भक्तपुर नगरपालिका र नपाद्वारा सञ्चालित कलेजहरुले आत्मनिर्भरताको बाटो रोजेको छ:प्रमुख

0
270

ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने नेपालकै उत्कुष्ट कलेजहरु हुन् । यी कलेजहरुले भक्तपुर नगरपालिकाको व्यवस्थापनमा सस्तो र गुणस्तरीय प्राविधिकहरु तयार गरिरहेका छन् भने असल र देशभक्त नागरिक तयार गर्ने कोशिश पनि गरिरहेका छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान र योग्य प्राविधिकहरु तयार गर्ने पनि यी कलेजहरुको उद्देश्य हो । पूर्वाञ्चल विश्वविद्यालयबाट २०५८ सालमा संबधन लिई ख्वप इन्जिनियरिङ कलेज र त्रिभुवन विश्वविद्यालयबाट २०६५ सालमा संबधन लिई ख्वप कलेज अफ इन्जिनियरिङको स्थापना गरिएको हो । यी दुबै कलेजहरुबाट हरेक वर्ष विभिन्न विषयका ४३२ जना दक्ष इन्जिनियरहरुको उत्पादन हुँदै आएका छन् ।

भक्तपुर नगरपालिकाले प्राविधिक शिक्षालाई जोड दिंदै आएको छ । प्राविधिक शिक्षाले युवाहरुलाई आत्मनिर्भर बनाउन मदत गर्छ । प्राविधिक क्षेत्रमा अगाडि बढेको देश नै संसारमा आर्थिक र भौतिक विकासमा पनि अगाडि बढेको देखिन्छ । राम्रा राम्रा प्राविधिकहरु देश विकासका एक महत्वपूर्ण आधार हुन् । भक्तपुर नगरपालिकाले यही कुरालाई ध्यानमा राखेर २ वटा इन्जिनियरिङ कलेज र ख्वप बहु प्राविधिक अध्ययन संस्थान गरी ३ वटा प्राविधिक शिक्षालयहरु सञ्चालन गर्दै आएको छ । ख्वप बहु प्राविधिक अध्ययन संस्थानबाट स्टाफ नर्स र सब इन्जिनियरहरु उत्पादन भइरहेको छ ।

शैक्षिक क्षेत्रमा सरकारले राम्रो व्यवस्थापन गर्न नसक्दा विद्यार्थीहरु विदेश पढ्न जाने क्रम बढ्दो छ । गत आ.व. २०७९।८० मा १ लाख १० हजार विद्यार्थीहरुले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएर विदेश पढ्न गएको कहालिलाग्दो तस्बिर हाम्रो सामु छ । हरेक महिना १० हजार भन्दा बढी विद्यार्थी विदेश पढ्न गएको तथ्यांकले हाम्रो शिक्षा नीतिमाथि नै गम्भीर प्रश्न उठेको छ । नेपालमा प्राविधिक शिक्षा मात्रै होइन अन्य धेरै विषयहरु अध्यापन हुने कलेजहरु बन्द हुने क्रम जारी छ । १२ कक्षासम्म नेपालमा पढ्ने र त्यसपछि विदेशमा पढ्ने भन्ने सोच सासाना विद्यार्थी भाइ बहिनीहरुमा कस्ले ल्यायो ? यो खोज अध्ययनको बिषय हो । नेपालमा हाल सञ्चालनमा रहेका १४४० कलेजहरुमध्ये विद्यार्थी संख्याको कमीको कारण यो वर्ष ५०० वटा भन्दा बढी कलेजहरु बन्द हुने अवस्थामा पुगेको समाचारहरुमा आइरहेका छन् ।

