केदारनाथ बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा गर्दै करिब ८५ लाख रुपैयाँ नाफा गरेको जनाएको छ।
कार्यक्रममा आगामी वर्षको बजेट यथार्थपरक, जोखिम व्यवस्थापनमुखी र उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित हुनुपर्नेमा जोड दिइयो।
भक्तपुर, २९ साउन । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८३/०८४ को अनुमानित बजेट एवं कार्ययोजना कार्यक्रम सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष राजुभाइ तजल्याको सभापतित्व तथा सल्लाहकार रामकृष्ण प्रजापतिको प्रमुख आतिथ्यमा शुक्रबार संस्थाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले कुनै पनि संस्थाको कार्यसम्पादनमा भएका उपलब्धि, कमजोरी तथा सुधारका पक्षलाई निष्पक्ष र गम्भीर रूपमा विश्लेषण गर्नु नै समीक्षा भएको बताउनुभयो। उहाँले पछिल्लो समय मुलुक आर्थिक मन्दीको अवस्थाबाट गुज्रिरहेको अवस्थामा सहकारीलाई चुस्त, दुरुस्त र मजबुत रूपमा अघि बढाउन सञ्चालक तथा कर्मचारीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो।
सहकारीसम्बन्धी ज्ञान, मूल्य–मान्यता, सिद्धान्त, सहकारी ऐन, विनियम तथा संस्थाको आन्तरिक कार्यविधिबारे सञ्चालक, कर्मचारी र सदस्यलाई निरन्तर सिक्ने–सिकाउने वातावरण आवश्यक रहेको उहाँको भनाइ थियो। सहकारीको अर्थ नै सहकार्य भएकाले संस्थाले वित्तीय कारोबारमा मात्र सीमित नभई देश र समाजको आवश्यकता पूरा गर्ने उत्पादनमूलक तथा सामाजिक कार्यक्रमसमेत सञ्चालन गर्नुपर्ने उहाँले जोड दिनुभयो।
बजेट तथा कार्ययोजनाका विषयमा बोल्दै प्रजापतिले वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राखेर बचत तथा ऋण सहकारीको बजेट यथार्थपरक, जोखिम व्यवस्थापनमुखी र तरलता संरक्षणमा केन्द्रित हुनुपर्ने बताउनुभयो। बजेट निर्माण गर्दा आय र खर्च दुवै पक्षलाई सावधानीपूर्वक योजना बनाउनुपर्ने उहाँको भनाइ थियो।
उहाँले बजेट निर्माणका आधारमा पछिल्ला तीन वर्षको वास्तविक आय–व्ययको विश्लेषण, बचत तथा ऋणको वार्षिक वृद्धिको लक्ष्य, खराब कर्जा (एनपीएल) नियन्त्रण, आवश्यक तरलता अनुपात कायम तथा सञ्चालन खर्च नियन्त्रणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। सहकारीको बजेट आय–व्ययको अनुमान मात्र नभई संस्थाको वार्षिक कार्ययोजना र आर्थिक दिशानिर्देशसमेत भएको उहाँले स्पष्ट पार्नुभयो।
त्यस्तै, सहकारीका सिद्धान्त तथा मूल्य, कानुनी आधार, संस्थाको रणनीतिक योजना, विगतका वर्षको वित्तीय विश्लेषण, यथार्थपरक अनुमान, मितव्ययिता, खर्च नियन्त्रण, जोखिम व्यवस्थापन तथा कार्यक्रमअनुसार स्पष्ट लक्ष्य निर्धारण गरी कार्यसम्पादनमा आधारित बजेट निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। यसरी तयार गरिएको बजेटले संस्थामा आर्थिक अनुशासन, पारदर्शिता, दिगोपन र सदस्यको विश्वास कायम गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।
कार्यक्रममा अर्का सल्लाहकार रामकृष्ण छुस्याबागले व्यापार–व्यवसाय ओरालो लागेको अवस्थामा समेत संस्थाले राम्रो प्रगति हासिल गरेको भन्दै बधाई दिनुभयो। उहाँले आगामी दिनमा संस्थाले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै ‘आदर निकेतन’ स्थापना गर्ने विषयमा समेत सोच्नुपर्ने सुझाव दिनुभयो।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष साजन कसपालले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनअनुसार संस्थाले समीक्षा अवधिमा करिब ८५ लाख रुपैयाँ नाफा गरेको जानकारी दिइएको थियो।
अध्यक्ष राजुभाइ तजल्याको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक दयाराम तजलेले गर्नुभएको थियो।
















