साउन ८, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग तीन दिने नेपाल भ्रमणमा आउनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा छोङछिङ नगरपालिकाको पार्टी समितिका सचिव यूआन चियाच्युनले भेटघाट गर्नुभयो ।

जनताको सेवा गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको अनुभवबाट नेपाली जनताले सिकेको चर्चा गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले चीनबाट सम्पदा संरक्षण, फोहरमैला व्यवस्थापन, रासायनिक मल कारखाना स्थापनालगायत विषयमा सिक्न सक्ने बताउनुभयो ।
नेपाल र चीनबिचको मैत्रीपूर्ण सम्बन्ध धेरै पूरानो भएको उल्लेख गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले चीन–नेपालबिचको उच्चस्तरीय भ्रमणले दुई देशबिचको मित्रतालाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

चिनियाँ प्रतिनिधिमण्डलका नेता युआन चियाच्यूनले चीनको पूरानो मित्रसँग भेटघाटको अवसर पाएको उल्लेख गर्नुहुँदै नेमकिपाले जनताको सेवा गर्ने राजनैतिक प्रतिवद्धता र सांस्कृतिक सम्पदा संरक्षणमा समर्पणबाट आफू प्रभावित भएको बताउनुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनले चीनको भविष्यको बाटो कोरेको बताउनुहुँदै नेता युआनले अब त्यो बाटो सफलतापूर्वक अगाडि बढाउन योग्य र साहसिला कार्यकर्ताहरूको चयनमा पार्टीले जोड दिइरहेको बताउनुभयो । चिकपाको २० औँ महाधिवेशनले पार्टी निर्माणमा राजनैतिक, वैचारिक र साँगठनिक काम तथा अनुशासनको पक्षमा जोड दिएको बताउनुभयो ।
भ्रष्टाचारविरोधी आन्दोलनलाई अगाडि बढाइरहेको उल्लेख गर्नुहुँदै नेता युआनले समग्रमा २० औँ महाधिवेशनले पार्टीमा राष्ट्रपति सि चिनफीङको नेतृत्व र विचार स्थापित गरेको बताउनुभयो ।
भेटघाटमा नेमकिपाको तर्फबाट केन्द्रीय सचिव पे्रम सुवाल र केन्द्रीय सदस्य सुनिल प्रजापति सहभागी हुनुहुन्थ्यो भने चिकपाको तर्फबाट टोली नेतासँगै विदेश विभाग उपप्रमुख कुओ थचउ, छोङछिङ नगरको पार्टी स्थायी समिति सदस्यहरू छन मिङपो र लुओ लीन तथा पार्टी विदेश विभागको दक्षिण एसियाली व्यूरो प्रमुख छन सिउपीन सहभागी हुनुहुन्थ्यो ।
भेटघाट अघि पोलिटव्यूरो सदस्य यूआनलाई भक्तपुर दरबारस्क्वारमा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति, वाग्मती प्रदेश सांसद् सुरेन्द्रराज गोसाई, उपप्रमुख रजनी जोशी, कार्यकारी अधिकृत विजयकुमार शर्मा, कार्यपालिका सदस्य र वडा सदस्यहरूले स्वागत गर्नुभएको थियो ।
प्रतिनिधि मण्डलले भक्तपुरको सिंहध्वाका दरबार, पचपन्नझ्याल दरबार, पा“चतलेको मन्दिर अभिरुचीपूर्वक अवलोकन गरेको थियो । प्रतिनिधि मण्डललाई स्थानीय जनताको सांस्कृतिक टोलीहरूले परम्परागत बाजा र नृत्यमार्फत स्वागत गरेका थिए भने परम्परागत पोशाकमा दुईतिर उभिएका महिला र विद्यार्थीहरूले ताली बजाएर स्वागत गरेका थिए ।
नेता युआनको संक्षिप्त जीवनी
सन् १९६२ मा चीनको उत्तरपूर्व प्रान्त चिलीनमा जन्मनुभएका नेता युआनले पेइचिङ् अन्तरिक्ष विज्ञान प्रतिष्ठानबाट स्नातक र जर्मन अन्तरिक्ष केन्द्रबाट अन्तरिक्ष विज्ञानमा स्नातकोत्तर गर्नुभएको थियो । सन् १९९० मा चीनको अन्तरिक्ष विज्ञान कार्यक्रममा सहभागी हुनुभएका नेता युआनलाई चिनिया अन्तरिक्ष यान ‘सनचउ’ का डिजाइनर मानिन्छ ।
सन् २००७ मा वैकल्पिक केन्द्रीय सदस्यको रूपमा सक्रिय राजनीतिमा प्रवेश गर्नुअघि उनी चिनिया अन्तरिक्ष कार्यक्रमका उपप्रमुख थिए । सन् २०१७ मा केन्द्रीय सदस्य हुँदै नेता युआन सन् २०२२ मा सम्पन्न चिकपाको २० औँ महाधिवेशनपछि पोलिटव्युरो सदस्यमा छानिनुभयो । छोङ्छिङ् नगरको पार्टी सचिव हुनुअघि उनले पश्चिमी चीनको निङशिया स्वाशासित क्षेत्र र पूर्वी चीनको चचियाङ् प्रान्तमा पनि नेतृत्वदायी तहमा बसेर काम गरिसक्नुभएको छ ।


