बौद्धिक व्यक्तित्वहरु नेपाल सरकार र विश्वविद्यालयहरु नै विद्यार्थी विदेश पलायन हुनुमा मुख्य जिम्मेवार भनिरहेका छन् । समयमा परीक्षा नहुनु, परीक्षाफल ढिलो प्रकाशित हुनु र प्राध्यापक तथा कर्मचारीहरु राजनैतिक भागबण्डामा नियुक्त हुनु नै विश्वविद्यालयहरुमा राम्रो व्यवस्थापन हुन नसक्नुका कारणहरु हुन् । त्यसले नेपालका कलेज र विश्वविद्यालयहरुप्रति विद्यार्थीहरुको आकर्षण घट्दै गएको छ । विश्वविद्यालयजस्तो प्राज्ञिक क्षेत्रमासमेत बारम्बार बन्द, हड्ताल र तोडफोड, आगजनी जस्ता अराजनैतिक गतिविधि हुनाले पनि विद्यार्थीहरुलाई निराश बनाएका छन् । राम्रो अध्ययन गर्न चाहने विद्यार्थीहरु घर खेत बेचेरै भए पनि विदेश पढ्न जान बाध्य छन् ।

चिकित्सा शिक्षाको अबस्था झनै कहालीलाग्दो छ । चिकित्सा शिक्षा संचालन गर्न १०० शैय्याको आफ्नै अस्पताल हुनुपर्ने कानुनी प्रावधानको कारण यो वर्ष स्टाफ नर्स, बिएससी नर्सिङ, एचएलगायत अध्यापन हुने २२८ वटा कलेजहरु बन्द हुने अबस्थामा पुगे । ४० जना स्टाफ नर्स पढाउन अर्बौ रुपैञा खर्च गरेर १०० शैयाको अस्पताल बनाउनुपर्ने प्रावधान विद्यार्थीको हित विपरीत छ । सरकारको गलत नीतिको कारण अहिले हजारौं विद्यार्थीहरु नेपाल भारत सिमानामा भारतले खोलेका कलेजहरुमा गएर पढिरहेका छन् । त्यसको कारण नेपालको अरबौं रुपैयाँ विदेश गइरहेको छ ।

हामीले हाम्रा कलेजहरुमा नयाँ नयाँ विषयहरु थप्ने निरन्तर प्रयास गर्दै छौं तर त्रिविवि कहिल्यै हामीप्रति सकारात्मक भएन । यही सिलसिलामा केही समय अगाडि त्रिभुवन विश्वविद्यालयका उपकूलपति धर्मकान्त बास्कोटासँग भेट्यौं । उहाँसँग बिषय थपको लागि निवेदनसाथ आग्रह गर्यौ । उहाँले आफुले केही गर्न नसक्ने लाचारी व्यक्त गर्दै भन्नुभयो— संस्थालाई राम्रो गर्ने भन्ने मान्छे भेट्दैनौं । प्राध्यापकहरु भागबण्डामा नियुक्त हुन्छन् । क्लासमा गएर पढाउन नसक्ने पनि प्राध्यापकहरु छन् । अनि कसरी राम्रो पढाइ हुन्छ ? विश्व विद्यालयबाट भन्दा बढी कन्सल्टेसीबाट तलब बुझ्ने प्राध्यापकहरु छन् । सबै निजी क्षेत्रले बिगारेका हुन् ।’ उहाँले केही समय अघि अवकाश पाउनु भयो । त्यसपछि पनि भन्नुभयो — मेरो एक तिहाइ पदावधि बन्द हडतालमा बित्यो ।’ यही हो हाम्रो विश्व विद्यालयहरुको सजिब चित्र ।

उहाँले हामीलाई नयाँ विषय थपको स्वीकृति दिएमा अन्य निजी विश्वविद्यालयकाहरु आएर विश्व विद्यालय घेराउ गर्न सक्ने बताउँदै आंगिक क्याम्पस बाहेकका क्याम्पसहरुमा नयाँ विषयको स्वीकृति दिन नसक्ने स्पष्ट पार्नु भयो । देशको शिक्षाको जिम्मेवारी लिएर बसेका महत्वपूर्ण पदाधिकारीहरुबाटसमेत यस्तो निराशाजनक कुरा सुन्नु परेको छ । यस्तो अवस्थामा शैक्षिक क्षेत्रको प्रगति कसरी हुन्छ ?

