गाईजात्रा तयारीस्वरुप भक्तपुरका संस्कृतिकर्मीहरूको भेला कार्यक्रम

0
439

भक्तपुर,श्रावण २१ । नजिकिँदै गरेको गाईजात्रा २०८१ को तयारीस्वरुप भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार भक्तपुरका संस्कृतिकर्मीहरूको भेला कार्यक्रम सम्पन्न भयो । ऐतिहासिक एवम् सांस्कृतिक नगर भक्तपुरको सांस्कृतिक विधाहरूको संरक्षण र सम्बद्र्धन गर्न विगतका वर्षहरूमा झैं यस वर्ष पनि भक्तपुर नगरपालिकाल सापारुको दिन घिन्ताङघिसी र माक प्याखँ तथा कृष्णाष्टमीसम्म परम्परागत एवम् आधुनिक विधाका सांस्कृतिक प्रस्तुतीहरूको मूल्यांकन गरी पुरस्कृत गर्ने निर्णय गरेको छ ।

भेलामा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले परम्परागत र आधुनिक विधाका सांस्कृतिक प्रस्तुतीहरूलाई जीवन्त राख्न भक्तपुर नपाले यस वर्ष पनि सांस्कृतिक प्रस्तुतीहरूको मूल्यांकन गरी पुरस्कारको व्यवस्था गरेको बताउनुभयो ।

भक्तपुर सांस्कृृतिक नगरको रुपमा विकास हुँदै आएको बताउँदै उहाँले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमध्ये करिब २५ प्रतिशत पर्यटकहरू भक्तपुर भ्रमणमा आएको बताउँदै नपाले आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि जोड दिँदै आएको बताउनुभयो ।

उहाँले भक्तपुरका परम्परागत चाडपर्व, जात्रा संस्कृति आदिलाई प्रगतिशील ढंगले अगाडि बढाउन जरुरी रहेको बताउँदै भक्तपुरका अमूर्त सम्पदाहरूको जगेर्नामा पनि नपाले विशेष प्राथमिकताका साथ अगाडि बढिरहेको बताउनुभयो ।

उक्त कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, भनपा ७ का वडाध्यक्ष उकेश कवां, भनपा ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँलगायतले गाईजात्रा पर्वलाई सभ्य र भव्य बनाउन संस्कृतिकर्मीहरूको तर्फबाट आवश्यक सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपस्थित संस्कृतिकर्मीहरूले सापारु एक दिनमात्र घिन्ताङघिसी लाने व्यवस्था गर्नुपर्ने, गाईजात्रा रुटमा रहेका निर्माण सामाग्री र अव्यवस्थित तारहरूको व्यवस्थापन गर्नुपर्ने, नयाँ पुस्ताका लेखक तथा कलाकारहरू तयार गर्नुपर्ने, बाजाहरूको बोलमा एकरुपता ल्याउनुपर्ने, सापारुको दिन स्वयम्सेवक परिचालन गर्नुपर्ने, परम्परागत नाचहरूको बोलबारे पुस्तक प्रकाशन गर्नुपर्नेलगायतका रचनात्मक सुझावहरू प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here