प्रसिद्ध मयुर झ्याल भएको पुजारी मठ मौलिक शैलीमा पुनःनिर्माण गरिने

0
455

मंसिर २१, भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ९ दत्तात्रयस्थित पुजारी मठ पुनःनिर्माण विषयमा सम्बन्धित सरोकारवाला र स्थानीयबीच छलफल कार्यक्रम बिहीबार धातुकला संग्रहालय परिसरमा सम्पन्न भयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पुजारी मठ पुनःनिर्माण कार्य पारदर्शी ढंगबाट सम्पन्न गर्ने र पुनःनिर्माण कार्यको दौरानमा मठ भत्काउने क्रममा भेटिने प्रत्येक वास्तु र सम्पदाहरुको अभिलेखीकरणका साथै महत्वपूर्ण सम्पदाहरु सुरक्षित प्रदर्शनीको व्यवस्था गर्ने विषयमा छलफल भयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले विश्व सम्पदा क्षेत्रमा अवस्थित प्रसिद्ध मयुर झ्याल भएको पुजारी मठ पुनःनिर्माण सबैको साझा चासो र सरोकारको विषय भएको बताउनुभयो ।

मठ पुनःनिर्माण कार्य त्रुटीरहित र पारदर्शी ढंगले सम्पन्न गर्न सबै सरोकारवाला निकायहरु क्रियाशील हुनुपर्ने बताउँदै उहाँले सम्पदा पुनःनिर्माण जस्तो संवेदनशील काममा ठेकेदारहरुलाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो ।

सम्पदा पुनःनिर्माण आफैमा एउटा चुनौतीपूर्ण विषय भएको बताउँदै उहाँले पुजारी मठ पुनःनिर्माण कार्यमा स्थानीय जनताको अपनत्व रहने गरी मौलिक शैलीमा पुनःनिर्माण कार्य अगाडि बढाउन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरको सम्पदा पुनःनिर्माणका गतिविधिको नियमित अनुगमन भइरहेको बताउँदै सम्पदा पुनःनिर्माण कार्यमा मौलिकता संरक्षण सँगसँगै गुणस्तरीय निर्माणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । उपप्रमुख जोशीले पुजारी मठ पुनःनिर्माण कार्य अगाडि बढाउन आवश्यक क्षति विवरण संकलन र पूर्ण सर्वेक्षण गरी सहयोग गरेको स्मरण गर्नुभयो ।

त्यस्तै दरबार हेरचाह तथा स्मारक संरक्षण अड्डा भक्तपुरका कार्यालय प्रमुख अरुणा नकर्मीले पुजारी मठभित्र अमूल्य काष्ठकला रहेको उल्लेख गर्दै ती वास्तुहरुलाई सुरक्षित ढंगले संरक्षण गरी प्रदर्शनीको व्यवस्था मिलाउने बताउनुभयो ।

राष्ट्रिय कला संग्रहालयका कार्यालय प्रमुख जयन्ती श्रेष्ठले पुजारी मठ पुनःनिर्माणको कार्य भूकम्प प्रतिरोधात्मक ढंगले भइरहेको अवगत गराउँदै उक्त कार्य अनुभवी निर्माण ठेकेदारहरुबाट भइरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व र प्राविधिक विनिता भण्डारीले पुजारी मठ पुनःनिर्माणका गतिविधि र प्राविधिक पक्षमा प्रकाश गराउनुभयो ।

कार्यक्रममा भनपा वडा नं. ९ का स्थानीयहरुले मठ पुनःनिर्माणका क्रममा मठका हरेक वस्तु संरक्षण गर्नुपर्ने, मौलिकता सँगै गुणस्तरमा ध्यान दिनुपर्ने, ठेकेदारहरुले संवेदनशील भएर पुनःनिर्माण काम गर्नुपर्ने लगायतका सुझाव राख्नुभएको थियो ।

छलफलपश्चात नगर प्रमुख प्रजापतिसहितको टोलीले पुजारी मठ पुनःनिर्माण कार्य र त्यहाँस्थित संग्रहालयको स्थलगत निरीक्षण गर्नुभयो ।

यसअघि मिति २०८० मंसिर १८ गते पुजारी मठ पुनःनिर्माण कार्य व्यवस्थित रुपमा सञ्चालन गर्न भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वको संयोजकत्वमा सदस्यहरु आ. रामगोविन्द श्रेष्ठ, सम्पदा शाखा भनपा, आ. रिचा पौडेल, राष्ट्रिय कला संग्रहालय र ठेकेदार प्रतिनिधि पर्शुराम वैद्य, पुरातत्व विभागका इन्जिनियर विनिता भण्डारी रहने गरी सहजीकरण समिति गठन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here