ख्वप कलेज अफ इन्जिनियरिङद्वारा ८८ जना विद्यार्थीहरुलाई रु. ३९ लाख ४० हजार छात्रवृत्ति वितरण

0
190
ख्वप कलेज अफ इन्जिनियरिङद्वारा ८८ जना विद्यार्थीहरुलाई रु. ३९ लाख ४० हजार छात्रवृत्ति वितरण

साउन ३, भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई रु. ३९ लाख ४० हजार बराबरको छात्रवृत्ति रकम आज एक कार्यक्रमबीच वितरण गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत ८८ जना विद्यार्थीहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त छात्रवृत्ति रकम विद्यार्थीहरुलाई हस्तान्तरण गर्नुभयो ।
छात्रवृत्ति वितरण गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कलेजबाट प्रदान गरिने छात्रवृत्तिले गरिब र जेहेनदार विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न अवसर मिलेको बताउँदै सेमेष्टर उत्कृष्ट विद्यार्थीहरुले पनि छात्रवृत्तिमा अध्ययन गर्न पाउनु आफैमा ठूलो उपलब्धी भएको बताउनुभयो । कति विद्यार्थीहरुले झुटो विवरण बुझाएर छात्रवृत्ति लिने प्रयास भएको बताउँदै छात्रवृत्रि रकमको भरपुर सदुपयोग गरी आफ्नो अध्ययन पूरा गर्न विद्यार्थीलाई प्रेरित गर्नुभयो ।
ख्वप विश्वविद्यालय भक्तपुरबासीको मात्र नभई सबैको साझा माग हो भन्दै उहाँले सरकारले छिटो भन्दा छिटो ख्वप विश्वविद्यालय सञ्चालनको लागि स्वीकृति प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
इन्जिनियरहरुले पैसा कमाउने र जागिर पाउने मात्र नभइ समाजमा स्थापित इन्जिनियर भई काम गर्नुपर्नेमा जोड दिँदै उहाँले विद्यार्थीहरुले नैतिकता, अनुशासन र कर्तव्यप्रति दृढ भएर सोच्नुपर्ने बताउनुभयो ।
उच्च शिक्षा हासिल गर्न वर्षेनि लाखौं विद्यार्थी विदेशिँदै गर्दा नेपालका विश्वविद्यालयहरुमा विद्यार्थी संख्या घट्दै गएको र कलेजहरु समेत संकटमा पर्दै गएको बताउँदै उहाँले विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्ने अवसर नेपालमै बनाउन सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नंं ९ का वडाध्यक्ष तथा छात्रवृत्ति सिफारिस समितिका संयोजक रबिन्द्र ज्याख्वले नगरपालिकाले सञ्चालन गरेका विभिन्न शैक्षिक संस्थाहरुले त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई वार्षिक ४ करोड भन्दा बढी रकम बराबरको छात्रवृत्ति वितरण गर्दै आइरहेको बताउँदै नयाँ पुस्तालाई प्राज्ञिक रुपबाट योग्य बनाई समाजप्रति उत्तरदायी बनाउने कलेज स्थापनाको उद्देश्य रहेको बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले विद्यार्थीहरुले विषयगत ज्ञान सँगसँगै व्यवहारिक ज्ञान हासिल गरी इन्जिनियरिङ क्षेत्रमा उत्कृष्ट कार्य गर्न मार्गनिर्देशन गर्नुभयो । उहाँले छात्रवृत्ति रकमको सदुपयोग गरी देश र समाजप्रति थप जिम्मेवार भई अध्ययन गर्न प्रेरित गर्नुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुको उद्देश्यमाथि प्रष्ट पार्दै छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरुले समाज र देशको लागि सेवा गर्ने विषयमा पनि चिन्तन गर्नु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापति र लेखा शाखा प्रमुख काजीबहादुर पञ्चले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here