकहरुले भक्तपुरको भ्रमण गरेको रेकर्ड छ । गत वर्ष यस अवधिमा ७१,३७८ जनाले मात्र भ्रमण गरेका थिए । गत वर्षको तुलनामा सोही अवधिमा ४२,९८८ जनाले पर्यटकहरु वृद्धि भएको छ । यो ६०.२३ प्रतिशतले वृद्धि हो । गैरसार्क पर्यटकहरुबाट रु. १०,७२,८५,४००।– र सार्क तथा चिनियाँ पर्यटकहरुबाट रु. २,७३,८१,५००।– गरी जम्मा रु. १३,४६,६६,९००।– आम्दानी भएको छ । गत वर्षको तुलनामा सोही अवधिमा रु. ५,७८,६२,५००।– ले आय वृद्धि भएको छ ।
स्थानीय पथप्रदर्शक रिफ्रेसर तालिम र विश्व पर्यटन दिवसको अवसरमा भक्तपुरको पर्यटन उद्योगको विकासमा योगदान पु¥याउने संघसंस्था र व्यक्तिहरुलाई सम्मानका कार्यक्रम पनि सम्पन्न भएका छन् ।
६) वातावरण तथा सरसफाई :
भक्तपुर नगर क्षेत्रभित्र उत्पादन हुने फोहोरलाई घरघरबाटै कुहिने र नकुहिने छुट्याई नियमित संकलन गर्दै कुहिने फोहोरबाट प्राड्डारिक मल उत्पादन गरिरहेका छौं भने नकुहिने फोहोर मध्येबाट पुनः प्रयोग गर्न मिल्ने र नमिल्ने छुट्याई व्यवस्थापन गर्दै आएका छौं ।
नगरमा हरियाली व्यवस्थापन कार्यलाई निरन्तरता दिएका छौं भने सम्पदा क्षेत्र र पुरानो नगर क्षेत्रमा ठाउँ ठाउँमा गमलाको व्यवस्था गरी हरियाली व्यवस्थापन क्षेत्र क्रमशः विस्तार गर्दै लगेका छौं । हनुमन्त्ते खोला र खासाड्डखुसुड्ड खोला सुधारको लागि सल्लाघारी र हनुमानघाटको उपचार पोखरीहरु निर्माण कार्य छिटो सम्पन्न गर्न जोड दिइरहेका छौंं ।
नगर क्षेत्रभित्र छरपस्त रुपमा रहेका तार र केबुलहरुलाई व्यवस्थित गर्न विद्युतको तार भूमिगत गर्ने कार्य जारी छ भने नगरको ढल व्यवस्थापनबारे पनि आवश्यक पहल गर्दै आएका छौं ।
बजार व्यवस्था, हकर्ष नियन्त्रण र ट्राफिक व्यवस्थापनको लागि गाडामा सामान बेच्ने कार्य क्षेत्र तोकी क्रमशः निषेध गर्दै लगेका छौं भने नगर क्षेत्रमा रहेका विभिन्न पोखरी, मठ मन्दिर, ढुड्डेधारा, इनार आदिको नियमित सरसफाई, अव्यवस्थित रुपले राखिएका विज्ञापनका फ्लेक्स बोर्डहरु हटाई शहरलाई सुन्दर बनाउने कोशिस गरिरहेका छौं ।
७) खानेपानी :
भक्तपुर नगरपालिकाभित्र खानेपानीको आफ्नै श्रोत नहुँदा हरेक वर्ष जनताले खानेपानीको दुःख भोग्दै आएका छन् । हामीसँग प्राप्त श्रोतहरुलाई व्यवस्थित वितरण गर्ने कोशिस गर्दैछौं । पर्याप्त श्रोत नहुँदा खानेपानी समस्याको स्थायी समाधानको लागि हामीसँग मेलम्चीको विकल्प छैन । नगर भित्र समानुपातिक ढंगले खानेपानी वितरणको लागि मेलम्ची खानेपानी आयोजनाअन्तर्गत भक्तपुरको माथिल्लो क्षेत्रका ठाउँ ठाउँमा पाइप जोड्ने कार्य गरिरहेका छौं । विभिन्न ठाउँमा डीप बोरिङ गरी त्यसको पानी पनि वितरण गरिरहेका छौं । साथै परम्परागत पानीका श्रोतहरु पोखरी, ईनार, ढुंगेधारालगायतका विभिन्न श्रोतहरुको उचित मर्मत संभार र सम्बर्द्धन पनि गर्दैछौं ।
८) खेलकुद :
