भक्तपुर, मंसिर ३ । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा बुधबार “समसामयिक विषय तथा नयाँ पुस्ताको आन्दोलन” विषयक प्रवचन कार्यक्रम सम्पन्न भयाे ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिका–५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छेंले देशको वर्तमान राजनीतिक परिवेश र सत्तारुढ दलहरूको चरित्रका कारण नयाँ पुस्तामा विद्रोह र आन्दोलनको भावना उत्पन्न भएको बताउँदै सामाजिक उत्तरदायित्व र सामूहिकताको आवश्यकता औंल्याउनुभयो। उहाँले व्यक्तिगत विकास मात्रमा केन्द्रित सोच पूँजीवादी धारणा भएको उल्लेख गर्दै सामूहिकताको अभ्यास नै मार्क्सवादी दृष्टिकोण भएको बताउनुभयो। साथै अमेरिकामा रियलस्टेट व्यवसायी डोनाल्ड ट्रम्पविरुद्ध समाजवादी विचारधारा बोकेको जोहरान ममदानीको विजय त्यहाँका सर्वसाधारणको आवास समस्यासँग जोडिएको राजनीतिक परिणाम भएको तर्क प्रस्तुत गर्नुभयो।
वडाध्यक्ष विजुक्छेंले चीनले कम्युनिस्ट सिद्धान्तमार्फत गरीबी उन्मूलन गरेको उदाहरण दिँदै निकट भविष्यमा विश्व शक्तिको रूपमा चीन उदाउने विश्लेषण गरे। उहाँले नेपालमा विदेशी हस्तक्षेपबारे विभिन्न आशंकाहरू उठेपनि, तथ्यगत प्रमाण बिना निष्कर्ष निकाल्न नहुने धारणा राख्नुभयो। सिद्धान्त र संगठनविहीन आन्दोलन टिकाउ नहुने बताउँदै उहाँले युवाहरूलाई अध्ययनशील र संगठित हुन आग्रह गर्नुभयो।
कार्यक्रममा भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका सदस्य समेत रहनुभएका वडा अध्यक्ष उपेन्द्र सुवालले भक्तपुरलाई एसियाकै सफा नगरका रूपमा स्थापित गर्न नेपाल मजदुर किसान पार्टीका अग्रजहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, सरसफाइ तथा खेलकुद क्षेत्रमा आमूल परिवर्तन सम्भव भएको बताउनुभयो। साथै मंसिर २५ गतेदेखि विद्यालय स्तरिय नगरव्यापी खेलकुद प्रतियोगिता सुरु हुने जानकारी दिनुभयो।
भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गौतम सुजखुले गर्नुभएको थियो। संघले सदस्यहरूको क्षमता अभिवृद्धिका लागि प्रत्येक महिनामा विशेषज्ञद्वारा नियमित प्रवचन कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी अध्यक्ष प्रजापतिले दिनुभयो।


















