ललितपुर, भदौ ६ ।
मदन पुरस्कार गुठीको साधारण सभाले वर्ष २०८१ को मदन पुरस्कार कवि छुदेन काविमोद्वारा लिखित कृति “उरमाल” लाई अर्पण गर्ने निर्णय गरेको छ ।
गुठीको अनुसार २०८१ सालमा प्रकाशित २९९ पुस्तकहरूमध्ये सात पुस्तक छनोटमा परेका थिए । तिनमध्ये “उरमाल” विजयी बनेको हो । अन्य उत्कृष्ट सूचीमा परेका कृतिहरूमा रमेश भुसालको छालबाटो : कैलाशदेखि गङ्गासम्म, कुमारी लामाको दर्ज्य संलाप, मनप्रसाद सुब्बाको पञ्चतत्त्वको पालाम, श्रेयज सुवेदीको बहुरुपी, सुधीर शर्माको भिक्षु, व्यापार र विद्रोह : नेपालको भोट–चीन सम्बन्ध र भारत तथा तीर्थ गुरुङको हिउँको गीत रहेका थिए ।
त्यसैगरी, लोक-संस्कृति क्षेत्रमा पाँच दशकदेखि सक्रिय रहँदै आएका श्री प्रेमदेव गिरी लाई “लोक भाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान” गरेको कारण वर्ष २०८१ को जगदम्बा-श्री पुरस्कार अर्पण गर्ने निर्णय गरिएको गुठीले जनाएको छ ।
वि.सं. २०१२ मा स्थापना भएको मदन पुरस्कार पहिलोपटक २०१३ सालमा प्रदान गरिएको थियो । त्यतिबेला सत्यमोहन जोशीको हाम्रो लोकसंस्कृति, चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादक पुस्तकलाई यो सम्मान अर्पण गरिएको थियो ।
यस्तै, रानी जगदम्बाको निधनपछि उनको स्मृतिमा २०४५ सालदेखि जगदम्बा-श्री पुरस्कार स्थापना भएको हो । सो पुरस्कार पहिलोपटक गायक नारायण गोपाललाई अर्पण गरिएको थियो ।
मदन पुरस्कार नेपाली भाषामा प्रकाशित उत्कृष्ट पुस्तकलाई दिइन्छ भने, जगदम्बा-श्री नेपाली भाषा, वाङ्मय तथा संस्कृतिको विकासमा योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।


















