Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home अन्य पुनर्जीवनको पर्खाइमा रहेको दाप्चा बजारको यात्रा

पुनर्जीवनको पर्खाइमा रहेको दाप्चा बजारको यात्रा

 (यात्रा संस्मरण)

विगत ५/६ वर्षदेखि भक्तपुरमा साथीहरु बीच हरेक वर्ष होली मनाउँदै आएका छौं । सोही क्रममा फरक ढंगले यस वर्षको गत फागुनको २९ गते होलीको दिन भक्तपुर जिल्ला भन्दा पर मनाउने अवसर दाप्चा तथा नमोबुद्ध क्षेत्रमा मिल्यो । यसको लागि कार्यक्रम आयोजना गर्नुहुने सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।काठमाडौं उपत्यका नजिकैको एक मात्र पुरानै अवस्थामा बचेको नेवार बस्ती दाप्चा तथा नमोबुद्ध क्षेत्रको यात्रा अवलोकन पनि गरियो । 

काभ्रेको नमोबुद्ध स्तूपदेखि पूर्वतर्फको पहाडी धारमा अवस्थित दाप्चा बजार, परम्परागत नेवार बस्तीको मौलिकता स्थानीय बुढापाकाहरुले जीवन्त राख्दै आएका छन् । तर, नयाँ पुस्ता बसाइँ सर्ने क्रम बढेसँगै यो ठाउँ सुनसान र उराठलाग्दो बन्दा यात्रा अवलोकन खल्लो महसुस हुन गएको छ । 

आफ्नो पुरानो स्वरूप बचाएर राखेको, राजधानी उपत्यका नजिकैको एक मात्र नेवार बस्ती यही एउटा बाँकी छ । खोकना, बुंगमती, साँखु, बनेपा लगायत नेवार बस्तीमा जनसंख्याको तीव्र वृद्धि, आधुनिक विकास र २०७२ सालको भूकम्पका कारण परम्परागत एकीकृत स्वरूप गुमाए पनि दाप्चाको मौलिक स्वरूप यथावत् छ । भूकम्पले काभ्रेका अन्य गाउँहरू ध्वस्त भएपनि विशेष भूगर्भका कारण छत्रेबाँझ दाप्चा, तल्लो हटिया, माथिल्लो हटिया र केही नेवार टोलहरू जोगिएको देखिन्छन् । 

२०७२ को संविधानले संघीयता कार्यान्वयन तथा राज्य पुनर्संरचनाबाट गाउँगाउँमा सिहंदरबार पुर्याउन पहल गरे तापनि व्यवहारिक रुपमा केन्द्रिकृत शासन व्यवस्था ल्याउँदा त्यहाँका बासिन्दा पनि काठमाडौं लगायत विदेशमा पलायन भएका छन् । जसले गर्दा दाप्चा तथा आसपासको क्षेत्रमा स्थानीय जनताको उपस्थिति र संख्या न्यूनले सामान्य चियानास्ताको लागि समेत १ किमीसम्म यात्रा गर्नुपर्ने अवस्था छ ।

बस्तीमा इँटा, काठ र माटोले निर्मित परम्परागत घरहरु मानिसको संख्या पातलिँदा समयसँगै यिनीहरू जीर्ण भएका छन् । परम्परागत घरहरू मूल सडकको दायाँबायाँ लहरै उभिएका देखिन्छन् । समुद्री सतहबाट ६ हजार फिट उचाइमा रहेको दाप्चा बस्तीबाट सफा मौसम शरद् ऋतुमा दाप्चाबाट देखिने जुगल हिमाल र फूलबारी क्षेत्र तथा खुम्बु हिमालको नुम्बुर चुचुरोदेखि अन्नपूर्ण हिमालसम्मका ३५० किलोमिटरको हिमशृंखला देखिन्थ्यो तर उक्त समयमा वायमण्डल प्रदषित हुँदा सोको अवलोकन गर्ने अवसर नै मिलेन । वरिपरिका मध्यपहाड र उपत्यकाहरू रमणीय देखिन्छन् । 

