सूर्यविनायक मन्दिरमा आज गणेश जात्रा मनाइने

0
283

असोज २, भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) का दिन परापूर्व कालदेखि मनाउँदै आएको सूर्यविनायक गणेश (इनरे गणेद्यो) को गणेश जन्मोत्सव जात्रा आज असोज २ गते मनाइने भएको छ ।

उपत्यकाको चार गणेश मध्ये जेठो गणेशको रुपमा मानिने सूर्यविनायक गणेश मन्दिरमा सूर्यविनायक क्षेत्र प्रबन्ध समिति र सूर्यविनायक युवा क्लबको संयुक्त आयोजनामा असोज २ गते जात्रा मनाउन लागिएको हो ।

हरेक वर्ष गणेश चतुर्थीको दिन सूर्यविनायक गणेशको जन्मोत्सवको रुपमा गणेशलाई खटमा राखी सिन्दुर छर्कंदै सूर्यविनायक गणेश मन्दिर क्षेत्र परिक्रमा गराई मनाइने जात्रा यस वर्ष पनि मनाउन लागिएको सूर्यविनायक युवा क्लबका अध्यक्ष मनोज गिरीले जानकारी दिए ।

बजेट व्यवस्थापनसँगै परम्परादेखि चल्दै आएको जात्रालाई पछिल्लो तीन वर्षदेखि निरन्तरता दिइएको क्लबका सल्लाहकार राजेन्द्र मिश्रले बताए । ‘आर्थिक श्रोतको कारणले जात्रा करिब करिब लोप हुने अवस्थामा पुगेको थियो, यसको संरक्षणका लागि विगत तीन वर्षदेखि स्थानीय तहबाट बजेट विनियोजन भएपछि जात्रालाई फेरि जीवन्त बनाएका हौं ।’

सूर्यविनायक नगरपालिकाको वडा नं. ८ र ६ को सिमानामा अवस्थित पुरातात्विक, ऐतिहासिक र धार्मिक महत्वको सो मन्दिरको जात्रा व्यवस्थापनका लागि यस वर्ष पनि ती दुई वडाले ३/३ लाख बजेट विनियोजन गरेको छ । यस्तै सूर्यविनायक तीनधारा (लिफ्ट) खानेपानी आयोजना र अन्य सहयोगी दाताहरुबाट पनि जात्रालाई विभिन्न सामाग्री सहयोग गरेका छन् ।

सिन्दुर जात्रा, बाजागाजासहित गरिने सो जात्राबारे नयाँ पुस्तालाई जानकारी दिन र पर्यटकीय महत्व बोकेको सूर्यविनायकको प्रचारका लागि पनि जात्रालाई निरन्तरता दिइएको सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष एवं सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here