ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको ४७औँ वार्षिक साधारण सभा तथा अधिवेशनअन्तर्गत हुने निर्वाचनमा युवा व्यवसायी रोकेश अवालेले वाणिज्यतर्फ कार्यसमिति सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।
आगामी असोज २३ र २४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका अवाले लामो समयदेखि सूचना प्रविधि तथा व्यवसाय क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनी इन्फोवेज कम्प्युटर सिस्टमका सञ्चालक तथा गोल्डेन टेम्पल मल्टिबिजनेस प्रालिका निर्देशकका रूपमा कार्यरत छन्।
व्यवसायसँगै विभिन्न संघ–संस्थामार्फत सामाजिक गतिविधिमा समेत संलग्न रहँदै आएका अवालेले उद्योग वाणिज्य क्षेत्रको नेतृत्वमा युवाको अर्थपूर्ण र सशक्त सहभागिता आवश्यक रहेको बताएका छन्।
युवा व्यवसायीको प्रतिनिधित्व गर्दै निर्वाचनमा होमिएका अवालेले नयाँ व्यवसायीले व्यवसाय सुरु गर्दा भोग्नुपर्ने व्यवहारिक तथा कानुनी समस्यालाई आफ्नो प्राथमिकतामा राखेका छन्। विशेषगरी नयाँ व्यवसाय दर्ता गर्दा आवश्यक प्रक्रिया, सम्बन्धित निकाय र कानुनी प्रावधानबारे स्पष्ट जानकारी तथा सहजीकरण गर्ने उनको प्रतिबद्धता छ।
त्यस्तै, साना तथा मझौला व्यवसायीका समस्या सम्बन्धित सरकारी तथा नीतिगत निकायसम्म पुर्याई समाधानका लागि पहल गर्ने, प्रविधिको प्रयोगमार्फत व्यवसायलाई आधुनिक र प्रतिस्पर्धी बनाउने तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि काम गर्ने अवालेले बताएका छन्।
निर्वाचनमार्फत उद्योग तथा वाणिज्य क्षेत्रको वर्तमान आवश्यकता सम्बोधन गर्दै नयाँ पुस्ताका व्यवसायीको आवाजलाई संस्थागत रूपमा अघि बढाउने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ।














