ओम धौभडेल
प्रत्येक वर्षको वैशाख शुक्ल पूर्णिमाको दिन चण्डेश्वरी देवीको जात्रा हुने दिनको रूपमा प्रख्यात छ । चाँपको रुखको फेदबाट उत्पति भएको कारण चण्डेश्वरी देवीलाई नेपाल भाषामा चाँस्व अजिमा वा चासु अजिमा पनि कहलिने सन्दर्भमा वैशाख शुक्ल पूर्णिमालाई चासु पुन्ही पनि भनिने चलन छ । यसमा वैशाख शुक्ल पूर्णिमाको दिन काभ्रेपलाञ्चोकको बनेपा शहरमा चण्डेश्वरीको भब्य जात्रा हुने परम्परा प्रायः को लागि नौलो होइन । विशेषगरी वैशाख शुक्ल पूर्णिमाको अघिल्लो दिनबाट शुरु भई पूर्णिमाको भोलिपल्ट सम्पन्न हुने यो जात्रामा बनेपाकी आराध्यदेवी चण्डेश्वरी देवीको प्रमुख भूमिका हुन्छ । तर बनेपासँगैको भक्तपुरमा पनि चण्डेश्वरी देवीको भब्य जात्रा हुन्छ भन्ने प्राय:लाई थाहा नहुन सक्छ । भक्तपुरको चण्डेश्वरी जात्रा एउटै इलाका विशेषमा मात्र सीमित रहेको अवस्थामा त्यसबारे अध्ययन अनुसन्धान यसको मूल प्रयोजन हो । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा र त्यसको अघिल्लो दिन गरी दुई दिन भक्तपुरमा चण्डेश्वरी देवीको धुमधामसँग जात्रा हुन्छ । भक्तपुर चासुखेलमा चण्डेश्वरी देवीको तीन तले भब्य मन्दिर छ । चण्डेश्वरी मन्दिर रहेकै कारण यो ठाउँको नाम चासु ख्यः हुन पुगेको छ । भक्तपुरको चण्डेश्वरीको जात्रा टिबुक्छें चासुखेल वरपर मनाउने क्रममा पूर्णिमाको अघिल्लो दिन चण्डेश्वरीको मूर्ति द्यःछेंबाट निकाली पूजाआजाका साथ भब्यरूपले सिंगारिएको खटमा आरोहण गरिन्छ ।
जात्राको क्रममा टिप्वा (निगालोको मुठ्ठा) बाल्ने पनि गरिन्छ । यस दिनको जात्रा विशेषगरी मन्दिर अगाडिको उकालो अर्थात चासु ख्यः उकालोसम्म हो । जात्राको क्रममा ठाउँ ठाउँमा सिलाचा छ्वयेके भनी आगो धुनी बाल्ने गर्छ । जात्रा समाप्तिपछि चण्डेश्वरीको मूर्तिलाई मन्दिर परिसरमा राखिन्छ र विभिन्न गुथिबाट गुथिपूजा गर्नुको साथै टोलवासीहरूबीच भोजभतेर गर्ने चलन छ । भक्तपुरको सबैभन्दा ठूलो चाडको रूपमा बिस्का नखाको छोरीबेटीहरूलाई नखात्या बोलाउने चलन भएता पनि यस चासुखेलका बासिन्दाहरू आफ्ना छोरीबेटीहरूलाई यही चण्डेश्वरी जात्राको समयमा नै नखात्या बोलाउने गर्छ । यता वैशाख पूर्णिमाको विहानदेखि चण्डेश्वरी मन्दिरमा मेला लाग्छ । बलिसहित पूजाआजा हुन्छ । त्यस समय छोरीबेटी बुहारीहरूले आफ्नो भाकलअनुसार अत्यन्त मेहनतका साथ बुनेको फरिया चण्डेश्वरी देवीमा चढाउने गर्छन् । यसबाट हाम्रो घरेलु सीपको समेत संरक्षण सम्बर्द्धनमा संस्कृतिलाई माध्यम