सुकुन्दा साकोसद्वारा आयोजित तीनदिने कृत्रिम बौद्धिकता तालिम सम्पन्न

0
93


भक्तपुर, असार ७ । भक्तपुर नगरपालिका वडा नं ७ जगाती स्थित सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लिमिटेड (सुकुन्दा साकोस) को आयोजनामा तीनदिने कृत्रिम बौद्धिकता (Artificial Intelligence–AI) सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा संस्थाका व्यवस्थापक सानुकाजी चिकंबजारले प्रविधिको तीव्र विकाससँगै सहकारी क्षेत्रले पनि डिजिटल रूपान्तरणलाई आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याउँदै सदस्य तथा कर्मचारीहरूलाई नवीन प्रविधिको प्रयोगमा दक्ष बनाउने यस्ता तालिमहरू समयसापेक्ष र अत्यन्त उपयोगी रहेको धारणा व्यक्त गरे।
तालिमका प्रशिक्षक श्रीराम कासिछवाले कृत्रिम बौद्धिकता आजको आवश्यकता मात्र नभई भविष्यको आधारसमेत रहेको उल्लेख गर्दै यसको जिम्मेवार र रचनात्मक प्रयोगमा जोड दिएका थिए। उनले AI ले मानव क्षमतालाई प्रतिस्थापन गर्नेभन्दा पनि थप सशक्त र प्रभावकारी बनाउने भएकाले यसको सही उपयोग आवश्यक रहेको बताए।

समापन समारोहलाई सम्बोधन गर्दै संस्थाका उपाध्यक्ष केशव कवांले प्रविधिमैत्री संस्था निर्माणका लागि यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्दै तालिमलाई सफल बनाउन योगदान पुर्‍याउने प्रशिक्षक, सहभागी तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरे।
कार्यक्रम सभापति तथा संस्थाका अध्यक्ष राजभाइ माकले प्रविधिको सही र जिम्मेवार प्रयोगबाट मात्र समृद्ध, सक्षम तथा प्रतिस्पर्धी समाज निर्माण सम्भव हुने उल्लेख गर्नुभयो । तालिम निक्कै व्यवहारिक रहेको उल्लेख गर्नुहुदै उहाँले ए आई तालिम अहिलेको अपरिहार्य आवस्यकता रहेको चर्चा गर्नुभयो ।
सहभागीहरूको तर्फबाट प्रतिक्रिया व्यक्त गर्दै प्रशिक्षार्थी श्रीजना सुवालले तालिमबाट कृत्रिम बौद्धिकतासम्बन्धी नयाँ ज्ञान हासिल भएको तथा दैनिक कार्यसम्पादनलाई अझ सहज, छिटो र प्रभावकारी बनाउन AI उपयोगी रहेको बताइन्। अर्का प्रशिक्षार्थी तुल्सिराम ग्वाछाले आगामी दिनमा यस्ता थप व्यावहारिक तथा सीपमूलक तालिमहरूको आवश्यकता रहेको धारणा राखे।
तालिममा २० जना प्रशिक्षार्थीहरुको सहभागी रहेको थियो भने संस्थाका अध्यक्षले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै कृत्रिम बौद्धिकताको प्रयोग र महत्व बढ्दै गएको वर्तमान सन्दर्भमा संस्थाका सदस्य, कर्मचारी तथा सरोकारवालाहरूलाई नवीन प्रविधिसँग परिचित गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजक समितिले जनाएको छ । कार्यक्रममा इन्द्र प्रसाद पक्का र जिवन सुवालले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here