भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा व्यासीदेखि कमलबिनायक हुँदै लान्चाफल्चासम्म रहेका ८ वटा ग्यास पसलमा बजार अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा अधिकांश पसलहरू नगरपालिकामा दर्ता नविकरण नगरी सञ्चालन गरेको पाइएको छ । केही पसलहरूले किराना तथा भाँडाकुँडा पसलमा दर्ता गरी ग्यास बिक्री गरिरहेको समेत भेटिएको छ ।
अनुगमन टोलीले म्याद गुज्रिएका ग्यास सिलिण्डर नराख्न, कृत्रिम अभाव सिर्जना गरी महँगोमा बिक्री नगर्न, ग्राहकको सूची राखी वितरण गर्न तथा अति आवश्यक ग्राहकलाई कम्पनी फरक भए पनि ग्यास उपलब्ध गराउन निर्देशन दिएको छ । साथै, ग्यास सिलिण्डर पेटीमा नराख्न पनि सुझाव दिइएको छ ।
महाकाली ग्यास सप्लायर्स, श्री महालक्ष्मी ग्यास पसल, नगांचा ग्यास पसल, अनुप ग्यास पसल लगायतका पसलहरूलाई तीन दिनभित्र दर्ता नविकरण गर्न निर्देशन दिइएको छ । न्यू प्रजापति इन्टरप्राइजेज र साखकर्मी किराना पसललाई ग्यास पसलको छुट्टै दर्ता गर्न भनिएको छ भने सौजन स्टोरलाई कागजातसहित नगरपालिकामा उपस्थित हुन भनिएको छ ।
अनुगमन टोलीमा वडा सदस्य रोशनमैया सुवाल, श्यानिटेशन उपशाखा प्रमुख दिलिप कुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर शाखाका प्रभाष कुमार चालिसे, प्रहरी सहायक निरीक्षक तेज प्रसाद खतिवडा लगायत विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


