ऐतिहासिक कालदेखि नै स्वनिग (नेपाल खाल्डो)बाट पूर्वतिर जाने मुख्य मार्गमा रहेको बजारको रूपमा दाप्चाको विशेष महत्त्व छ । उपत्यकादेखि पूर्वी नेपाल जाने एवं सिन्धुली हुँदै दक्षिणपूर्वको मिथिला क्षेत्र जाने तीर्थयात्री, व्यापारी, आक्रमणकारी र रक्षकहरूले प्रयोग गर्ने बाटोको दाप्चा रहेको यात्राबाट थम्याउन सकिन्छ । 

ऐतिहासिक महत्व बोकेको दाप्चा क्षेत्र राजनीतिक स्वार्थको कारण राज्य पुनर्संरचनाबाट शासक दलहरुले आआफ्नो निर्वाचन क्षेत्रमा विकासका पर्वाधार तथा बजेट पुर्याउने नाउँमा गलत प्रयोग गरिँदा आज दाप्चा बजार दुर्गम र पिछडिएको जस्तो देखिन्छ । 

दाप्चा क्षेत्रमा भीमसेन मन्दिर र मञ्जुश्री पार्कले त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लागि रमणीय बनाएको छ । वरिपरिका गाउँमा तामाङ, दलित, बाहुन र क्षत्रीको बसोबास रहेको देखिन्छ । त्यस्तै, दक्षिणको क्षितिज ढाक्ने गरी महाभारत पर्वत उभिएको छ । पश्चिमतर्फ पहाडको खोंचमा नमोबुद्ध स्तूप छ । जातक कथा अनुसार यो ठाउँ शाक्युमुनि बुद्धसँग सम्बन्धित रहेको छ । पूर्वपट्टिको तिमाल डाँडाको तामाङ समुदायको उत्पत्तिसँग साइनो छ ।

दाप्चाको उच्च धार सालाखाला समथर भएकाले माउन्टेन बाइकिङका लागि उपयुक्त छ । यस बस्तीलाई पर्यटकीय थलोका रूपमा प्रवद्र्धन गर्ने सम्भावना छ, यस्तो पहल यहाँका इँटाका परम्परागत घरहरू अन्यत्र जस्तै कंक्रिटका संरचनाले विस्थापित हुनुअघि नै गरिनुपर्छ । दाप्चाको मौलिक नेवार बस्तीको प्राण फर्काउन रैथाने र बाह्य क्षेत्रको सहकार्य गर्नपर्ने देखिन्छ ।

काठमाडौं तीनकुनेबाट धुलिखेल हुँदै दुई घण्टाभित्रै सजिलै दाप्चा तथा नमोबुद्ध पुग्न सकिने अवस्था छ । अहिले भकुन्डेबेसीमा बीपी राजमार्ग छुने र अर्कातिर नमोबुद्ध स्तूप हुँदै पनौती र धुलिखेल जाने सडक पनि बनिसकेका छन् । दाप्चा बजारको मुख्य भागमा पैदलमार्गको लागि उत्तर–दक्षिणतर्फ दुई वटा सडक बनाएका छन्, जसले पर्यटन उद्योगको विकासलाई सघाउने देखिन्छ । 

देशभरका अन्य पहाडी बस्तीहरूले आफ्नो परम्परागत निर्माणशैली गुमाउँदै गर्दा दाप्चाले गज्जबको पर्यटकीय गन्तव्यको सम्भावना बोकेको छ । अहिले घरधनी, लगानीकर्ता, संरक्षणका ज्ञाता र बजारविज्ञहरूबीच सहकार्यको पर्खाइमा रहेको दाप्चा बजार । संरक्षणले समृद्धि ल्याउन सक्छ भन्ने मान्यता प्रमाणित गर्नु छ, शुरूवातमा एक–दुई घरको जीर्णोद्धार र होम स्टेको रुपमा रूपान्तरण आवश्यक छ ।

सत्यराम कासिछ्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments