भक्तपुर, श्रावण २७ । भक्तपुर नगरपालिका–२, खौमास्थित इन्द्रायणी द्योछेको मन्दिर पुनःनिर्माण सम्पन्न भएको छ। पुनःनिर्माण सम्पन्न भएपछि मन्दिर उद्घाटन तथा क्षमा पूजा गर्न गठित अतिथि सत्कार एवं महिला स्वयंसेवक उपसमितिको आयोजनामा स्थानीय महिलाहरूको भेला सम्पन्न भएको हो।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर कला, संस्कृति र सम्पदाको जीवन्त नगर भएको चर्चा गर्दै भक्तपुरलाई आन्तरिक तथा बाह्य पर्यटकको केन्द्रबिन्दु बनाउन सबै नगरवासी मिलेर काम गर्नुपर्ने बताइन्।
उनले भक्तपुरको प्रमुख विशेषता नै यहाँका जात्रा, पर्व तथा सांस्कृतिक गतिविधिमा स्थानीयवासीले सामूहिक भावनाका साथ सहभागिता जनाउनु रहेको बताइन्। नयाँ पुस्तालाई परम्परा, कला, संस्कृति र सम्पदा संरक्षणप्रति सचेत तथा सहयोगी बनाउन आवश्यक रहेकोमा पनि उनले जोड दिइन्।
भक्तपुर नगरपालिका–२ का वडाध्यक्ष हरिप्रसाद बासुकलले नगरपालिकाले सम्पदा संरक्षणलगायत विकास निर्माणका कार्य उपभोक्ता समितिमार्फत सञ्चालन गर्दा काममा दिगोपना, विश्वसनीयता र पारदर्शिता बढ्नुका साथै स्थानीयवासीमा अपनत्वको भावना विकास हुने बताए। उनले वडा कार्यालयमार्फत भइरहेका विभिन्न विकास निर्माणका कार्यबारे पनि जानकारी गराए।
उपसमितिका अध्यक्ष मन्जु लाखाजुको संयोजकत्वमा भएको कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष विनोद चरण राईले पुनःनिर्माण तथा निर्माण कार्यमा अपनाइएको पारदर्शिताबारे जानकारी गराए।
कार्यक्रममा ३ वडाका वडा सदस्य सुनिता अवाल र कृष्णश्वरी हाडाले पनि बोल्नुभएको थियो ।
वडा नं २ मा महिला भेला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
















