कार्तिक ७, भक्तपुर । विजया दशमीको दिन भक्तपुरको प्रसिद्ध शक्तिपीठ ब्रम्हायणीमा श्रद्धालु भक्तजनहरुको बिहान देखि नै घुइँचो लागेको छ । आ–आफ्नो घरमा दशैंको टिका र प्रसाद ग्रहण गरेपछि नवदुर्गा र ब्रम्हायणी देवीको दर्शन र पूजा गर्ने परम्परा छ ।
विजया दशमीका दिन नवदुर्गा प्रकट हुने धार्मिक मान्यता अनुसार श्रद्धालुहरु ब्रम्हायणीको दर्शन गर्न पुग्ने गरेका हुन्। ब्रम्हायणी खोलामा स्नान गरेपछि नवदुर्गा शक्तिपीठका रुपमा मानिने ब्रम्हायणीको दर्शन र पुजा गर्ने चलन छ ।
भक्तपुर लगायत काठमाडौ, ललितपुर, काभ्रे लगायत अन्य जिल्लाबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् । परम्परागत पोशाकका साथ भक्तपुरको परम्परागत धिमाय्, बासुरी बाजा, धाँबाजा लगायत अन्य बाजाहरु बजाई ब्रम्हायणीमा श्रद्धालु भक्तजनहरु आउने गरिन्छ । कोहि भक्तजन आफ्नो घरदेखि शक्तिपीठसम्म घस्रँदै, पल्टिँदै अर्थात् म्हादु दायगु र शिलामं तुलेगु गर्ने, आफ्नो शरीरमा दीप बत्ति बाल्ने समेत गर्दछन ।


















