गाईजात्राको सुरक्षा चुनौती र व्यवस्थापनबारे नागरिकसँग अन्तरक्रिया

0
35
गाईजात्राको सुरक्षा चुनौती र व्यवस्थापनबारे नागरिकसँग अन्तरक्रिया

भक्तपुर, साउन ३१ । भक्तपुरमा आगामी गाईजात्रा पर्वलाई शान्त, सुरक्षित तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्ने विषयमा नागरिक सुनुवाइ कार्यक्रम गरिएको छ।

समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत जिल्ला प्रहरी परिसर भक्तपुरको आयोजनामा भक्तपुर नगरपालिका–३ स्थित जिल्ला प्रहरी परिसर भक्तपुरको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम जिल्ला प्रहरी परिसर भक्तपुरका प्रनाउ दीपक कुमार कार्कीको अध्यक्षता तथा भक्तपुर नगरपालिका–४ का वडा अध्यक्ष उपेन्द्र सुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा स्थानीय भद्रभलाद्मी, जनप्रतिनिधि तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। आगामी गाईजात्राका क्रममा हुन सक्ने सम्भावित सुरक्षा चुनौती, भीड व्यवस्थापन, ट्राफिक व्यवस्थापन, जात्रा सञ्चालनका क्रममा अपनाउनुपर्ने सुरक्षा सावधानी तथा शान्ति–सुरक्षासम्बन्धी विषयमा सहभागीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा प्रनाउ कार्कीले शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकको सुरक्षा प्रहरीको प्रमुख प्राथमिकता रहेको बताउँदै गाईजात्रालाई शान्त, सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा योजना तयार पारिएको जानकारी दिनुभयो। संवेदनशील तथा भीडभाड हुने स्थानमा प्रहरी परिचालन, नियमित गस्ती तथा आवश्यकताअनुसार ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाइने उहाँले बताउनुभयो।

त्यस्तै, स्थानीय क्षेत्रमा कुनै गैरकानुनी वा शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई सूचना उपलब्ध गराउन उहाँले नागरिकसँग आग्रह गर्नुभयो।

प्रहरी र समुदायबीचको निरन्तर समन्वय र सहकार्यबाट मात्रै सुरक्षित समाज निर्माण गर्न सकिनेमा जोड दिँदै कार्यक्रममा गाईजात्रालगायत धार्मिक तथा सांस्कृतिक पर्वलाई शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न स्थानीय नागरिक, जनप्रतिनिधि, संघसंस्था, व्यवसायी, युवा तथा सम्पूर्ण सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताइएको थियो।

प्रहरी र समुदायबीच हातेमालो गर्दै शान्त, सुरक्षित, सभ्य तथा अपराधरहित समाज निर्माण गर्ने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here