भक्तपुर, श्रावण १५ ।
भक्तपुर नगरपालिकाको आयोजनामा मङ्गलबार भाजुपोखरी परिसर सरसफाइ कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७४ सालदेखी थालनी गरिएको सफाइ कार्यक्रम कोभिडको समयमा रोकिएपछि पुनः पाक्षिक सरसफाइ कार्यक्रम सुरुवात गरेको बताउनुभयो । हरेक देशमा सम्पदा क्षेत्रमा समाज अनुकुल सरसफाइ कार्यक्रम हुने गरेको बताउनुहुदै प्रमुख प्रजापतिले नगरपालिकाले सफाइ अभियान प्रचार भन्दा पनि काममा बढी केन्द्रित गरेको बताउनुभयो । नगरपालिकाले जन सहभागितामा बढी जोड दिदै आइरहेको चर्चा गर्नुहुदै सफाइ अभियानलाई थप व्यवस्थित गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा वातावरण समितिका संयोजक एवं वडा न ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले सरसफाइ एक संस्कार भएको बताउनुहुदै वातावरण स्वच्छ र हराभरा हुँदा पर्यटकहरुको आवागमन बढि हुने बताउनुभयो । नगरपालिकाले स्थानिय जनताको सहभागीतामा पाक्षिक रुपमा सरसफाई अभियानको रुपमा थालनि गरिएको र एक विद्यालय एक सम्पदा र एक सहकारी एक सम्पदा भन्ने नाराका साथ सरसफाइ गतिविधिहरु गरिदै आएको बताउनुभयो । वर्षायाममा पानीजन्य रोग लाग्न सक्ने सम्भावना भएकोले देशमा पानीजन्य रोग बढिरहेकोले पानीलाई फिल्टर गरेर प्रयोग गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै वडा न १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले विद्यालय वरपर क्षेत्रमा वृक्षरोपण गर्न वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्नुहुदै भाजुपोखरी परिसरमा व्यापारीहरुले सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । पोखरी परिसरमा फोहोर फाल्नेलाई नगरपालिकाले कार्वाही समेत गरिने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत वसन्त भट्टराईले सरसफाइ कार्यक्रमले समाजप्रति अपनत्व भावनाको विकास भएको बताउनुहुदै नगरपालिकाको सफाइ कार्यक्रममा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

उक्त कार्यक्रमा भक्तपुर नगरपालिका वडा न २ का वडा सदस्य मन्जु माया लाखाले पनि बोल्नुभएको थियो ।






