बनाएको उदाहरण यहाँ देख्न सकिन्छ । साँझपख चण्डेश्वरी देवीलाई खटमा विराजमान गर्नु अगावै रित्तो खटको जात्रा हुन्छ, जसलाई पोखः न्ह्याइगु भनिन्छ । त्यसपछि देवीलाई खटमा विराजमान गराई बाजागाजाका साथ ठूलो लावा लश्करसहितको जात्रा हुन्छ । यो जात्रा चण्डेश्वरी तँ (उकालो) हुँदै टिबुक्छे, साकोठाबाट अगाडि बढ्दै थंथु लायकु समिप लांपा देगः (अहिले दुईटा सिंहहरू मात्र बाँकी छ) सम्म हुन्छ । तलेजु भवानीप्रति भक्तिभावका साथ यसरी चण्डेश्वरी देवीको जात्रा भएको मान्न सकिन्छ । यहाँ सरकारी पूजा सकेपछि चण्डेश्वरी देवी पुनः सोही बाटो फिर्ता भई टिबुक्छे टोलको मध्यभागमा बिसाई प्रधानाङ्ग परिवारको पूजा थाप्ने गर्छ । तत्कालीन समयको त्रिपुर दरबारको सि देवीको पूजा गर्ने परम्पराको रूपमा यसलाई लिन सकिन्छ । तत्पश्चात चण्डेश्वरी देवीको खट सुकुलढोका, गोल्मढी, स्वंगल्वह हुँदै तचपाल टोल नपुग्दै आउने चौबाटोमा रोकिन्छ । पहिला पहिला चण्डेश्वरीको खट स्वंगल्वहँसम्म मात्र हुन्थ्यो । एकताकाका प्रसिद्ध भोट ब्यापारी उलकले जात्राको क्रममा चण्डेश्वरीको खटलाई भीमसेन मन्दिरको कुनासम्म ल्याएमा नाघी तचपालसम्म लैजाने परम्परा बन्यो । त्यसो त बाह बलिसहित पूजा गर्ने ब्यवस्था गरेपछि चनिगलको इलाका वर्षको एक पटक श्री चण्डेश्वरीको जात्रा सम्पूर्ण नगर परिक्रमा गर्ने परम्परा नभएको होइन ।
त्यहाँ उलक परिवारको पूजापश्चात पुनः सोही बाटो फिर्ता हुँदै सुकुलढोका लँवर्ण विहार अगाडिबाट लालाछँतर्फ लाग्दै याछेंको मण्डलपाटीमा पुगी सर्वसाधारणको पूजा थाप्छ । त्यहाँबाट पुनः चण्डेश्वरी इलाकाको विभिन्न ठाउँमा पूजा ग्रहण गर्दै जब चण्डेश्वरी मन्दिरको दक्षिणतर्फको कुथीत्वचामा पुग्छ, खटलाई नबोकी भुइँमा घिसार्दै जात्रा गर्ने परम्परा छ। जुन नेपालको कुनै पनि ठाउँमा भएको देखिँदैन । अगाडिको दुईटा खुट्टा उचाल्दै घिसार्दै जात्रा गर्नेलाई द्यः भन्ने चलन छ । त्यसपछि खटलाई पुनः बोकी गोल्मढी, हुँदै क्वाछे तँ क्वयसम्म जात्रा गरिन्छ र पुनः लुयेगु गलसी पुखु खट फर्काई चण्डेश्वरी मन्दिर परिसरको डबली पुऱ्याएपछि खटबाट मूर्ति निकाली लसकुस पूजा हुन्छ र मूर्तिलाई पेटीमा विराजमान गराई सम्पूर्ण भक्तजनहरूबाट द्यः स्वंग बियेगु गरिन्छ र यही साँझ चण्डेश्वरी देवीको फूल प्रसाद पुयाएपछि मात्र बनेपाको चण्डेश्वरीको जात्रा सुरु हुन्छ ।