भक्तपुर नगरपालिकाले विभिन्न खेलहरुको नियमित प्रशिक्षणलाई निरन्तरता दिइरहेको छ । भनपा ८ लिबालिमा कभर्ड हल चालू अवस्थामा छ भने महालक्ष्मीस्थान स्थित टेबल टेनिस प्रशिक्षण कभर्ड हल निर्माण अन्तिम चरणमा पुगेको छ ।
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिड्ड शिल्ड खेलकुद प्रतियोगिता, विद्यालयका खेलकुद शिक्षक शिक्षिकाहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम र शारीरिक व्यायाम छिकोङ खेलको तालिमहरु सम्पन्न भए भने आगामी माघ २१ देखि २७ गतेसम्म भक्तपुर नगरव्यापी विद्यालयस्तरीय विविध १५ वटा विधाका खेलकुद प्रतियोगिता (भलिबल, फुटबल, कबड्डी, करांते, एथलेटिक्स, उसु, टेबलटेनिस, खोखो, पोर्टबल, ब्याडमिन्टन, तेक्वाण्डो, बुद्धिचाल, जिम्नाष्टिक, कसिमला पांय र बाघचाल) संचालनको लागि आवश्यक तयारी भइरहेको छ ।
९) युवा तथा रोजगार :
युवाहरुलाई स्वरोजगार बनाउन युवा उद्यमशिलता ऋणको व्यवस्था, युवाहरुमा सीप विकास गरी स्वरोजगार बनाउन चिनिया“ र जापानी भाषाका आधारभुत तह र एड्भान्स तह, पाक शिक्षा, हेयर कटिड्ड, आधारभुत र एडभान्स तहको सिलाइ र बुटिक तालिम संचालन गरिरहेका छौं । साथै प्लम्बीङ र विद्युत सम्बन्धी तालिमको लागि पनि तयारी गरिरहेका छौं ।
१०) सहकारी :
संहकारीहरुलाई नियमित र व्यवस्थित बनाई उत्पादनशील क्षेत्रमा लगानीमा प्रोत्साहन गर्न सहकारी संघ संस्थाका कर्मचारी र पदाधिकारहरुको क्षमता अभिबृद्धीका लागि समय समयमा विभिन्न बिषयका तालिमहरु संचालन गरेका छौं । स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित गर्ने उद्देश्यले सहकारी संस्थाहरुबाट सामुदायिक विकास कोषको ५० प्रतिशत रकम नगरपालिकामा जम्मा गर्न आग्रह गरेअनुसार अधिकाँश सहकारी संस्थाहरुले सहयोग गर्नु भएको छ । त्यसको निम्ति सम्पूर्णलाई धन्यवाद दिन चाहन्छौं ।
११) विकास निर्माण:
भनपा वडा नं ६ महाकाली स्थान स्थित आदर निकेतन भवन निर्माण कार्य अन्तिम चरणमा छ । यस चालु आ.व.को ६ महिनामा विभिन्न १३ वटा नगरस्तरीय योजनाहरु सम्पन्न भए भने थप १३ वटा योजनाहरु चालु अवस्थामा छन् । भनपा ८ लिबालिभी स्थित शित भण्डारण गृह भवन निर्माण कार्य दोश्रो चरणमा पुगेको छ । अरनिको सभा भवन निर्माण कार्यको लागि बोलपत्र प्रकाशन भइसकेको छ ।
१२) विविध :
चालु आ.व.को श्रावण १ देखि पौष २३ गतेसम्ममा यस नगरपालिकामा चीन, जापान, नर्वे, जर्मनी, क्यूवा, लक्जमवर्ग, घाना, तान्जानिया, अर्जेन्टिना, बेलायत, फिलिपिन्स, कम्बोडिया, थाइल्याण्ड, लाओस र भारतलगायतका २० वटा प्रतिनिधिमण्डलका सदस्यहरुले यस नगरपालिकाको अध्ययन र अवलोकन भ्रमण गर्नुका साथै नगर प्रमुखसँग शिष्टाचार भेटघाट गर्नु भयो ।
