भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाली नागरिकलाई नागरिकता दिनुमा कुनै समस्या नभएको तर प्रबासी नेपालीहरुलाई मताधिकार दिने विषयले देशलाई गम्भीर र दीर्घकालीन असर पर्ने बताउनुभयो ।
विदेशमा बस्ने लाखौं संख्याका नागरिकहरुले मतदान गर्दा विदेशीको स्वार्थ पूरा हुनेतर्फ केन्द्रित हुने बताउँदै लेण्डुपले सिक्किम भारतमा विलय गरेझैं नेपाललाई पनि भारतको अंग बनाउन भारतका शासक वर्गको स्वार्थ पूरा गर्न विदेशमा बसेकाहरुलाई मताधिकार एक राम्रो हतियार बन्ने खतरा अहिले नेपाललाई भएको बताउनुभयो ।
एमसीसी र एसपीपी नेपालको हित विपरीत भएको बताउँदै उहाँले विदेशीलाई राजनीतिक अधिकार दिनु भनेको नेपालको संसदमा विदेशीहरुको हालीमुहाली चुल्नु हो र संसद र्न विदेशीले कब्जा गर्ने स्थिति आउन सक्नेतर्फ इंगित गर्नुभयो ।
शिक्षा, स्वास्थ्य, सरसफाई, विकास निर्माणलगायतका पछाडि परेको भक्तपुर आज सबैको लागि एक आकर्षक गन्तव्यस्थल बनिरहेको बताउँदै भक्तपुर नपाले नगरको सन्तुलित विकासमा विशेष जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुरको ख्वप मोडल आज देशकै लागि गौरव र प्रतिष्ठाको विषय बनेको बताउँदै उहाँले भक्तपुरले जस्तै अन्य स्थानीय तहहरुले पनि स्वायत्त ढंगले आफ्नो क्षेत्र विकासमा जोड दिए देशको विकास पनि छिटो हुने उहाँले बताउनुभयो ।
उक्त भनाइ भक्तपुर नगरपालिका वडा नं ७ को आयोजनामा नगरस्तरीय र वडास्तरीय योजनाहरु निर्माणमा उपभोक्ता समिति र अनुगमन समितिमा बसी योगदान पुर्याउने पदाधिकारीहरुलाई कदरपत्र वितरण तथा दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा व्यक्त गर्नुभएकाे थियाे ।

