यहाँनेर यो जात्राको शुरुवात कसले कहिलेदेखि गरेको हो कुनै विस्तृत अध्ययन भएको पाइँदैन । मन्दिरसँग सम्बन्धित केही ठोस प्रमाणहरूमा ने.सं. याता, ८४८ जेष्ठ कृष्ण त्रयोदशीको दिन तत्कालीन भक्तपुरका राजा रणजीत मल्लको समयमा टिबुक्छे टोलका पञ्च समुदाय मिली मन्दिरमा सुनको छाना छाएको उल्लेख छ ।
त्यस्तै ने.सं. ८६५ मा चण्डेश्वरी देवी समिप पाटी बनाएको अर्को एउटा प्रमाण मौजुद छ । त्यस्तै यसबाट भक्तपुरको चण्डेश्वरी देवीको मन्दिरको स्थापना एवम् जात्रा कतै रणजीत मल्लको समयमा मात्र भएको हो कि भन्ने भाव अवश्य पैदा हुन्छ । तर इतिहासको त्यो कालखण्डको बारे अलिकति मात्र ध्यान दिने हो भने भक्तपुरमा चण्डेश्वरी देवीको मन्दिर भक्तपुर नगर स्थापनासँगै भएको ज्ञात हुन आउँछ । जयदेव द्वितीयपछि विशाल नेपाल मण्डल आगलागीबाट ध्वस्त भएपछि पुनः निर्माण गर्दा लिच्छवी राजा आनन्द देवले भक्तपुरलाई राजधानी बनाइएको वंशावलीमा उल्लेख छ । त्यस्तै वंशावलीमा देवी चण्डेश्वरीको आज्ञा पाई राजा आनन्ददेवले कलिगत वर्ष ४९९७ मा चण्डेश्वरी पीठ नजिक बनेपा, नेपालको प्रयाग तीर्थ नजिक पनौती, नाला भगवती नजिक नाला, नारायण नजिक धुलिखेल, धनेश्वर महादेव नजिक धुलिखेल, धनेश्वर महादेव नजिक श्रीखण्डपुर, चकोर ऋषिको आश्रम नजिक चौकोट, नासिका पीठ नजिक साँगा शहर स्थापना गरेको उल्लेख छ । वास्तवमा यहाँ भक्तपुर स्थापना गर्दा र बनेपालगायत पूर्वको सात गाउँ (नगर) स्थापना गर्दा दुवै ठाउँमा प्रत्यक्ष अप्रत्यक्षमा रुपमा चण्डेश्वरी देवीको उल्लेख भएको छ । जुन अत्यन्त अनुसन्धानयोग्य विषयवस्तु हो । देवमाला वंशावलीले त स्पष्ट रूपमा चण्डेश्वरी देवीको नाम उल्लेख गरेको छ । तर यता भक्तपुर शहर स्थापनाको सन्दर्भमा चण्डेश्वरीको नाम प्रत्यक्ष उल्लेख नगरे पनि ‘चनिगल’ शब्द उपयोग भएको छ । जुन ‘चनिगल’ बारे यहाँ अनुसन्धान हुन आवश्यक छ । भक्तपुरको लिच्छवीकालिन इतिहासमा बान्दिमगल स्थान र शिवग्वल स्थानको ठाउँ ठाउँमा उल्लेख भएको देखिन्छ । वान्दिमगल हालको तचपाल दत्तात्रयनेरको वाने लायकु भक्तपुरको पुरानो राजदरबार र त्यसैले ओगटेको क्षेत्र हो भने शिवग्वल वीर शैवमतलाई आधार बनाएर गोल्मढी क्षेत्रको शिवमन्दिर र त्यसले ओगटेको क्षेत्र हो । त्यसैक्रममा भक्तपुर नगरको दक्षिण पश्चिम भूभागलाई त्यहाँ रहेको चण्डेश्वरी मन्दिर केन्द्र बनाई ओगटेको क्षेत्र चनिगल हो । जसको जिकिर गोपाल राजवंशावलीले ठाउँ ठाउँमा गरेको छ । यसबाट लिच्छवी राजा आनन्ददेवले सम्पूर्ण नेपाल मण्डलको राजधानी भक्तपुर बनाउने क्रममा चनिगलस्थित त्रिपुर दरबार बनाउँदा यहाँ चण्डेश्वरी