भक्तपुरमा सुनचाँदी व्यवसायीको विरोध र्‍याली

0
283

भक्तपुर, असार १७ । भक्तपुर सुनचाँदी व्यवसायी संघ (Bhaktapur Gold & Silver Dealer’s Association) को आयोजनामा आ.ब. २०८२/८३ को बजेट वक्तव्यमा सुन, सुनका गहना, बहुमूल्य हिरा तथा पत्थरमा गरिएको करको विरोधमा भक्तपुरमा बृहत विरोध र्‍याली सम्पन्न भएको छ।

सरकारले बजेट वक्तव्यमार्फत सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा-पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागु गर्ने निर्णयको विरोधमा व्यवसायीहरु सडकमा उत्रिएका हुन्।

र्‍याली आज बिहान भक्तपुरको सुर्यमढीबाट सुरु भई दत्तात्रय, इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, वशंगोपाल, भावाचो हुँदै दुधपाटीमा पुगेर सम्पन्न भएको थियो।

कार्यक्रममा व्यवसायीहरु, संघका पदाधिकारी, युवा व्यवसायी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। उनीहरूले “सुनचाँदी काराेबारकाे लागि प्रष्ट नीति नियमावली निर्माण गर”, “सुन विलासितता हाेइन”, “सुनकाे भन्सार दर ६ प्रतिशत कायम गर” जस्ता नारा लगाउँदै विरोध जनाएका थिए।

संघले सरकारसँग बजेट पुनरावलोकन गरी सो कर खारेज गर्न माग गर्दै, यस्ता निर्णयले साना तथा मझौला व्यवसायमा प्रत्यक्ष असर पार्ने जनाउँदै चेतावनीसमेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here