भक्तपुर, चैत १ । सार्वजनिक माध्यमिक विद्यालय, संयुक्त परीक्षा समिति, भक्तपुरको वार्षिक क्यालेण्डर अनुसार श्री पञ्चकन्या माध्यमिक विद्यालय, सुडालको आयोजनामा निबन्धलेखन प्रतियोगिता सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि सार्वजनिक मा.वि., संयुक्त परीक्षा समिति, भक्तपुरका अध्यक्ष एवम् शाारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक रोशनराज तुईंतुईंले वार्षिक क्यालेण्डरअनुसार निर्धारित सम्पूर्ण कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भएको र यसका लागि आवश्यक संयोजन तथा सफल आयोजना गर्नुहुने सबै विद्यालयलाई हार्दिक धन्यबाद ज्ञापन गर्नुभयो । भदौको आन्दोलनका कारण शटपुट कार्यक्रम एउटा हुन नसकेपनि यसपटक विद्यार्थी केन्द्रीत मात्र नभई शिक्षककेन्द्रीत कार्यक्रम पनि आयोजना भएको उहाँले स्मरण गराउनुभयो ।
संयुक्त परीक्षा समितिबाट आयोजना गरिने यस्ता अतिरिक्त क्रियाकलापबाट राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन भईसकेको तथ्य पनि उहाँले सगर्व सुनाउनुभयो ।
कार्यक्रमका अतिथि वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले समितिका कार्यक्रमहरु प्रतिष्पर्धा गर्ने थलो मात्र नभई मित्रता, अनुशासन र पहिचान साटासाट गर्ने मञ्च पनि भएको तर्क राख्नुभयो ।
कार्यक्रमका अतिथि बासु मा.वि.का प्रधानाध्यापक रविलाल प्रधानले सहकार्य, सद्भाव र समझदारीमा कार्यक्रमहरु हुँदै आएको कुरा राख्नुभयो ।
सभापतिको आसनबाट आयोजक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद दुलालले प्रतियोगिता हारजित भन्दा पनि त्यसमा सहभागी हुनु नै महत्वपूर्ण हुने कुरा राख्दै कार्यक्रमको जिम्मेवारी दिनुहुने सार्वजनिक मा.वि., संयुक्त परीक्षा समिति, भक्तपुर र कार्यक्रममा निर्णायकको जिम्मेवारी निभाउनुहुने निर्णायक मण्डल तथा विद्यालयका शिक्षक एवम् कर्मचारी सम्पूर्णमा धन्यबाद ज्ञापन गर्नुभयो ।
विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश तजलेले स्वागत तथा सञ्चालन गर्नुभएको कार्यक्रममा प्राविधिक रुपले शिक्षक सुनिल कोजूलेसाथ दिनुभएको थियो । शिक्षकद्वय शुशिला बानियाँ र सुनिता कार्कीले अतिथि सत्कार तथा पुरस्कार व्यबस्थापनमा सहयोग गर्नुभयो भने खाजा व्यबस्थापनमा सबै सरम्यामको सहयोग रहेको थियो ।
आत्मपरक र वस्तुपरक विषय दिईएको निबन्ध लेखन प्रतियोगितामा गोलाप्रथाद्वारा छात्रलाई आत्मपरक निबन्ध र छात्रालाई वस्तुपरक निबन्ध परेको थियो । आत्मपरक निबन्ध अन्तर्गत “मैले सोचेको पुग्ने भए…” शिर्षक र वस्तुपरक निबन्ध अन्तर्गत “प्राविधिक शिक्षा आजको आवश्यकता” शिर्षक रहेको प्रतियोगितामा मूल्यांकनका लागि दुईवटा छुट्टाछुट्टै निर्णायक समिति बनेको थियो । जसमा छात्र निबन्ध मूल्यांकनमा चन्द्रशोभा खर्बुजा, लक्ष्मी सुवेदी र रामलक्ष्मी अवालको मूल्यांकन समिति र छात्रा निबन्ध मूल्यांकनमा कपिल के.सी., रञ्जना गिरी र तुलसी कठायतको मूल्यांकन समिति रहेको थियो ।
प्रतियोगितामा छात्रतर्फ देवी मा.वि.का ईसब खड्का प्रथम, शाारदा मा.वि.का हरी थापा मगर द्वितीय, श्री गणेश मा.वि. छालिङका देवप्रकाश जैसी तृतीय र भुवनेश्वरी मा.वि.का सुमन मानन्धर सान्त्वना हुन सफल भए भने छात्रातर्फ विद्यार्थी निकेतन मा.वि.का मनिषा तामाङ प्रथम, वागीश्वरी मा.वि.का सुबिना श्रेष्ठ द्वितीय, श्री गणेश मा.वि. छालिङका दिब्या सिन्केमनी तृतीय र सरस्वती विद्यागृह मा.वि. का निलम शााही सान्त्वना हुन सफल भए ।
विजयी हुने सबैलाई प्रमुख अतिथि रोशनराज तुईंतुईं, अतिथि रविलाल प्रधान, अतिथि कृष्णप्रसाद कर्माचार्य र सभापति एवम् नारायणप्रसाद दुलालले पुरस्कार, प्रमाण-पत्र, मेडल र टिकाले सम्मान गर्दै विजयी सम्पूर्णमा समाज, राष्ट्र र जनहितमा सकारात्मक सन्देशसहितको लेखमा निरन्तरता दिईरहन सकोस् भन्ने शुभकामना सहित उहाँहरुले हार्दिक बधाई ज्ञापन पनि गर्नुभयो ।


