मन्दिर भैसकेको मात्र नभई उनै चण्डेश्वरी देवीको कारण समस्त इलाका अर्थात इनाचोको स्वंग ल्वहँदेखि दक्षिण पश्चिम सबै भूभाग ‘चनिगल’ बाट प्रख्यात भैसकेको पुष्टि हुन्छ । यसबाट भक्तपुरमा चण्डेश्वरी देवीको प्राचीनता झल्किन आउँछ । अब यहाँ प्रश्न उठ्छ, लिच्छवी राजा आनन्द देवसित चण्डेश्वरी देवीको के सम्बन्ध छ ? उनले भक्तपुरमा राजधानी त्रिपुर बनाउँदा होस वा बनेपालगायत पूर्वका सात बस्ती बसाउँदा चण्डेश्वरी देवीसित सामिप्यता राखेको देखियो । यहाँनेर जयदेव द्वितीयपछि नेपाल मण्डल पुनः निर्माण क्रममा दक्षिणकोलिय ग्राम तथा युपग्रामतर्फ देखिएका गुणकामदेव द्वितीयहरूको मूलघर नुवाकोटतर्फको रहेको देखियो भने भक्तपुर र पूर्वको सातगाउँ बस्ती बसाल्ने आनन्ददेवको मूलघर बनेपा अर्थात भ्वन्तकुलको देखियो । बनेपा मूलघर भएका आनन्ददेवहरूले आफ्नी आराध्यदेवी चण्डेश्वरीप्रति अगाढ स्नेह देखाउने क्रममा त्रिपुर दरवार समिप चण्डेश्वरी देवी मात्र स्थापित गरेनन्, उनै चण्डेश्वरी देवीको नामबाट चनिगल नामक बस्ती नामाकरण हुन पुगे । धार्मिक एवम् सांस्कृतिक दृष्टिकोणले बनेपाको चण्डेश्वरी देवीको कायमै रहेको अवस्थामा प्रशासनिक दृष्टिकोणले भक्तपुरको चण्डेश्वरी देवी अर्थात चनिगलको महत्त्व पनि कायमै रह्यो । यसै दौरान वर्षको एकपटक वैशाख शुक्ल पूर्णिमा र त्यसको भोलिपल्ट चण्डेश्वरीको जात्रा हुने परम्परा बनेपामा चल्दै आएकोमा यता भक्तपुरको त्रिपुरमा चण्डेश्वरी देवी नजिक भ्वन्तराजकुलका शासकहरू रहने भएपछि यहाँ पनि चण्डेश्वरीको जात्राको परम्परा चल्न थाल्यो । यसमा एउटा महत्त्वपूर्ण प्रसंग यद्यपि भक्तपुरको चण्डेश्वरीको जात्रापछि यहाँबाट फूलप्रसाद पठाएपछि मात्र बनेपाको चण्डेश्वरीको जात्रा हुने परम्परालाई महत्त्वका साथ लिन सकिन्छ । यसबाट लिच्छवी राजा आनन्ददेवले भक्तपुर शहर स्थापना गर्दा जसरी श्रीयन्त्राकार नक्साभित्र मध्यभागमा त्रिपुरासुन्दरी देवी समिप साततले त्रिपुर दरबार बनाउन लगाए, त्यसरी नै आफ्नो दरबार नजिक आफ्नो इष्टदेवी चण्डेश्वरी देवीको मन्दिर पनि हालको चासु ख्यः क्षेत्रमा ब र द दे प अबनाउन लगाएको स्पष्ट हुन्छ । वास्तवमा आनन्ददेव भोन्त • राजकुलका भएकै कारण आफ्नो इष्टदेवी चण्डेश्वरी आफ्नो दरबार नजिक बनाउनु स्वाभाविक हो । पछि यिनै चण्डेश्वरी देवी रहेको ठाउँ र त्यसले ओगटेको इलाका चनिगल कहलिन पुग्यो । जुन चनिगलको जिकिर गोपाल राजवंशावली र अन्य अभिलेख लिखतहरूमा प्रशस्त भएको प्रमाण मौजुद छ।