ललितपुर, ५ असार । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजैका मितिदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा ‘बर्ड फ्लु’ (Bird Flu) को संक्रमण पुष्टि भएपछि चिडियाखाना बन्द गरिएको हो ।
ललितपुर महानगरपालिका वडा नं. ४ को कार्यालयले एक आकस्मिक सूचना जारी गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाको पत्रानुसार यो निर्णय गरिएको जनाएको छ । चिडियाखाना प्रशासनले पठाएको पत्रानुसार त्यहाँका पशुपक्षीमा बर्ड फ्लु देखिएकाले आम सर्वसाधारण तथा दर्शकहरूको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै अवलोकन कार्य बन्द गरिएको वडा अध्यक्ष सन्तोष खड्काले जानकारी दिनुभयो ।
वडा कार्यालयका अनुसार मिति २०८३ असार ५ गते (तछलाथ्व पञ्चमी) देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना पूर्ण रूपमा बन्द रहनेछ । साथै, वडा कार्यालयले बर्ड फ्लुको जोखिमलाई ध्यानमा राख्दै आम जनमानसलाई सजग र सचेत रहन समेत अपिल गरेको छ ।



















