पुष १४, भक्तपुर । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १९औं स्थापना दिवसको अवसरमा सहकारीमा देखिएका वित्तिय अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम भनपा साविक १५ वडाका पूर्व अध्यक्ष एवं संस्थाका संस्थापक रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । प्रमुख अतिथिको मन्तव्य राख्दै खर्बुजाले सहकारीले आर्थिक क्रान्तिसंगै समाजमा वित्तिय साक्षारता पनि अगाडी बढाउदै लानुपर्ने बताउनु भयो । विभिन्न समाजवादी देशहरुले आर्थिक क्रान्तिको जग सहकारी मार्फत बसालेको चर्चा गर्दै नेपालको परिवेशमा पनि त्यो सम्भव भएको औल्याउनु भयो । साथै उहाले अहिले देश झनझन पूजीबादीहरुको चंगुलमा फस्दै गएकोमा चिन्ता व्यक्त गर्दै देशभक्तहरु सबै एकजुट भएर देश विकासमा लाग्नुपर्ने बचाउनु भयो ।
कार्यक्रममा बोल्दै अर्का अतिथि संस्थाका संस्थापक अध्यक्ष एवं भनपा वडा नं. २ का वडा सदस्य श्यामसुन्दर मातांले देश संघिय संरचनामा गएपछि सहकारी स्थानीय तहको मातहतमा आएकोले सोहि अनुरुप भक्तपुर नगरपालिकाले नियमित अनुगमन र नीति नियमहरु निर्माण गर्दै ल्याएको बताउनु भयो । स्थानीय जनताको स्वामित्व तथा सामाजिक उत्तरदायित्व वहन नगरेको सहकारीमा धेरै समस्या एवं संचालक/प्रबन्धक भाग्ने प्रवृति बढेकोले सबै चनाखो हुनु पर्ने औल्याउनु भयो । साथै उहाले भक्तपुर नगरपालिकाले गरेका विभिन्न विकास निर्माणका गतिविधिहरुको बारे पनि चर्चा गर्नुभयो ।
संस्थाका अध्यक्ष राजन जतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष रामसुन्दर सुजखुले सदस्यहरुलाई संस्थाको वित्तिय जानकारी नियमित रुपमा दिदै आएकोमा खुसी व्यक्त गर्नुभयो । संस्थाका कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले संस्था स्थापना कालदेखिका आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा छलफल तथा उपस्थित सदस्यहरुसंग सुझावहरु संकलन गरिएको थियो । कार्यक्रममा सचिव राजु छुकां र प्रबन्धक प्रशान्त मानन्धर लगायतले पनि आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

साथै संस्था स्थापना दिवसकै अवसरमा स्वास्थ्य उपसमितिको आयोजनामा रक्तदान तथा नाक, कान, घाटी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर स्थानीय इताछें गणेश मन्दिर परिसरमा सम्पन्न भयो । शिविरको औपचारिक कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राजन जतिले संस्थाले स्थापना कालदेखि नै समुदायमा आधारित भएर विभिन्न गतिविधि गर्दै आएको बताउनु भयो । स्थापना दिवसको अवसर पारेर विगतका बर्षहरु देखि निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम संचालन गर्दै आएको बताउनु भयो । गैह्र समुदायमा आधारित सहकारीको नाफामुखी तथा लुटतन्त्रले अहिले जनताको पैसा सुरक्षित नभएको सहकारी चिनेर मात्र आफ्नो बचत जम्मा गर्न सम्पूणर् जनसमुदायमा अनुरोध गर्नुभयो । समुदायमा आधारित संस्थाको महत्व भनेकै वित्तिय कारोबारका अलावा विभिन्न सामाजिक उत्तरदायित्व वहन गर्दै सुसुचित गर्नुपर्ने औल्याउनु भयो । ख्वप अस्पतालको प्राविधिक सहयोगमा भएको नाक, कान, घाटी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ७६ जनाले सेवा लिई लाभान्वित भएका थिए ।

त्यस्तै रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३८ जना रक्तदाताले रक्तदान गरेको जानकारी आयोजक स्वास्थ्य उपसमितिका संयोजक प्रज्वलखत्रीले बताउनु भयो । संस्थाको १९औं बार्षिक उत्सव कार्यक्रमकै अवसरमा यहि पुस २६ गतेदेखि २८ गतेसम्म अन्तर सहकारी Girl’s Single U19 Badminton Competition2080 कार्यक्रम हुने जानकारी संस्थाका प्रबन्धक प्रशान्त मानन्धरले दिनुभयो ।


















