दशैंमा कालोबजारी रोक्न भक्तपुर नगरपालिकाद्वारा बजार अनुगमन, म्याद नाघेका खाद्यवस्तु जफत गरी नष्ट
भक्तपुर, २७ असोज। दशैंलाई लक्षित गर्दै भक्तपुर नगरपालिकाले बजारमा हुन सक्ने कालोबजारी, मूल्यवृद्धि तथा म्याद नाघेका खाद्यवस्तुको बिक्रीवितरण रोक्न कमलबिनायक क्षेत्रका ६ वटा खाद्य पसलमा बजार अनुगमन गरेको छ।
भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा गरिएको अनुगमनका क्रममा पसल दर्ता तथा नवीकरण, खाद्यवस्तुको म्याद, लेबल, सरसफाइ र मूल्य निर्धारणलगायतका विषयमा निरीक्षण गरिएको थियो। दशैंको समयमा म्याद नाघेका तथा लेबल नभएका सामान बिक्री गर्ने र जथाभावी मूल्य निर्धारण गरी उपभोक्तालाई मारमा पार्ने गतिविधि रोक्न अनुगमन गरिएको संयोजक गोराले बताउनुभयो।
अनुगमनका क्रममा पूर्ण ट्रेडर्सलाई पसल दर्ता तथा नवीकरण गर्न, सरसफाइमा ध्यान दिन र पसलका सामान पेटीमा नराख्न निर्देशन दिइएको छ। उक्त पसल भक्तपुर नगरपालिकामा किराना पसलका रूपमा दर्ता रहेको भए पनि पूर्ण ट्रेडर्सका रूपमा दर्ता गर्नुपर्ने देखिएको अनुगमन समितिले जनाएको छ।
त्यस्तै, जे. एण्ड जे. किराना पसललाई पसल नवीकरण गर्न, सरसफाइ कायम राख्न, सामान व्यवस्थित रूपमा राख्न तथा पेटीमा सामान नराख्न निर्देशन दिइएको छ। म्याद नाघेका र बिग्रिएका सामान छुट्टै राख्न पनि भनिएको छ।
जे.बी. स्टोरमा पसलका सञ्चालक उपस्थित नभएको र कामदारले आवश्यक कागजात देखाउन नसकेको पाइएपछि सम्बन्धित कागजातसहित तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिइएको छ। पसलका सामान पेटीमा नराख्न पनि भनिएको छ।
अनुगमनका क्रममा मेरो श्रेष्ठ किराना पसलबाट म्याद नाघेका नटराज दालमोठ एक प्याकेट, डीएफसी सुपर फन भुजा दुई प्याकेट, पोटाटो क्रेकर एक प्याकेट र क्विक्स चिज बल सात प्याकेट गरी जम्मा ११ प्याकेट खाद्यवस्तु जफत गरी नष्ट गरिएको छ।
त्यसैगरी, कक्षपति किराना स्टोरबाट किराले खाएको सुपारी पाँच प्याकेट, मधु गुट्खा छ प्याकेट र कर्नफ्लोर १५ प्याकेट गरी जम्मा २६ प्याकेट सामान जफत गरी नष्ट गरिएको छ। प्याकेजिङ गरिएका खाद्यवस्तु खाद्य विभागबाट आवश्यक अनुज्ञापत्र लिई उचित लेबल राखेर मात्र बिक्रीवितरण गर्न पसललाई निर्देशन दिइएको छ।
विनायक फुड स्टोर ‘ख’ श्रेणीमा दर्ता भएको पाइएपछि आवश्यक प्रक्रिया पूरा गरी ‘क’ श्रेणीमा स्तरोन्नति गर्न र सरसफाइमा ध्यान दिन निर्देशन दिइएको छ।
बजार अनुगमनमा अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्री सुवाल, ज्ञानबहादुर मानन्धर र रीता फसिकवा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी, भक्तपुर नगरपालिका सरसफाइ शाखाका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका राजन लिवी, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर खत्री, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग वाणिज्य संघका बैकुण्ठ मानन्धर, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ र घरेलु तथा साना उद्योग कार्यालयका लक्ष्मीप्रसाद कासुलाको सहभागिता रहेको थियो।
दशैंको समयमा उपभोक्तालाई गुणस्तरीय खाद्यवस्तु उचित मूल्यमा उपलब्ध गराउने तथा बजारमा हुने अनियमितता नियन्त्रण गर्ने उद्देश्यले गरिएको अनुगमनले व्यापारीलाई प्रचलित नियमअनुसार व्यवसाय सञ्चालन गर्न र उपभोक्तालाई सचेत रहन सन्देश दिएको छ।














