पुष ७, भक्तपुर । जेष्ठ नागरिकको बाैद्धिक विकास तथा दीर्घायुका लागि खेल भन्ने मूल उद्देश्यका साथ प्रथम जेष्ठ नागरिक कसिमला पाँय् प्रतियोगिता भक्तपुरको वाकुपति चांगु नारायण परिसर सहयोग समितिको आयोजनामा शनिबार सम्पन्न भएको छ ।
प्रतियोगिताको समापन समारोहमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नयाँ पुस्तालाई स्थानीय पाठ्यक्रममा भएको स्थानीय खेलका साथै नेवारी भोज, विभिन्न जात्रा पर्व तथा अमुर्त संस्कार संस्कृतिहरूको माैलिकता र विशेषता बचाउनु पर्ने बताउँदै उच्च शिक्षा हासिल गरेकाहरुमा व्यवहारिक ज्ञानको आवश्यकता रहेको बताउनुभयो ।
भक्तपुरमा भएको शिक्षा, स्वास्थ्य उपचार, सरसफाइ तथा मठमन्दिर, पाटीपाैवा र ढुङ्गेधाराहरुको मर्मतका कामहरूको अवलोकनको लागि देशविदेेशबाट पर्यटकहरू आइरहेको जानकारी दिँदै भक्तपुरका जनताको एकता र एकमनको कारण जस्तोसुकै कठिनाईमा पनि जनताले सहजै सेवासुविधा पाउन सकेकोमा प्रमुुख प्रजापतिले खुसी व्यक्त गर्नुभयो ।
उहाँले संविधानमा उल्लेख भएको समाजवाद उन्मुखको व्यवहारको रुपमा भक्तपुर नगरपालिकाले मात्रै जन्मदेखि मृत्युु सम्मका संस्कारलाई सहजता दिन शिशुस्याहार देखि आदर निकेतन संचालन गरिरहेको बताउँदै घर निर्माणमा नापी नक्सा विपरीतको संरचनाले भक्तपुरको सांस्कृतिक नगरको अभिभारालाई गिज्याईरहेको बताउनुभयो ।
भक्तपुर नगरका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले स्थानीय पाठ्यक्रम समावेश भएको कसिमला पाँय् लाई जेष्ठ नागरिकले जीवन्त बनाइ राखेको बताउँदै त्यसले नयाँ पुस्तामा पुस्तान्तरण हुने बताउनुभयो ।
पहिलो चरणमा विजयी खेलाडी मात्र अर्को चरणमा प्रवेश गर्न पाइने उक्त प्रतियोगितामा भक्तपुर नगरकाे विभिन्न वडाका ६० वर्ष माथिका ३२ जना जेष्ठ खेलाडीको उपस्थिति रहेकोे थियो ।
प्रतियोगितामा प्रथम बुद्धिबहादुर मानन्धर, द्वितीय जितबहादुर खयरगोली, तृतीय भीमबहादुर प्रजापति र सान्त्वना लक्ष्मीप्रसाद प्रजापति लाई नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मानित गरेको थियोे ।
सहभागी सबैलाई प्रमाणपत्र सहित सम्मान गरिएको उक्त प्रतियोगितामा सबैभन्दा जेष्ठ खेलाडीको रूपमा ८९ वर्षीय न्हुछे प्रजापति रहेको थियोे ।
सोही स्थानमा ४ वर्षअघि विद्यालयका शिक्षकहरूलाई कसिमला पाँय को प्रशिक्षण दिएको थियोे ।


















