भक्तपुर, भाद्र २७ । भक्तपुरको ब्यासीस्थित बासु माध्यमिक विद्यालयमा यस वर्षदेखि निःशुल्क रुपमा प्रि-डिप्लोमा तह सूचना प्रविधि औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन हुने भएको छ । बुधबार विद्यालयमा आयोजित सो कार्यक्रमबारे स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, शिक्षाप्रेमी, समाजसेवीहरुको छलफल कार्यक्रममा विद्यालयले निःशुल्क अध्यापन हुने सो विषयमा जानकारी दिएको हो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि एवं भनपा वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले विद्यालयले सञ्चालन गर्न लागेको औद्योगिक प्रशिक्षार्थी कार्यक्रम उत्पादन श्रमसंग जोडिएको शिक्षा भएकोले बढी प्रभावकारी रहने बताउनुभयो । उहाँले उत्पादन श्रमसंग गाँसिने शिक्षाले प्रशिक्षार्थीहरुमा श्रमप्रति माया बढ्ने र हातमा सीप भएको व्यक्ति बेरोजगार भएर बस्न नपर्ने बताउनुभयो । औद्योगिक प्रशिक्षार्थी तालिममा सहभागी हुने विद्यार्थीहरुले अध्ययनकै क्रममा उद्योगमा कामसंगसंगै आम्दानी पनि गर्नसक्ने हुँदा विशेषगरी काम खोजीरहेका न्यून आर्थिक अवस्थाका विद्यार्थीहरुलाई कार्यक्रमले सहयोग पुग्ने विचार अध्यक्ष बासुकलाको थियो । उहाँले भक्तपुर नगरपालिकाले चाँडै नै युवा उद्यमीहरुलाई ऋणको व्यवस्था गर्ने तयारी गरिरहेको पनि जानकारी गराउनुभयो ।

कार्यक्रमका अतिथि एवं शिक्षासेवी गणेश प्रसाद सुवालले बासु माविमा नयाँ कार्यक्रम सञ्चालन हुन लागेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले निःशुल्क रुपमा अध्ययन गर्न सकिने सो कार्यक्रमलाई व्यापक कामदार जनताहरुमा पुर्याउन सम्पूणर्ले महत्वपूणर् भूमिका खेल्नुपर्ने बताउनुभयो ।

ख्वप ईन्जिनियरिङ कलेजमा सूचना तथा सञ्चार विषय अध्यापनरत विद्यालयका पूर्व विद्यार्थी ई. नरेश खत्रीले अहिलेको समय सूचना प्रविधि र कृत्रिम बौद्धिकताको चरणमा प्रवेश गरिसकेको हुँदा सबैजनाले सूचना प्रविधिबारे ज्ञान लिइ राख्नुपर्ने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक अम्बिका न्याइच्याईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक रविलाल प्रधानले सम्पूणर् सहभागीमा स्वागत गर्नुभएको थियो ।

साथै प्रि-डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी कार्यक्रमका विषयमा डिप्लोमा इन कम्प्युटर ईन्जिनियरिङ कार्यक्रमका संयोजक रमेश प्रजापतिले प्रस्तुति गर्नुभएको थियो ।
निःशुल्क रुपमा सञ्चालन हुने औद्योगिक प्रशिक्षार्थी तालिममा एसएलसी उतीणर् वा एसइइ परिक्षामा न्यूनतम ई ग्रेड प्राप्त विद्यार्थीहरुले आवेदन दिन सक्नेछन् । साथै आबद्ध हुने प्रशिक्षार्थीहरुले सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका प्रतिष्ठित उद्योग/कम्पनीहरुमा २० महिना न्यूनतम तलबसहित काम गर्ने अवसर पाउनेछन् । कार्यक्रममा भर्ना हुन यहि असोज २ गते मंगलबारसम्म आवेदन दिन सकिनेछ भने असोज ६ गते शनिबार लिखित परीक्षा तथा अन्तर्वार्ता हुने विद्यालय स्रोतले जनाएको छ ।


















