कार्तिक २०, काठमाडौँ । काठमाडौँ महानगरबासीसँगको आत्मीय र भावनात्मक सम्बन्धका लागि काठमाडौँ महानगरपालिकाको ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ ।
महानगरबासीका सुख दुःखमा सँगै रहने कार्यक्रम सञ्चालनमा आएको छ । सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिने यस कार्यक्रमको उद्देश्य हो । सुत्केरी महिलालाई पोसिलो खानेकुराको अभाव नहोस्, किरिया खर्चको अभावमा संस्कार छोड्नु नपरोस्, जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्तिले एक्लो महसुस गर्न नपरोस् । यसका लागि कार्यक्रम सञ्चालनमा ल्याएकाे महानगरका प्रमुख बालेन्द्र शाहले फेसबुक मार्फत सार्वजनिक गर्नुभएकाे छ ।
काठमाडौँ महानगरबासीमा यस्तो अवस्था छ भने तपाईँ बसोबास गरिरहनु भएको वडा कार्यालय वा काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागअन्तर्गत साथी महानगर परियोजना कार्यान्वयन एकाइमा सम्पर्क राख्न सकिने भनिएकाे छ ।



















