काठमाडौँ, ३ फागुन – नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। शङ्खमूल काठमाडौँमा आयोजित विशेष कार्यक्रममा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले “देश र जनताको निःस्वार्थ सेवा गरौँ, समाजवादी प्रचार अभियानलाई अगाडि बढाऔँ” भन्ने मूल नारासहित घोषणापत्र सार्वजनिक गर्नुभयो।
अध्यक्ष बिजुक्छेँले निर्वाचनलाई जनतालाई राजनीतिक र वैचारिक रूपमा सचेत र सङ्गठित गर्ने महत्वपूर्ण अवसरको रूपमा व्याख्या गर्दै नेमकिपाले संसदमा प्रखर प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले प्रजातन्त्र सत्तामा बस्ने पार्टीहरूको मनपरीतन्त्र नभई जनताको हितमा ऐन–कानुन निर्माण गर्ने व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो। घोषणापत्र अध्ययन नगरी अन्ध समर्थनमा मतदान नगर्न जनतालाई आग्रह गर्दै उहाँले देश र जनताको इमानदार सेवा गर्ने दललाई मत दिनुपर्ने बताउनुभयो।
कार्यक्रममा पार्टी सचिव प्रेम सुवाल ले घोषणापत्रका मुख्य बुँदाबारे जानकारी दिँदै नेमकिपा स्थापना कालदेखि किसान आन्दोलन, राष्ट्रिय स्वाधीनताको रक्षा र साम्राज्यवादविरोधी आन्दोलनमा सक्रिय रहेको उल्लेख गर्नुभयो। उहाँले भ्रष्टाचारविरुद्ध कडा कानुनी व्यवस्था, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण, भूमिसुधार, योग्यताअनुसार काम र कामअनुसार ज्यालाको सुनिश्चितता जस्ता विषयमा पार्टी स्पष्ट रहेको बताउनुभयो।
साथै, देशको सन्तुलित विकासका लागि दुर्गम क्षेत्रमा रोपवे, केबुलकार, रेलमार्ग र सुरूङमार्ग विस्तार गर्नुपर्नेमा जोड दिइएको छ। काठमाडौँलाई सांस्कृतिक नगरको रूपमा विकास गर्नुपर्ने र निर्वाचित जनप्रतिनिधि आफ्नै जिल्लामा बसेर जनताको सेवा गर्नुपर्ने धारणा पनि कार्यक्रममा राखिएको थियो।
नेमकिपाले यो निर्वाचनलाई समाजवादी गणतन्त्र प्रचार अभियानका रूपमा लिँदै सदन र सडक दुवैमा देश र जनताको पक्षमा सङ्घर्ष जारी राख्ने प्रतिबद्धता जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