अहिले रोजगारीको निम्ति पनि दैनिक हजारौं युवाहरु विदेश गइरहेका छन् । गत आ.व. २०७९।८० मा आठ लाख भन्दा बढी युवाहरु विदेश गएको तथ्यांक छ । युवा, विद्यार्थीहरु र बुद्धिजिबीहरु पनि विदेश गएपछि नेपालको विकास र संमृद्धी कसरी सम्भव हुन्छ ? सरकारमा बसेर राम्रा राम्रा नारा भट्याएर देशको विकास हुने होइन ।

नेपाली युवाहरु विदेश पठाउने नीति ल्याउने तत्कालीन अर्थमन्त्री रामशरण महत हुन् । उनले प्रत्यक निर्वाचन क्षेत्रबाट २०० युवाहरु विदेश पठाउने नीति ल्याए । त्यसको निकै विरोध पनि भएको थियो । आज त्यही गलत नीतिको परिणाम देश युवाविहीन हुँदैछ । तराई र पहाडका खेतीयोग्य जमिनमा खेती गर्ने युवाहरु छैनन्, लास बोक्न समेत युवाहरु नभेटिएर महिलाहरुले बोक्नुपर्ने अवस्था आउँदै छ । देशको यथार्थबारे हाम्रा कलेजका विद्यार्थीहरुले गम्भीर भएर सोच्ने आशा गर्छु ।

एकातिर हाम्रा किसानहरुले तयार गरेका तरकारी, दूध नबिकेर सडकमा फालिएको दृश्य देख्दैछौ भने अर्कोतिर भारतबाट विषादीयुक्त तरकारीले निर्वाध रुपमा प्रवेश पाउँदैछ । यसबाट नेपालको कृषि अर्थतन्त्र ध्वस्त हुँदैछ । भारतले प्याज निर्यात नगर्दा एकै दिन त्यसको मूल्य दोब्बरले बढेको, चामल र गहुँ नपठाउँदा नेपाली नागरिकहरु भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ । यसको जिम्मेवार को हो ?

यही समयमा नेपाल सरकारले भारत सरकारको अनुकूल एउटा अर्को निर्णय गरेको सार्वजनिक भएको छ । काठमाडौंस्थित भारतीय दूतावासले सिधा वितरण गर्ने अनुदान रकम बढाएर २० करोड पुर्याइएको छ । त्यो रकम खर्च गर्न नेपाल सरकारको कुनै अनुमति आवश्यक छैन । सूर्यबहादुर थापाको पालामा सुरु भएको त्यो अनुदानको व्यवस्था बाबुराम भट्टराईको पालामा ५ करोड पुर्याइएको थियो ।

भारतले ठाउँ ठाउँमा योग केन्द्र, बाल विकास केन्द्र, विद्यालय भवन, रक्त सञ्चार केन्द्र, कृषि तथा पूर्वाधार निर्माणमा सोझै खर्च गर्दै आएको छ । यो सिधै नेपालको सार्वभौमिकता र स्वतन्त्रता माथिको हस्तक्षेप हो । कुनै पनि स्वतन्त्र र सार्वभौम देशले विदेशीलाई त्यसरी खर्च गर्ने छुट दिँदैन । त्यसरी विदेशी शक्तिलाई लगानीमा छुट दिनुको अर्थ सरकार त्यस शक्तिको कठपुतली बन्नु हो ।

ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङमा पढ्ने तमाम विद्यार्थीहरु हाम्रा लागि समान छन् । हामी तपाईंहरुको उज्ज्वल भविष्यको निम्ति पूर्ण रुपमा सहयोग गर्छौं । तपाईंहरुले आफ्नो पढाइका साथै देशको समसामयिक राजनीतिबारे पनि ध्यान दिएर अध्ययन गर्ने हाम्रो अपेक्षा हो । विदेश गएर यहाँका नेताहरुलाई सराप्दैमा नेपालको विकास हुने होइन । हामी सबैले आफ्नो ज्ञान र सीप आफ्नै देशमा प्रयोग गर्ने प्रण सक्यौ भने देशले विकासमा गति लिने छ ।

विदेशको सहयोगले मात्रै कुनै पनि देश समृद्ध हुन सक्दैन । आत्मनिर्भरतालाई जोड दिएर अगाडि बढ्नु विकासको लागि उचित विकल्प हो । भक्तपुर नगरपालिका र हाम्रा कलेजहरुले आत्मनिर्भरताको बाटो रोजेको छ । त्यही नीतिले नै हामीलाई अहिलेको अवस्थामा पुर्याएको हो ।

(भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २२ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १५ औं वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)

May be an image of 1 person, dais and text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here