– २०८० जेठ १७ गते जनवादी गणतन्त्र चीनको स—छुवान प्रान्तका पार्टी सचिव वाङ स्याओहुईले, २०८० साउन ८ गते चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा छोरङछिङ नगरपालिकाको पार्टी समितिका सचिव युआन चियाच्युनले र २०८० कार्तिक २६ गते चीनको सिन्चाङ –तिब्बत) स्वायत्त क्षेत्रका चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ च्युनचङले नेपाल मजदुर किसान पार्टीका आदरणीय नेता नारायणमान बिजुक्छेँ (रोहित) सित भेटघाट गरी दुई देश र दुई पार्टीबीच सम्बन्ध विस्तारका बारेमा छलफल गर्नुभएको थियो । सो क्रममा उहाँहरुले भक्तपुरको दरबार क्षेत्र, टौमढी क्षेत्रलगायतको भ्रमण गर्नुभएको थियो ।
– त्यस्तै २०८० असार १४ गते जनवादी गणतन्त्र चीनको सान्तोङ प्रान्तको हुआन थाई नगरपालिकाका प्रतिनिधिमण्डलगायतले भक्तपुरको अवलोकन भ्रमण गर्नुभएको थियो भने २०८० मंसिर ३ गते चिङकाङशान नगरपालिकाका उपप्रमुख ह्वामिङले पनि यस नगरपालिकाको भ्रमण गर्नुभएको थियो ।
– मिति २०८० मंसिर २६ गते भक्तपुर नगरपालिका र मित्र राष्ट्र चीनको लसान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापना भएको छ ।
– दोस्रो कार्यकालमा ७५ वटा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुको प्रतिनिधिमण्डलले यस अवधिमा भक्तपुर नगरपालिकाको अध्ययन÷अवलोकन भ्रमण गरेको रेकर्ड छ ।
– यस अवधिमा संघीय र प्रदेश सरकारका २० वटा प्रतिनिधिमण्डलले नगरपालिकाको भ्रमण गरेको छ ।
– नगरका विभिन्न क्षेत्रमा सशुल्क पार्किड्ड व्यवस्था मिलाउँदै छौं ।
– भक्तपुरको बजार व्यवस्थापन, अनियमित निर्माण नियन्त्रण र अन्य आवश्यक कार्यको लागि नगरप्रहरी नियुक्ती प्रकृया अगाडि बढाइएको छ ।
– देको मिवा इतापाके आवास योजना अन्तर्गत जग्गाधनीहरुको जग्गा फिर्ताको काम भइरहेको छ भने केही असन्तुष्ट जग्गा धनी तथा मोहीहरुको गुनासोहरु प्रति सचेत रही गुनासो व्यवस्थापन उप समितिले उचित सम्बोधन लागि प्रयाश गरिरहेको छ ।
– नियमित रुपमा बजार अनुगमन गरी अखाद्य वस्तु बेचबिखन, म्याद नाघेका, मिसावतयुक्त वस्तुहरु बेच्ने व्यापारीहरुलाई कानून बमोजिम कारवाही गरी उपभोक्ताको स्वास्थ्यलाइ ध्यान दिइरहेका छौं भने ढक तराजुमा नियमितता ल्याउने प्रयाश गरिरहेका छौं ।
– चालु आ.व को श्रावण १ देखि पौष २३ गतेसम्म १६५ वटा नक्सा दर्ता भएकोमा १०७ वटा नक्सा पास भएको छ ।
– यस आ.ब.मा मुद्दा शाखामा दर्ता भएका मुद्दाहरु र पुरानासमेत गरी कूल ३८२ वटा मुद्दाहरु फछ्र्यौट भएको छ ।
अन्त्यमा,
सभासद्हरु,
आजको यस गौरवपूर्ण १५ औं नगरसभामा उपस्थित भएर कार्यक्रमको शोभा बढाइदिनुभएकोमा प्रतिनिधिसभाका सांसद एवम् नेमकिपाका केन्द्रीय सचिव मा. प्रेम सुवालज्यू, प्रदेशसभा सांसदद्वय तथा प्रमुख जिल्ला अधिकारीप्रति हार्दिक आभार प्रकट गर्दै सदाझैं यस नगरासभाबाट जनताको हित, आवश्यकता र चाहनाअनुरुप संविधानले दिएको अधिकारमा रही नगरपालिकाको समग्र विधायन, बजेट तथा समसामयिक विषयमा व्यापक छलफल हुनेछ भन्ने अपेक्षाका साथ मेरो भनाई यही टुंग्याउँछु । धन्यवाद ।


















